अपराधशिक्षासमाचार

किसानको साथी लाटोकोसेरो संकटमा पर्दै

सन्दर्भ समचारदाता

भद्रपुर । किसानको साथीका रूपमा चिनिने लाटोकोसेरो प्रजातिको पन्छी संरक्षणमा जनचेतनाको अभावले पछिल्लो समय अवैध व्यापार र चोरीसिकारी बढ्दै जाँदा यसको अस्तित्व सङ्कटमा परेको छ ।

पछिल्ला वर्षहरूमा लाटोकोसेरो प्रजातिको सवैभन्दा ठूलो हाप्सिलो र हुचिल प्रजातिमाथि तीव्र चोरी तस्करी बढेसंगै यसको अस्तित्व संकटमा परेको हो ।

लाटोकोसेरो दिनमा एकैठाउँमा बसिरहने र राती मात्र शिकारमा निस्कने भएकाले यसले आँखा नदेख्ने धेरैको अनुमान छ । लाटोकोसेरोलाई संस्कृत भाषा उलूक, धूक, दिवान्ध इत्यादि भनिन्छ । यिनका आफ्नै प्रकारका अर्थ छन् ।

लाटोकोसेरोको आँखा खप्परमा टाँसिएका र स्थिर हुन्छन् । अनि विशेष तेजिलासमेत पाइन्छन् । यिनीहरूको घाँटी लचिलो हुने भएकोले यताउती हेर्नुपर्दा यिनीहरू घाँटी नै घुमाएर व्यापकतासाथ हेर्ने काम गर्दछन् । दिनमा आँखा नदेखेपनि यस चरोले रातमा चाहिँ जस्तोसुकै अँध्यारोमा पनि आँखा देख्दछ । यसको श्रवण शक्ति पनि दिनमाभन्दा रातमा बढी हुन्छ । त्यसैले यस जातका चराहरू रातमा सिकार गर्न ज्यादै चलाख र सिपालु मानिन्छन् । यिनीहरू आफ्नो आहारा राती राती यताउता डुली जुटाउँछन् । मांसाहारी भएकोले यिनको आहारा चरागुरुङ्गीका सा–साना बचरा, किराफट्याङ्ग्रा, चरामुसा तथा पशुमांससमेत हुने गरेको छ । उडाइमा यी बेगवान् मानिन्छन् । यिनका प्वाँख नरम, मुलायम र मिहिन हुन्छन् । यसैले पखेटा फैलाई तेजिलोसँग भएको यिनको उडान शान्त हुन्छ, ज्यादै बेगिलो भए पनि थाहा नै नपाइने खालको हुन्छ ।

पछिल्ला वर्ष सरकारले लाटोकोसेरोसँगै समग्र चरा तथा वन्यजन्तु संरक्षणको सन्देश पुरÞ्याउन स्थानीय समुदायलाई वातावरणप्रति जिम्मेवार बनाउन र जैविक विविधताको महत्वबारे जानकारी गराउने उद्देश्यले महोत्सव गर्ने गरेको छ । दशकयता लाटकोसेरोको मुख्य बासस्थान भएका धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङलगायत जिल्लामा यो उत्सव भइसकेको छ भने यस पटक दाङमा महोत्सव गरिएको छ ।

उत्सवले लाटोकोसेरोसम्बन्धी स्थानीय नागरिकलाई ज्ञानसँगै संरक्षणमा सहयोग पुरÞ्याउने सरकारी विश्वास छ । ठूला र बूढा रुखको कटानी, परम्परागत घर संरचनाको कमी तथा आधुनिक निर्माण शैलीका कारण यसले सुरक्षित बासस्थान पाउन कठिन भएको बुझाउन पनि महोत्सव गर्ने गरिएको छ ।

दुई दिनसम्म सञ्चालन हुने उत्सवमा विभिन्न आकर्षक कार्यक्रम सञ्चालन गरिने छन् । पहिलो दिन चरा अवलोकन, लाटोकोसेरोसम्बन्धी अस्थायी लघु म्युजियम, रोबोट प्रदर्शनी तथा श्रव्यदृश्य सामग्रीको प्रस्तुति राखिने गरिएको छ । दोस्रो दिन संरक्षण, संस्कृति र लाटोकोसेरोसँग सम्बन्धित सामग्रीको प्रदर्शनी गरिने गरेको आयोजकले जनाएको छ । यसका साथै स्थानीय समुदायका सांस्कृतिक नृत्य, भजन तथा लोपोन्मुख स्थानीय खेल प्रतियोगिता समेत आयोजना गरिने परम्परा बसाइएको छ ।

