राजनीतिसम्पादकीय

सरकारको शैली सही भएन

सम्पादकीय

सरकारका सय दिने काम हेर्दा जेनजी विद्रोहको आवाज अनुकुल सरकार सही गतिमा हिडिरहेको छैन । २०८२ भदौ २३ को विद्रोहको भावभन्दा २४ को विध्वम्सको संरक्षक बढी हो कि भन्ने भान सुकुम्बासीको चित्कार, देशको सिमाना सम्बन्धिको विवादित धारणा, चोरी तस्करी, कालोवाजारीको बढ्दो दवदवा, गरिव नागरिकको संरक्षणप्रतिको बेवास्ता लगायत नागरिकका आधारभूत आवश्यकतामा थोपपिरएका करलाई निहाल्दा सरकारको शासकीय शैली ठिक ढंगमा चलेकै छैन भन्नै पर्छ ।

एउटा जल्दोबल्दो उदाहरण मात्र निहालौ त—केही हप्तायता संघीय सरकारका गृहमन्त्री सुधन गुरूङ देश दौडाहामा निस्कदा निकै तामझाम र लामालस्कर बोकेर नेपाल भारत सिमावर्ती नाका अवलोकनदेखि केही सहरी क्षेत्रमा आफैंले होटलमा पुगेर छापा मारेकोसम्म खवर बाहिरिन पुगेकोे थियो । अगाडिपछाडी सुरक्षाकर्मी दौडाउदै हिडेका गृहमन्त्रीको भूमिका तथा काम कारबाहीमा विधि प्रकृया र शैलीका कारण निकै प्रश्न उठेका छन् । गृहमन्त्री आफैंले अपरेशन गर्ने भए प्रहरी प्रशासन किन चाहियो ? छापा मार्ने बाहनामा होटलमा बसेकै आधारमा समातिएका मानिसलाई कुन कसुरमा पक्राउ गरिएको थियो ? नेपाल भारत सिमाना नाका अवलोकन गर्ने बाहनामा सिमाना क्षेत्रका स्थानीयका समस्या नसुन्ने कुकुर डोहोर्याएर दौडनु मात्र थियो ? भन्ने प्रश्न उब्जिएको छ । गृहमन्त्रीको त्यस प्रवृतिले सुरक्षा निकायको मनोबल गिर्नेदेखि गृहमन्त्रीको भूमिका तथा जिम्मेवारीमा समेत प्रश्न उठ्ने अवस्था मात्र निर्माण भयो । होटलमा गएर आफैं छापा हान्ने गृहमन्त्रीको त्यो शैली हवल्दारी पाराको भएको नागरिक स्तरको बुझाइ छ । त्यसकारण हवल्दारले गर्ने काम गृहमन्त्रीले गर्न सुहाउँदैन । त्यहाँको प्रहरीले गल्ती गरेको छ भनेर आफैं फिल्डमा गएर छापा मार्ने काम गृहमन्त्रीको होइन । फिल्डमा गएर पुलिसिङ गर्ने काम प्रहरीको थियो ।

गृहमन्त्रीको काम प्रहरी ऐन निर्माणको विषय, अन्य नीतिगत विषयहरू, प्रहरी स्रोतसाधनका विषयहरू, जेनजी आन्दोलनमा जलेका प्रहरीका भवन निर्माणको विषयहरू, जनशक्तिका कुराहरूमा ध्यान दिएर गृहमन्त्रीले रफतारमा काम गर्नुपर्नेमा आफ्नो जिम्मेवारी बिर्सेर अर्कैतिर अलमलिएको प्रष्ट छ । प्रहरीमा पनि हेर्ने हो भने जिल्लाको नेतृत्व गर्ने प्रहरी उपरिक्षकसम्मका पदमा बाहाल अधिकारीसम्म मात्र स्थलगत अधिकृत हुन् । त्यो भन्दा माथिल्लो दर्जाका प्रहरी स्थलगत रूपमा नगई नीतिगत तहमा कार्यसम्पादन गर्ने जिम्मेवारीमा रहन्छन् । प्रहरी प्रशासनको नेतृत्व गर्ने विभागीय मन्त्री नै स्थलगत कारवाहीमा जानु नीति संगत समेत देखिदैन । सरकारको वर्तमान स्वरूप र गति कस्तो छ ? गृहमन्त्रीका यी प्रतिनिधि मुलक गल्तिबाट पनि प्रष्ट हुँदै छ । जेनजी आन्दोलनपछि परिवर्तनको लहरले दिएको जिम्मेवारी यो सरकारले पूरा गर्न निकै कठिन छ कि भन्ने प्रश्न तेर्सिएको छ ।

