लागूऔष दुव्र्यसन तथा बेचबिखन बिरूद्ध सगरमाथाको खवरदारी
भद्रपुर । भद्रपुर नगरपालिकाभित्रका वडा नंम्बर १ देखि वडानम्वर ४ सम्म तीव्र गतिमा बढ्दो लागूऔष दुव्र्यसन तथा बेचबिखन बिरूद्ध सामाजिक जागरण अन्र्तगत सगरमाथा फाउण्डेसनले सरोकारवालासित सामूहिक छलफल गरेको छ ।
पछिल्लो समय भद्रपुर नगरपालिकाभित्र रहेका वडाहरू मध्ये ४ नम्बर वडा अधिक दुव्र्यसनी तथा लागूऔषध कारोवारी रहेको क्षेत्रमा परेपछि त्यसको असर ३, २ र १ नम्बर वडामा पनि सर्दै जाँदा यस्तो विकराल अवस्था रोक्न समाजले जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय सरोकारवालालाई एक ठाउँमा राखेर सर्वपक्षीय छलफल गरिएको हो ।

समाजका अध्यक्ष विशाल थिङ तामाङको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न छलफलमा सरोकारवालाहरूले सगरमाथा फाउण्डेसनको नेतृत्वमा केही समययता लागूऔषध कारोवार तथा सेवन कार्य बिरूद्ध चलाइरहेको निगरानी र कानुनी कारवाहीको प्रकृयाले केही हदसम्म लागूऔषध कारोवारी भागाभागको अवस्था निर्माण हुँदै गएकोमा आगामी दिनमा अझ बढाउँदै लैजान सुझाव दिएका थिए ।

भद्रपुर २ नम्वर वडा कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा भद्रपुर नगर प्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, भद्रपुर ३ का वडाध्यक्ष हेमबहादुर कार्की, २ का वडाध्यक्ष रामबहादुर कँडेल, प्रहरी चौकी पृथ्वीनगरका प्रमुख नरेशकुमार कटुवाल, शिक्षक नरपति फागो लगायतले धारणा राख्दै साविकको पूथ्वी नगर तथा महेशपुर क्षेत्रमा लागूऔषध कारोवारीले तीव्र गतिमा बढाएको दुव्र्यसनी रोक्न कानुनी उपचारदेखि सामाजिक जागरणसम्मका लागि सवै पक्ष एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका थिए ।
सगरमाथा फाउण्डेसनका सदस्य दिपक बुढाथोकीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको छलफलमा भद्रपुर १ देखि ४ नम्बर वडासम्म तीव्र गतिमा बढ्दो लागूऔष दुव्र्यसन तथा बेचबिखन बिरूद्ध अभियान चलाउन नवीन तोम्बापोको नेतृत्वमा १० सदस्यीय जागरण दस्ता समेत निर्माण गरिएको थियो । सो दस्ताले यी वडामा लागूऔषध विक्री वितरणदेखि सेवनसम्मका अवैध गतिविधि रोक्न प्रहरी प्रशासनलाई सहयोग पुर्याउने विश्वास राखिएको छ ।
