शिक्षासमाचारस्थानीय

भद्रपुरका सामुदायिक विद्यालयलाई डिजिटल प्रविधियुक्त शैक्षिक सामग्री हस्तान्तरण

भद्रपुर । भद्रपुर नगरपालिकाले शैक्षिक सुधार कार्यक्रम अन्र्तगत नगरभित्रका १८ वटा सामुदायिक विद्यालयलाई डिजिटल प्रविधियुक्त शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

शिक्षा शाखाको वार्षिक कार्योजना अन्र्तगत सामाजिक विकास समितिले आवश्यकताका आधारमा विद्यालयको माग अनुसार ल्यापटप, प्रिन्टिर, स्मार्ट बोर्ड, स्मार्ट टिभी लगायत डिजिटल प्रविधि युक्त शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

 

सामाजिक विकास समितिकी संयोजक सीता गुरागाईको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सामग्री हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै प्रमुख पोखरेलले समयानुकुल उन्नत शिक्षाको वातावरण निर्माण गर्न सामाजिक विकास कार्यक्रम अन्र्तगत डिजिटल प्रविधियुक्त शैक्षिक सामग्री विद्यालयहरूलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख राधा कार्कीले सरकारी विद्यालयलाई निजी विद्यालयभन्दा अब्बल बनाउन प्रविधिमैत्री शैक्षिक सामग्री हस्तान्तरणको अवधारणा लिइएको उल्लेख गरिन् ।

 

शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि शाखा प्रमुख पवित्रा ढकालले प्रकाश पार्दै सामुदायिक विद्यालय समयानुकुल अब्बल बनाउन प्रविधिमैत्री शैक्षिक सामग्री जरूरी भएकाले नगर भित्रका सामुदायिक विद्यालयका आवश्यकता पहिचान गरी शैक्षिक सामग्री वितरण गरिएको प्रष्ट पारेकी थिइन् ।