बिर्तामोड महोत्सवमा जुम्लेली अग्र्यानिक खाद्यवस्तु आकर्षण

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित महोत्सवमा जुम्लेली अग्र्यानिक खाद्यवस्तु आकर्षणको केन्द्र बन्नपुगेको छ । जुम्लाको सिज्जाबाट महोत्सवमा सहभागी बनेकी गोमा बुढाले सञ्चालन गरेको देउती अग्र्यानिक स्टलमा ग्राहकको भिड लाग्ने गरेको छ ।

पश्चिम नेपालको जुम्लामा उत्पादन भएका खाद्यवस्तुको स्टलमा जौको चामल, मकैको चामल, फापरको चामल, भुटेको र काँचो मकै, मार्सी चामल, कालो जुम्लेली चामल, रातो दाल, कालो दाल, कोदोको पिठो, फापरको पिठो पाइन्छ भने दालमा हाल्ने जुम्लेली जिम्मो पाइने बुढाले बताइन् । उनले भनिन्– ‘पहिलो पटक झापाको बिर्तामोडमा शुरु भएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आएको छु, यहाँ मैले पश्चिम नेपालको अग्र्यानिक खाद्यवस्तुको स्टल राखेको छु ।’ पश्चिम नेपालमा आठ महिनामा मात्रै खाद्यवस्तु पाक्ने गरेकाले पोषणको हिसाबले पनि यी खाद्यवस्तु राम्रो भएको बुढाले दाबी गरिन् ।

यसैबीच महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न सहुलियत योजना समेत ल्याइएको छ । महोत्सवमा एक रुपैयाँमा चिया पिउन पाइन्छ । महोत्सवमा एक किलो थकाली चामल खरिद गरेमा ग्राहकलाई निशुल्क भोजनका साथै आकर्षक पुरस्कारका लागि लक्की–ड्र को समेत व्यवस्था गरेर महोत्सवलाई थप आकर्षक बनाइएको छ ।