अहिले सरकारमा पुगेकाहरूका कतिपय गतिविधि हेर्दा मानिसले मौका पाउँदा या सनक चढ्दा केसम्म गर्न सक्छ भन्ने कुराको अनुमान सामान्य सोच्न सकिँदैन । लोकतन्त्रले सबै नागरिकलाई बराबरी अवसर उपलब्ध गराउँछ । निरन्तर परिवर्तनको मानवीय स्वभावलाई सम्बोधन गर्ने क्षमता पनि यसै राज्य प्रणालीमा रहन्छ । इतिहास हेर्दा राणाहरूको शासन शैली जस्तो प्रकारको देखिन्थ्यो अहिले विपक्षीहरूप्रति नयाँ शासकहरूको ब्यवहारमा कुनै अन्तर देखिएन । निर्दलीय पञ्चायतले पनि शर्तरहित प्रजातन्त्रको अभ्यास गरेको थिएन । राजाको सक्रिय नेतृत्व र निर्दलीयताप्रति असहमति जनाउनेहरूले त्यस्तै अवस्थाको सामना गर्नु परेको विगतले देखाउँछ । जननिर्वाचित सरकारलाई माहुरीको गुडमा झैँ सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतमा आगो झोस्दै भगाएर आउनेहरूको सरकार यतिबेला हिजोका राणा तथा पञ्चे राजतन्त्रवादीहरूकै शैलीमा छ ।

सरकार सञ्चालनको उच्च जिम्मेवारी पाउन सफल भएकाहरूले संविधान, नियम र कानूनभन्दा माथि भएको ब्यवहार देखाइरहेछन् । गरीब र सुकुम्बासीहरूलाई यसरी लखेटिएको छ कि तिनलाई नेपाल आफ्नो देश नभएको अनुभूति गराउने प्रयास भइरहेको छ । कर्मचारी प्रशासनलाई कार्यमुखी बनाउन आवश्यक थियो भन्दैमा प्रशासनभित्र भाँडभैलो मच्चाएर संविधान, कानून, प्रणाली, व्यवस्था र सस्थागत प्रक्रियाभन्दा ब्यक्तिमाथि भरोसा राख्ने वातावरण बनाउन खोजिदै छ । हिजोका सवै खराब आजका हामी असल भन्नेहरूको शासकीय शैली गएगुज्रेको शैलीमा रूपान्तरित हुँदै गएको हो कि ? अनगिन्ति प्रश्न छन् । हाम्रो चेतमा परिवर्तन नआएसम्म यो मुलुकमा कुनै पनि शासकले जनमैत्री काम गर्न सक्दैनन् भन्ने चेतना यस सरकारले दिएको छ । सरकारको सय दिनका सय कामले हामीलाई छोडेको छाप पनि त्यही हो । यसकारण सरकार गल्तितिर सत्ताको बाटो नबढाऊ । हिजोका सत्ताधारी खराव भनेर धारेहात लगाएकै कारण आज सत्तारोहणको अवसर मिलेको हो । यस्ता गल्ति नसच्याउने हो भने भोलि आफैंतिर धारेहात र गालिको वर्षा बढ्दै जाँदा आज साना भएका पुराना अनुहार भोलि निकै शक्तिशाली भएर नआउलान् भन्न सकिदैन ।