राजनीतिलेख

ऐेंसेलु झाँगेकाे ‘दाम खामेकाे खाम हाम गर्ने’ ट्याउटिस् !   

 ‘व्यंग्यनारान पाँडे’
” अनेकका गिजिङमिजिङ-ग्यान्जेम्यान्जे कुराले जन्तालाई लफन्ड्याउने खेला हाे याे लाे’तान्तिक गन्तन्त्रकाे रा’नीतिकल पाेल्टिसकाे मेन ग्याम भन्ने कुराे मलाई बिउटीफुल्ली र हेन्सम्ली  नै था छ क्या पाँडेजी, रइ भा पनि अैले बालिन सा’काे अबाेला सर्खार छ । सुद्धन ग्रुङ जैसा कडा गिर्हे मन्तृ भाकाे ट्याम छ । हामेरले अलि क्यारलेस गरेर गतिबिदि र साभिककाे पेल्टिकल खेल्ने तडिकामै चकचक गरेउँ भने पुर्बाग्रले पनि एस्सीडेनमा पार्णे डरकाे सस्पेटिङ  छ । र, साभिककै जैसाे पाेल्टिस हाँकेर मउका-चानसमा ग्याम्म गाेजी भर्णे र अरू-अन्ने ट्याम्मा च्यास्स-चुस्स  डेल्लीकाे चा-पानी वा ऐंठनपानी नैे भनम् न र तेल्लाई चाइँने सितन-नस्ता चल्ने आरथिक हातलागी गर्ण अैलेकालमा  निक्कै डिफ्फिकल्टिमए भइर’छ ! तेसैले पाट-ट्याममा बरू ‘दाम खामेकाे खाम’-काे च्चाेख्खाे र इजाेतिलाे कमाइ हुने खाल्काे ‘पत्रकार गर्णे’ धन्धा पाे अभलम्भन गरें हउ मैले त । कतिपए हाेइन धेरैपएले तेता लागेर अन्भार फेरिराख्या देखें कि अन्तखेरी एस्ताे डिस्सिसेन पाे गरें ।”- पाँडेकहाँ आउँदा-आउँदै त के, पाँडे बसिरहेकाे बार्दलीमा उक्लिँदा-उक्लिँदै, ऐंसेलु झाँगेले फटटटट यसाे भन्याे ।
उसकाे कुराे सुनेर पाँडे एक अध्याय सिङ्गै हाँस्याे र हाँसाेसँगै भन्याे -“हन ‘पत्रकार गर्न’  त्यति सजिलाे छ र ? कि सिकेका छाै तिमीले पनि त्यस्ताे पत्रकार खेल्न हँ ?”                            

    उसले मन्टाे परक्क बटारेर त्यसका, महिनाै माटाेमा परेकाे फलाम जस्ता, बेसारे दाँत देखाएर फिस्स हाँसाे पाेख्तै भन्याे -“आआआ, पत्रकार गर्णे बिख्नेस त उधुमै इज्जिलाे छ र पाेइसाे पनि, टुक्राटाक्री हातलागी हुने भा पनि, आच्छा कमाइ छ तेस बिख्नेसमा चइँ तडिका जान्दाहुँदी । कइल्यै हात खाली हाेस् त मर्रिजाउँ ल । र, मैले पनि ‘भनेकाे मान्नेहेरूकाे’ एउडा चिटिक्क  परेकाे  स्यान्निकेट बनाइरछु । जाँ-जाँ जे-जेकाे समाराे, बार्सिक अदिबेसन, अबिमुखीकर्ण गाेस्टी, सार्भज्यानिक सुन्बाइ, बज्जेट भासण-भन्तब्बे इत्तेदि हुँदाखेरिन् पत्रकार गर्णे व्याक्ति आबसेक हुने गर्छ । हाे तेस्ता पाेरगाममा  हामेरूमद्दे एउडालाई इन्भायट कतैबड मिला’र अरूलाई बाेलाकाे भओस् कि नभओस् हामेरू जम्मैजाना तेइ एउडाे इन्भायटकाे आँटमा हाताँ कलम-कागत र आ-आफ्ना माेबिल बाेकेर,  झाेला भिरेर, गुठ्खा चबाउँदै र ताहुरमाहुर गर्दै पुग्छम् । र, दाम खामेकाे खाम हातलागी भएसि त्याँ भ’काे मिठाइ-सिङघडा भाेगेर घुर्छम् क्या । रा’नीतिककाे पाेल्टिकल खेल्ने नाथेमा के मज्जा छ र जुन मज्जा पत्रकार गर्णे बिख्नेसमा छ । नेताकाे मान-मनिताे गर्णु पराेस् न तिनका झाेलेहर्लाई घरिघरि खैनी माेलेर ख्वाउने झ्यान्जट बिहाेर्नु पराेस, तेस्स्यामाटाेक्ने ! तपइँले याे मज्जा बुजेकाे भा त तपइँ पनि पक्कै पनि घरमै किन थच्चिरन्थ्याै हाेला र  !”                                                          

