सम्पादकीयस्थानीय

नमेटिने कथा बन्दै मानव—हात्ती द्वन्द्व

सम्पादकीय

नेपालको पूर्वी सिमान्त जिल्ला झापामा भारतीय क्षेत्रबाट प्रवेश गर्ने आगन्तुक हात्तीका कारण मानव—हात्ती द्वन्द्वको श्रृंखला निकै लामो समयदेखि निरन्तर छ । धान र मकै बाली भित्र्याउने समयमा भारतीय क्षेत्रबाट नेपाल पस्ने हात्तीको हुलले हरेक वर्ष कृषकको धन कृषि उपज तथा ज्यानको समेत क्षति पुर्याइरहेको छ । तराइको घना जंगल चारकोशे झाडीको महत्वपूर्ण क्षेत्रफलको प्रवेश विन्दु रहेको झापा भारतीय जंगलबाट नेपाल आउने हात्तीको मार्गस्थल पनि हो । यसैकारण झापामा जंगल साँघुरिदै गएर बस्ती विस्तार भएसंगै हात्ती—मानव द्वन्द्वको शुत्रपात हुन पुग्यो । यस द्वन्द्वको दीर्घकालीन समाधानका लागि पटक–पटक स्थानीयले सरोवारवालाको ध्यानाकर्षण गरे तर पनि समाधानको दीर्घकालिन उपाय निस्कन सकेन । व्यवसायिक कृषिका लागि उर्वर भूमि रहेको झापामा हात्तीको कारण प्रत्यक्ष असर कृषि क्षेत्रमा दिन प्रतिदिन बढ्दो छ ।

अन्नबालाी पाक्ने समयमा किशानलाई आफ्नो उपज जोगाउन निकै कठिन परिरहेको छ । सरोकारवाला निकायका रूपमा रहेको सरकारले प्रभावकारी काम नगरेको आरोप हात्तीबाट पीडित किसानहरूको छ । हात्तीले घर भत्काएको, बालीमा क्षति गरेको क्षतिपूर्ति पाउन पनि महिनौँ कुर्नुपर्ने बाध्यता रहेको किसानहरूको दुखेसो छ । ‘सरकारले न समयमा क्षतिपूर्ति दिन सक्छ न त हात्ती आतंक नै रोक्न सक्छ । वर्षौंदेखि मानव—हात्ती द्वन्द्व सहेर बसेका किशानको समस्या सरकारले बुझ्नु पर्दैन भन्ने प्रश्न उठिरहेको भए पनि चित्त बुझ्ने जवाफ आउन सकेको छैन ।

दुई दशक अगाडिसम्म उत्तरी झापाको समस्या रहेको हात्ती उपद्रो रोक्नकै लागि सरकारले उत्तर पूर्वी झापामा करिब डेढ करोड खर्चिएर निर्माण गरेको इलामको पाटापुरदेखि मेचीनगरको नकलबन्दासम्मको १७ किलोमिटर लामो विद्युतीय तारबार बनाएको थियो । अहिले यो तारबार निष्प्रभावी बन्दै गएको छ । विद्युतीय तारदेखि पनि हात्ती डराउन छाडिसकेको अवस्था छ । तारबाट हात्ती प्रभावित झापाका अधिकाम्स वन क्षेत्रमा लगाइए पनि रोकथामका लागि सोचे अनुसार प्रभावकारी बन्न सकेको अवस्था छैन । यसकारण पनि अब हात्ती छेक्ने तारबार बाहेको अर्को उपायको खोजी जरुरी देखिन थालेको छ ।

स्थानीय अग्रजहरूका अनुसार वि सं २०३० सालतिर भारतीय सिमावर्ती जंगलबाट झापातिर हात्तीका हुल आउनथालेको इतिहास छ । तर, त्यस समयमा अहिलेको जस्तो आतंक वा बिनासको अवस्था नरहेको त्यो समयका अग्रजहरूको भनाइ छ । जब २०३४ साउन ९ मा तत्कालिन बाहुनडाँगी गाउँ पञ्चायत–९ की यशोदा विश्वकर्मा हात्तीबाट मारिइन् । त्यसपछि यहाँ मानव–हात्ती द्वन्द्व सुरु भएको स्थानीय जानकार बताउँछन् । अहिले जति पनि हात्ती प्रभावित क्षेत्र छ, त्यो बेला घना जंगल रहेको ठाउँ भएको समेत अग्रजहरूका भनाइले पुष्टि गर्छ । अहिले अधिकाम्स हात्ती प्रभावित क्षेत्र तीव्र बस्ती विकास हुँदै गएका क्षेत्रमा पर्दछन् । विज्ञहरूका अनुसार हात्ती करिडोरमा बस्ती बस्न सुरु भएपछि नै द्वन्द्व सुरु भएको हो । पञ्चायतकालका वन विभागका बडाहाकिम गञ्जबहादुर कार्कीका छोरा रविन कार्कीले लेखेको ‘बाहुनडाँगी सेरोफेरो’ किताबमा ०३० सालपछि मात्रै बाहुनडाँगीमा मानव—हात्ती द्वन्द्वको सुरु भएको उल्लेख छ । यो द्वन्द्वको क्रम उत्तर पूर्वी झापाबाट दक्षिण पश्चिम हुँदै समग्र झापामा फैलिसकेको छ ।

मृत्यु हुने मानिसमा अधिकांश किशान मजदुर रहेकै कारण आफ्नै घर–खेतमा हात्तीे आक्रमणमा परेर ज्यान गुमाएको पाइएको छ । यस्तो विकराल बन्दै गइरहेको मानव—हात्ती द्वन्द्व नियन्त्रण गर्न सरकार किन मौन छ ? यस प्रश्नले उत्तर खोजिरहेको छ । ज्यानमारा खेलका रूपमा रहेको मानव—हात्ती द्वन्द्वको अन्त्य हुनै पर्छ । सरोकारवाला निकायले द्वन्द्व रोक्न पहल गर्नै पर्छ । यसको अर्थ हात्ती मारेर वा बन्धक बनाएर समस्याको समाधान खोजिनु होइन । प्राकृतिक सन्तुलनको आधार अनुसार हात्ती—मानव द्वन्द्व घटाउने नीति अबको आवश्यकता हो ।