राजनीतिसमाचारस्थानीय

नेपाल जेसीजको राष्ट्रिय अधिवेशन भद्रपुरमा हुने

 

भद्रपुर । नेपाल जेसीजको ५३ औं राष्ट्रिय सम्मेलन तथा महाधिवेशन डिसेम्वर २३ देखि २५ सम्म भद्रपुरमा सम्पन्न हुने भएको छ ।

आतिथेय शाखा भद्रपुर जेसीजले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार डिसेम्वर २३ देखि २५ सम्म भद्रपुरमा सम्पन्न हुने महाधिवेशनमा देशभरका दुई हजार (२०००) शाखाबाट तीन हजार दुई सय प्रतिनिधिको सहभागितामा सम्पन्न हुने भएको हो ।

 

करिब २ करोड रूपैया खर्च हुने अनुमान गरिएको कार्यक्रमका लागि आयोजक शाखाले पहिलो पटक ५३ औं राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको लोगो सार्वजनिक गर्दै झापाको पहिचान झल्कने धार्मिक ऐतिहासिक स्थल कचनकवल स्तम्भ, किच्चकबध, अर्जुनधारा धामदेखि चियाका बुट्टासम्म समेटिएको दृष्य देखाइएको थियो ।

भद्रपुर ८ स्थित मेची रङ्गशालामा सम्पन्न हुने महाधिवेशनले भद्रपुरलाई चलायमान बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै महाधिवेशन निर्देशक बसन्त पोखरेलले सवै पक्षको सहयोगको अपेक्षा राखेका थिए ।

महाधिवेशनका प्रचार संयोजक तथा भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगानाले सहजीकरण गरेको कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल प्रमुख अतिथि रहेका थिए । महाधिवेशन निर्देशक बसन्त पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, धुलावारी जेसीजका पूर्व अध्यक्ष योगेश राजवंशी लगायतले मन्तव्य राख्दै नेपाल जेसीजको ५३ औं राष्ट्रिय सम्मेलन तथा महाधिवेशनले भद्रपुर लगायत झापाको पहिचान बढाउन महत्वपूर्ण भूमिका निर्वाह हुने बताएका थिए ।

महाधिवेशन सम्पन्न गर्न १९ सदस्यीय स्टेयरिङ कमिटी गठन गरी विभिन्न उपसमितिमार्फत तयारी अघि बढाएको आतिथेय शाखा भद्रपुर जेसीजले महाधिवेशनस्थलमा सहभागीहरूको प्रयोजनार्थ पार्लर, स्तनपान कक्ष, स्टल, चिया–खाजा, भोजन तथा किट ब्यागको समेत व्यवस्था गर्ने जनाउँदै महाधिवेशन सम्पन्न गर्न करीब २ करोड रुपैयाँ लागत अनुमान गरेको छ ।

सो बजेट व्यवस्थापनका लागि रजिष्ट्रेशन, दर्ता शुल्क, विज्ञापनदाता तथा उद्योगी–व्यवसायी, स्थानीय तह र विभिन्न संघ–संस्थाबाट सहयोग जुटाएर ऐतिहासिक नगरी भद्रपुरको भूगोलमा आयोजना हुने यो महाधिवेशनलाई आकर्षक, सुरुचिपूर्ण र उत्सवमय तवरले सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।