     पाँडेले दाेस्राे अध्याय फुल भाेल्यूम हाँसेपछि साेध्याे -“अनि दाम खामेकाे खाम हाम गरेपछि समाचार चाहिँ लेख्नु पर्दैन ? समाचार लेख्ने सीप पनि चाहिँदैन र ? तिमी त लाै कनीकुथी लेखाैला, ती अरू…”

पाँडेलाई ओभरटेक गर्दै त्यसले भन्याे -“अन्त समचारकाे निउच लेख्ने म जाे छइँ छुइन त ? ताे मेराे डिपाटमेन हाेइन्त ?… सबा-समाराेका कर्जीमर्जी-आन्द्राभूँडी  निउच त सम्पादकहर्ले आफ्फै लेखिहाल्छन् नि तेसाे त । तेता हामेरले ट्यान्सिन लिने कामै छैन ! हामेरू त धेरैपए  प्ररी, ससश्र र भन्सारले पाेके बिलेकका माल पक्रेकाे वा कर, माल्पाेत, अन्तसुक्ल, भन्सारहर्ले कति कर उठाए अथैबा सिड्याे साहेपले कति नाग्रिकता बितर्ण गरिस्याे, अदलत अड्डाले कति मुद्दा छिनाे  भन्ने रिकटकाे कञ्चन समचार लेख्छउँ र दइनिकीका डेल्ली पत्रिकाँ उठाउँछाैं र तेताबड क्यातिकाे फैदा गर्छम् । झापामा समचारकाे निउच रच्ने एस्ताे पिउर ट्याउटिस मैले नै दइनिकका दइनिक निक्सिने डेल्ली अक्बारहर्लाई भख्खर त सिक्लाइ गराउन थालिरछु । आम्मई नि,  पत्रकार गर्णे बिख्नेसमा कुन समचारकाे माल कति मुल्लेङ्किन हुन्छ भन्ने म जान्दिन भन्छउ कि क्या हाे ? मेराे स्यान्निकेटमा म नै सब्से धेर पढेकाे ज्यान हुँ । मैले हिसापकाे अर्थम्याटिक र अल्जेभ्रा खुर्लप्पै रटेर ग्याजुअैट पास गरेकाे एतिका वर्खकाे फेन्सिपमा पनि तपइँलाई पिटिस्सै था रैनछ ! ….लु मैले  हिँजाे लेखेर अक्बार वा यफ्फेममा पाेस गर्ण नभ्याइराख्या एउडा ताजा-चाेख्खाे सम्चारकाे निउच सिरेसली भ’र पढ त तपइँ । लु-लु अछेर र सभ्द नछुटाई पढ हइ ! —
उसले यति भनेर एउटा दाेबारेर कुच्चिएकाे कपीकाे साे पाना पल्टाएर पाँडेकाे हातमा थमायाे । त्याे समाचारकाे शीर्षक थियाे-“मादक पदार्थ डग्स बेपारी ग्याम्मै गिफ्तार” र पेटबाेलीमा समाचार चाहिँ यस्ताे थियाे –