उत्सवलाई थप आकर्षक बनाउन नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मास्कोटसमेत प्रदर्शन गरिने गरिएको छ । कानुनी रूपमा लाटोकोसेरोको सिकार वा किनबेच गर्न पाइँदैन । यदि कसैले यस्तो गरेमा २५ हजारदेखि ५० हजारसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ । तर पनि चोरी तस्करी भने रोकिएको छैन । नेपालबाट तस्करी गरिएका हुचिल तथा हाप्सिलोहरू भारतीय बाटो प्रयोग गरेर पाकिस्थान, बंगलादेश हुन्दै मध्ये एसियाका मुस्लीम देशहरू साउदी अरव, कुवेत, बहराइन, इरानसम्म पुर्याएर तस्कर समूहले महंगो मूल्यमा बेच्ने गरेको विभिन्न अनुसनधानले देखाएको पाइन्छ ।

नेपालमा तराईदेखि हिमालसम्म लाटोकोसेरो पाइने भए पनि यसको यकिन संख्या सरकारसित उपलब्ध छैन । विश्वभर २३ प्रकारका लाटोकोसेरो पाइने अभिलेख छ भने नेपालमा पनि सवै प्रजातिका लाटकोसेरो पाइने गरेको सरकारी विवरणहरूले पुष्टि गर्छन् ।

सानो आकारको लाटोकोसेरोदेखि विश्वकै ठूलो चराहरूमध्येको पर्ने हाप्सिलो समेत नेपालमा पाइन्छन् । नेपालको तराईदेखि ५,२०० मिटरसम्मको उच्च हिमाली क्षेत्रमा पाइने लाटकोसेरोका प्रजातिलाई मानिसको बस्ती नजिक बस्नेलाई गोठे लाटोकोसेरोे, ठूलो आकारकोलाई हाप्सिलो र हुचिल, मध्यमखाले चित्री उलुक, सामान्य देखिने अन्ध्र, महाकौशिक, भुसी लाटोकोसेरोका प्रकार हुन् ।

लाटोकोसेरोले बालीनालीमा क्षति पु¥याउने मुसाहरू खाएर किसानलाई मद्दत गर्दछन् । यिनीहरूको उपस्थिति वा अनुपस्थितिले वनको अवस्था र जैविक विविधताको स्तर बताउँछ । हिन्दू धर्ममा लाटोकोसेरोलाई लक्ष्मीको वाहन मानिन्छ र धन, बुद्धि तथा प्रगतिको प्रतीक मानिन्छ । अवैध चोरी शिकारी, बासस्थानको विनाश, र बढ्दो कीटनाशक औषधिको प्रयोगले यिनीहरूको संख्या घट्दो छ । हिन्दू तथा मुसलमान धर्मभित्र रहेका कतिपय अन्धविश्वासले गर्दा लाटोकोसेरोको अङ्गहरू (हड्डी, मासु) प्रयोग गरी तन्त्रमन्त्र गर्ने वा भाग्य चम्किने अन्धविश्वासका कारण यसको अवैध व्यापार बढिरहेकोे छ ।

नेपालमा लाटोकोसेरोका हाप्सिलो र हुचिल लगायतका प्रजातिहरूलाई संकटापन्न सूचीमा राखिएको छ । संकटतिर गएका लगायत प्रजातिको संरक्षणका लागि नेपालमा लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना गर्ने गरिएको छ । अन्धविश्वास र मिथकले गर्दा लाटोकोसेरोले मानिसको मृत्युको संकेत गर्छ भन्ने गलत धारणा पनि नेपालका कतिपय समुदायमा व्याप्त छ । जसको कारण यस प्रजातिमाथि हमला हुँदा विनास भएर वंश संकट उत्पन्न हुँदै गएको हो ।