मेची रंगशालाको अवस्था सुधारका लागि गोल्डकपको महत्त्वपूर्ण योगदान ः उप प्रम लिङदेन

भद्रपुर । मुस्ताङ भद्रपुर–झापा गोल्डकप आज आइतबारबाट सुरु भएको छ । भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा सुरु भएको गोल्डकपको उद्घाटन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले गरे । उद्घाटन गर्दै लिङ्देनले मेची रंगशालाको अवस्था सुधारका लागि गोल्डकपको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले मेची रंगशालाको विकासमा आफू सधैँ लाग्ने बताए । उद्घाटन समारोहमा आयोजक भद्रपुर–झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले गोल्डकप मेची रंगशालाको पुनर्जीवनका लागि भएको बताए । उनले यो गोल्डकपले भद्रपुरको निरासाजनक व्यापारलाई पनि सुधार गर्ने अपेक्षा गरेको बताए ।

गोल्डकप उद्घाटन समारोहमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले मेची रंगशालाले खेलाडी उत्पादनमा ठूलो काम गरेको बताए । उनले यहाँ चर्चित खेलाडीले खेल खेलिसकेको बताए । कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलगायतले बोलेका थिए ।