“भद्रपुर नर्पाल्का झापा, बिक्राम सम्बत २०००८३ भदाै  १२ गते  जनेउ पूर्णे थिति । लागू अउसत डग्सकाे बेपार गर्णे एउडाे इण्ड्याण केटाे पढ्केले दुईटा चुराेसमा चरेस भरेर खल्तीमा बाेकेकाे र ‘बाउन् सुग्गर’ भरेकाे चुराेस चइँ फस्-फस् तान्दै गरेकाे अबस्तामा एकजाना नामी सकरिए सुरच्छाकर्मी हल्साहेपले ठामका ठाम गिप्तार गरिसेकाे सम्चार पाप्त भ’काे छ । बाेडरमा खटिएका सुरच्छाकर्मी ब्रिच्छिक रासी र खपतरी गाेत्रका बस्नेत, बुबा डम्बरसिङ र आम्मा धनमयाँका माइला छाेरा, उमेर भख्खर बर्स अट्टाइसका नउ किलास पास हल्साहेप सिरि नरेसज्यूले साे-उक्त डग्स ओसरपसारकर्ता इण्ड्याण लबरचाेट्टालाई  गिप्तार गरिसेर केरकार गरेर साे इण्ड्यानसँग ए’छिन् ‘एकान्त’ गरिसेपछि  तारेखमा उसकै घरतिर खुरुक्क धपाइसेकाे छ । सम्चार साेर्तले बताए अन्सार उक्त अबिउक्तकाे नाम, थर, ओतन अैले गेप्पे राखिने उक्त हल्साहेबले  निर्लए गरिसेकामा  ताे ब्लेक्याका दाेस्तहेरू खुस् भ’का पनि जानकारी भ’काे छ । एस घटनाले थानीए जन्तामा ढुक्क छाएकाे पनि सम्चार साेर्तकाे दाभी छ ।”

        –  पढिसकेर तेस्राे अध्याय भुँडी बाउँडिने गरी हाँस्तै पाँडेले के भन्न आँट्तैथ्याे उसैले गाैरवका साथ पक्क पाेकिँदै भन्याे -“लु भन तपइँ नै याे सम्चारकाे निउचमा केइ कुराे छुट्याे त ? अैले हामेरकातिर एस्ताे निउच लेखिने प्रम्प्रा चलिराखेकाे छ । कुनै-कुनै दिनकाे दइनिकीकाे डेल्ली अक्बारमा त जम्मा-टाेट्टल गाेडा बीसेक निउचका खब्बर छापिया ठाममा गाेडा पन्द्रेक चइँ एस्तै-एस्ता निउचले लटरम्मै हुन्छन् र याे प्रम्प्रा इस्टाटिन गर्णे म हुँ भनेर उधुमै खुसी हुने गर्छु म क्या पाँडेजी ।”

उसका बकमफुसे कुरा सुनेर गिजाेलिएकाे दिमागमा के आयाे कुन्नि र पाँडेले भन्याे -” तिमी कति दमदार पत्रकार भन्ने त तिमीले लेखेकाे न्यूजबाटै बुझें नि मैले । पार्टी-पार्टीका झाेले र बिचाैलियागिरी गरिखाने थुप्रै ‘पत्रकार हुँ’ भन्दै दाम खामेकाे खाम हाम गरिखानेहरूकाे भीडमा अब तिमी पनि थपिएछाै । खैर छाेड यी कुरा ! अनि त्याे तिमीले भनेकाे ‘हल्साहेप’ विवाहित हुन्-हाेइ’न्, हुन् भने तिनकी श्रीमतीकाे नाम अनि ससुराली काे हुन् र कहाँका हुन् , छाेराछाेरी कति छन् कि छैइन्, छन् भने कत्रा-कत्रा छन् इत्यादि त तिमीले लेखेकाे न्यूजमा छुटेछन् त ? “

पाँडे थप के भन्न आँट्तैथ्याे, उसले उसकै तिग्रा फ्याट्ट कुट्याे र भन्याे – “उउउस, तपइँ त जिउँदै बूढाे भ’छाै नि हओ पाँडेजी ! अन्तखेरी, तपइँ त एउडै निउजमा रम्माइन नै पाे खाेद्न थालेछाै त र जिउँदै बूढाे भ’काे लच्छिन पाे दिन थालेछाै त ! जमाना काँ पुगिसकाे !…थैट,  एस्ताे पाेचाे मान्छेसित बउधिक कुरा गरेर मेराे बउमुल्ले ट्याम किन लस् गरिरनु हउ ! लु म चइँ हिनें !”…

त्याे काउछाे त उल्टै फन्फनाएर हिँड्याे !!…र, पाँडेले तातेकाे टाउकाे सुम्सुम्याउँदै  मनमनै आफैलाई भन्याे -“हन झापाकाे पत्रकारिता साँच्चै यही ऐंसेलु झाँगेकै ‘ट्याउटिस’-काे राेडे बाटाेमा अन्भरिँदैछ कि कसाे ? छक्कै पाे परियाे त हँ ?”….