शिक्षासमाचारस्थानीय

हल्दीबारी गाउँपालिकाका ५३ शिक्षक–कर्मचारीको करार नथपिने, साउन १ देखि सेवा समाप्त

हल्दीबारी । हल्दीबारी गाउँपालिकाले निजी स्रोतबाट तलब–भत्ता व्यवस्थापन गर्दै आएका ५३ जना शिक्षक तथा कर्मचारीको करार अवधि नथपाउने निर्णय गरेको छ। गाउँपालिकाको एक्काइसौँ गाउँसभाबाट उक्त निर्णय पारित भएसँगै उनीहरूको सेवा आगामी साउन १ गतेदेखि समाप्त हुने भएको हो।

गाउँपालिकाका अनुसार विगत करिब ८–९ वर्षदेखि निजी स्रोतबाट तलब सुविधा प्रदान गर्दै विभिन्न विद्यालय तथा कार्यालयमा कार्यरत शिक्षक–कर्मचारीहरूलाई संघीय सरकारको निर्देशनअनुसार विदा गर्नुपर्ने अवस्था आएको हो। संघीय सरकारले स्थानीय तहलाई निजी स्रोतमा कर्मचारी नराख्न निर्देशन दिएपछि गाउँसभाले करार अवधि नथपाउने निर्णय गरेको जनाएको छ।

करार अवधि समाप्त हुनेहरूमा बाल शिक्षक, अंग्रेजी शिक्षक, कम्प्युटर शिक्षक, कार्यालय सहयोगी, सफाइ कर्मचारी, सुरक्षा गार्डलगायत विभिन्न पदमा कार्यरत जनशक्ति रहेका छन्। उनीहरूले लामो समयदेखि गाउँपालिकाको शिक्षा तथा प्रशासनिक क्षेत्रमा योगदान दिँदै आएका थिए।

हल्दीबारी गाउँपालिकाले पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार गरेको दाबी गर्दै आएको छ। विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, अंग्रेजी माध्यमको पठनपाठन विस्तार तथा प्रविधिमैत्री शिक्षामा गरिएको लगानीका कारण पालिकाले शिक्षा क्षेत्रमा सकारात्मक पहिचान बनाएको मानिन्छ।

तर, एकैपटक ५३ जना शिक्षक–कर्मचारीको करार नथपिने निर्णयले शिक्षा क्षेत्रमा प्रत्यक्ष असर पर्ने चिन्ता स्थानीयवासी तथा अभिभावकहरूले व्यक्त गरेका छन्। विशेष गरी बाल विकास, अंग्रेजी शिक्षा, कम्प्युटर शिक्षा तथा विद्यालय व्यवस्थापनमा जनशक्ति अभाव हुन सक्ने उनीहरूको भनाइ छ।

स्थानीयहरूका अनुसार विद्यालयमा कार्यरत अनुभवी जनशक्ति बाहिरिँदा शिक्षण सिकाइ प्रक्रिया प्रभावित हुन सक्छ। उनीहरूले संघीय सरकार र स्थानीय तहबीच समन्वय गरी वैकल्पिक व्यवस्था खोज्न आग्रह गरेका छन्।

यता गाउँपालिकाले भने संघीय सरकारको नीति तथा निर्देशन कार्यान्वयन गर्न बाध्य भएको बताउँदै शिक्षा क्षेत्रमा असर नपर्ने गरी आवश्यक व्यवस्थापनका लागि पहल गरिने जनाएको छ।

गाउँसभाको उक्त निर्णयसँगै लामो समयदेखि गाउँपालिकामा कार्यरत ५३ जना शिक्षक तथा कर्मचारीको भविष्य अन्योलमा परेको छ भने आगामी शैक्षिक सत्रमा यसको प्रभाव कस्तो पर्ने भन्ने विषयलाई स्थानीय समुदायले चासोका साथ हेरिरहेका छन्।