चोरी तस्करी तुरून्तै रोक
सम्पादकीय
सरकारले सय रूपैयामाथिको सामानमा भन्सार महशुल लिने निर्णय गरेपछि देशभित्र हुनेखाने र हुँदाखाने बीच प्रष्ट भिन्नताले एउटा तरङ्ग ल्याइदिएको छ । खासगरी भारतसित सिमाना जोडिएका तराइका बासिन्दामाथि यस भन्सार महशुलको निर्णयले निकै ठूलो हलचल मच्चाइ रहेको छ । तर, हाम्रै घरछेउको एउटा उदाहरण हेरौं—भारतसित सीमा जोडिएका झापाका उत्तर दक्षीण सीमा नाका भित्रका विभिन्न क्षेत्रबाट आयात निर्यातमा देखिने गरी नै तस्करी भइरहेको छ । सदरमुकाममा रहेको भद्रपुर भन्सारमा व्यापारीले पछिल्लो समय सामान ल्याउन छाडेपछि राजश्व उठ्ने दर निकै खच्कदै गएको भन्सार महशुल विवरणले देखाउछ ।
सदरमुकाम नाकाबाटै भन्सार छलेर भारतबाट नेपाल सामग्री आयात भइरहेको पुष्टि यहाँको भन्सार राजश्व विवरणले प्रमाणित गरिरहेको छ । नेपालबाट भारत निर्यात हुने सामान पनि बैध बाटो छोडेर अबैध मार्गमार्फत तस्करी भइरहेको भन्सार विवरण हेर्दा प्रष्ट हुन्छ । झापाको दक्षिणी क्षेत्र भद्रपुर, पृथ्वीनगर, बनियानी, केचना घेरावारी लगायतका नाकाहरूबाट लागु औषध समेत तस्करी भइरहेको छ । यस्तै धेरै राजश्व दर भएको सुर्तिदेखि धेरै बिक्री हुने लत्ताकपडा जस्ता बस्तुको आयात बैधभन्दा अवैध बाटोबाट भइरहेको अनुमान गर्न भन्सार राजश्व नै प्रमाण बनेर उभिने गरेको अवस्था छ । यी सवै अवस्था निगरानी र नियन्त्रणको जिम्मा पाएका भन्सार कर्मचारी, सीमा सुरक्षा बल र नेपाल प्रहरी प्रशासनसित मिलिभगतको आशंकामा अवैध बाटोबाट नेपाल आइरहेको स्वयम स्थानीय बताउँछन् । ठूला व्यापारिक गिरोह बैधभन्दा अवैध बाटो समाएर भन्सार छलिरहेको अवस्थामा खासै सुधार नभएको सय रूपैया बढीको सामानमाथिको भन्सार महशुल संकलन गरिबको पेटमा लात मार्ने प्रपञ्चभन्दा अर्को हुने संकेत देखिदैन ।
भद्रपुरको नरसिहं चिया बगानसँगै रहेको बक्सर भिट्टाबाट दैनिक सुर्ति ,मोटर पार्टस ,लत्ता कपडा आइरहेको छ भने सोही स्थानबाट नेपालबाट विभिन्न कस्मेटिक सामग्रीहरु भारत तर्फ गइरहेको अवस्था छ । ती सामान नेपालमा भन्दा भारतमा बढी मूल्यमा बिक्री हुन सक्ने हुँदा प्रहरी प्रशासनसित कमिशन बाँडफाँडको शर्तमा विभिन्न माध्यामबाट भारतीय बजार पठाउने गरेको पाइन्छ । विगतमा प्रहरी प्रशासनसित सेटिङ नमिल्दा कस्मेटिक सामान प्रहरीले बरामद गरी कानुनी प्रकृयामा ल्याउने भन्दै सार्वजनिक गर्ने गरेको थियो ।
झापामा तीन वटा सुर्तिजन्य उद्योग सञ्चालनमा आइरहेका भए पनि भन्सारमा सुर्तिको राजश्व कति नै कम तिरेको विवरणले सुर्ति भन्सार छलेर नेपाल आइरहेको पुष्टि हुन्छ । भद्रपुर भन्सार र काकडभिट्टाको मेची भन्सारबाट सुर्ति आवश्यक परिणाममा आएको देखिदैन । त्यस्तै भारतको कादोगाउँबाट नेपालको कचनकवल हुदै ब्राउन सुगर लगायत लागुऔष ल्याउने गिरोहले दैनिक ठूलो मात्रमा कारोबार गरिरहेको छ । यस गिरोहले भद्रपुर दक्षिण विभिन्न नाकाबाट दैनिक लागुऔषध नेपाल पठाइरहेको छ । सानो परिणाममा प्रहरीले लागुऔषध पक्राउ गरिरहेको देखिए पनि प्रयोगकर्ता वा साना भरियामात्र प्रहरीको नियन्त्रमा आएको अवस्था छ । प्रहरीले मुख्य कारोवारी पक्राउ पर्न नसक्दा लागुऔषध कारोवार निकै ठूलो चुनौतिका रूपमा खडा भएर झापा सदरमुकाम भद्रपुरलाई दुव्र्यसनको केन्द्र बनाइरहेको छ ।
झापाका यिनै नाकाबाट अवैध रूपमा दैनिक गाइगोरू भारत हुँदै बंगलादेश गइरहेका छन् । गाई निकासी गर्न नपाइने कानुनी प्रावधान भए पनि गोरू निश्चित भन्सार तिरेर भारततिर निकासी गर्न पाइने प्रावधान छ तर पनि भन्सार नपुगी गोरू भारत गइरहेको अवस्था छ । पछिल्लो समय दक्षिणी झापा तस्करका लागि सहज पहुँच मार्ग हुँदै जाँदा चोरी तस्करी बढिरहेको हो ।
राज्यले चोरी तस्करी नियन्त्रणको जिम्मेवारी दिएर पठाएका प्रहरी प्रशासनका प्रमुखले चासो नदिएर हो या कमाउने लोभले हो झापा चोरी तस्करीको अखडा बन्दै छ । जबसम्म चोरी तस्करी नियन्त्रण हुँदैन तबसम्म राजश्व संकलन बढ्ने छैन । यस कारण पनि अबैध बाटोबाट भइरहेको चोरी तस्करी रोक्न सरकारी प्रतिनिधि जिम्मेवार हुनै पर्छ । कागजमा होइन व्यवहारमै चोरी तस्करी नियन्त्रण हुनै पर्छ ।
