Hightlight topखेलकुदफिचरस्थानीय

मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी

भद्रपुर । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको पहिलो उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ । मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

भद्रपुरका लागि दुवै गोल विदेशी खेलाडीले गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलको ५५ औँ मिनेटमा आयोजकका तर्फबाट विदेशी खेलाडी स्टेफन समीरले गोल गरे । मेसुके ओलोमोउलेको पासलाई डिबक्समा रहेको स्टफनले गोलमा परिणत गरे । दोस्रो गोल ८० औँ मिनेटमा आयोजकका मेसुकेले गरे ।

खेलको सुरुवाती समयदेखि नै आयोजक टीमले, पाहुना टोली जयगाउँलाई दबाबमा राखेको थियो । यद्यपि पहिलो हाफमा आयोजकले गोल गर्न सकेन । आयोजकले पाएका मौकालाई जयगाउँले विफल बनाइदियो । दोस्रो हाफमा आयोजकले जयगाउँको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्न सफल भए ।

पहिलो खेलको प्लेयर अफ द म्याच आयोजकका मेसुके घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।

विजयी भएको आयोजक भद्रपुर ब्लेजर्स अब क्वाटर फाइनलमा मंलबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । संकटा बाई पाएर सिधै क्वाटरफाइनल प्रवेश गरेको छ । सोमबारको खेल विभागीय टोली नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने भद्रपुर–झापा गोल्डकपका आयोजकले जानकारी दिए ।

आजबाट सुरु भएको प्रथम भद्रपुर झापा फागुन १६ गतेसम्म हुनेछ । गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

यो प्रथम भद्रपुर झापा गोल्डकपलाई चौधरी ग्रुपको मुस्ताङ बियरले मुख्य प्रायोजन गरेको छ ।

तस्विर : विगम श्रेष्ठ