राजनीतिसमाचारस्थानीयस्वास्थ्य

भद्रपुरका अधिकाम्स औषधी पसलमा नियम विपरित क्लिनिक चलाइए पनि कारवाही हुन सकेको छैन

भद्रपुर । मानव स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने औषधी पसलमा समेत अवैध कारोवार भइरहँदा सरकारी पक्ष कारवाही गर्ने कि नगर्ने दोधारमा पर्ने गरेको छ ।

पछिल्लो पटक उर्दी जारी गर्दै भद्रपुर नगरपालिकाले बजार अनुगमनका क्रममा औषधी पसलको अनुगमन गर्दा जति पसलमा अनुगमन भयो ती सवैमा कुनै न कुनै रूपमा अवैध काम भएको पत्ता लागे पनि कारवाही गर्ने नगर्ने निर्णय हुन नसकेको पाइएको छ ।

नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिकी संयोजक तथा उपप्रमुख राधा कार्कीको अगुवाई रहेको बजार अनुगमन टोलीले मेची प्रादेशिक अस्पताल भद्रपुर आसपासका १० वटा औषधि पसल, प्याथोलोजी ल्याब र क्लिनिकहरुको अनुगमन गर्दा नियम अनुसार नचलेको पाइएको थियो ।

अनुगमन गर्दा टोलीले कतिपयको इजाजत–पत्र, व्यवसाय प्रमाण–पत्र, करचुक्ता, फार्मेसी सञ्चालन अनुज्ञा–पत्र दुरुस्त नपाउँदा एक हप्ताभित्र आवश्यक सम्पूर्ण कागजातहरु तयार गर्न नसिहत दिएको जनाइए पनि कारवाहीको किटान नहुँदा अवैध कारोवार गरिरहेका व्यवसायीलाई राहत मिलेको छ ।

भद्रपुरमा रहेका स्थानीय फार्मेसीले औषधि बिक्री गर्ने इजाजत लिएरा अवैध रूपमा क्लिनिक समेत सञ्चालन गरेर उपभोक्ता ठग्ने गरेको पाइएको अनुगमन टोलीको ठहर छ ।

फार्मेसी र क्लिनिकमा अनुगमन गर्दागर्दै अवैध रूपमा सञ्चालनमा रहेका क्लिनिकका सञ्चालकहरू सटर बन्द गरेर भागेको दृष्यले अनुगमन टोलीलाई गिज्याइरहेको आभाष आसपासका बासिन्दामा परेको छ ।