समाचारस्थानीय

वैदिक सहकारीको अध्यक्षमा मुरारी न्यौपाने

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाचौं अधिवेशन तथा १५ औं वार्षिक साधारण सभाले मुरारी न्यौपानेको अध्यक्षतामा नौ सदस्यीय नयाँ समिति सर्वसम्मत रूपमा गठन गरेको छ ।

सभाबाट चार वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा डिल्लीराम अधिकारी, सचिव मञ्जु खतिवडा र कोषाध्यक्षमा संगीता खतिवडालाई सर्वसम्मत चयन गरिएको हो । त्यसैगरी सदस्यहरूमा क्रमशः तारा दाहाल, धना वराल, लक्ष्मीप्रसाद कोइराला, सुरेन्द्र न्यौपाने र युवराज लावती निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य नयाँनाथ पाण्डेले जानकारी दिए ।

 

यस्तै समितिको लेखा संयोजकमा अरूण बस्नेत तथा सदस्यहरूमा विदुर ढुंगाना र तारा खनाललाई सर्वसम्मत छनौट गरिएको छ ।
प्रकाश निरौलाको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा उत्कृष्ट सम्मान, वार्षिक प्रगतिविवरण पेश लगायत विविध गतिविधिका गरिएको थियो ।

 

विदुर ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष निरौलाले संस्थाको वार्षिक प्रगति विवरण पेश गर्दै २८९ महिला, ३५५ पुरूष गरी ६४४ शेयर सदस्य तथा ६१ लाख १३ हजार १०० शेयर पूँजी विवरण प्रस्तुत गर्दै नीति कार्यक्रम पेश गरेका थिए ।

उत्कृष्ट बचत कारोवार सम्मानबाट उमादेवी खतिवडा भट्टराई र उत्कृष्ट ऋण कारोवार सम्मानबाट सरलामाया लिम्बूलाई सम्मान गरिएको कार्यक्रममा कोषध्यक्ष मञ्जु खतिवडाले वार्षिक आर्थिक गतिविधि पेश गर्दै तीन करोड ५९ लाख ७५ हजार ५७३ रूपैयाको वार्षिक कारोवार तथा सञ्चालन मुनाफा ६ लाख ७४ हजार ४३४ रूपैयाको वार्षिक प्रगति विवरण पेश गरेकी थिइन् ।

लेखा समिति संयोजक मुरारी न्यौपानेले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कारोवार सहकारी सञ्चालन मापदण्ड अनुकुल रहेको जानकारी गराएका थिए ।

उपाध्यक्ष डिल्लीराम अधिकारीले स्वागत गरेको कार्यक्रममा भद्रपुर नगर सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेल, चन्द्रगढी सेवा समाजका अध्यक्ष नयाँनाथ पाण्डे, जेष्ठ नागरिक संघका अध्यक्ष मुक्तिनाथ दाहाल, हनुमान टोल विकास संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।