सांसद नभइ नहुने मन्त्रीहरू
भद्रपुर । आसन्न निर्वाचनमा नागरिक सरकारका ४ मन्त्रीले नैतिकतालाई बिर्सिएर हाम्रो पूर्वीय दर्शनले देखाएका चारखाले लोभः कामेष्णा, वित्तेष्णा, जीवेष्णा र यशेष्णाको बाटो रोजेका छन् । कामेष्णा अर्थात् कामवासनाको मोह । वित्तेष्णा अर्थात् धेरै धन थुपार्ने मोह । जीवेष्णा अर्थात् अझै धेरै बाँचेर सुखसयल भोग्ने मोह । अब आयो यशेष्णा अर्थात् नाम, कीर्ति कमाउने मोह ।
भदौ २३ को नव युवाको विद्रोहको भाव विपरित कुलमान घिसिङ, बब्लु गुप्ता, जगदिस खरेल र महावीर पुनले नागरिक सरकारलाई छोडेर चुनावी पदचाप रोजेका हुन् ।
यो कुवा खनाएर भए पनि नाम कमाउने भानुभक्तकालीन घाँसीको देश नेपालमा यति बेला धेरैलाई सांसद उठ्नु परेको छ । सांसद उठेपछि चारचौरास आफ्नो बारेमा हल्लाखल्ला हुन्छ । देश बनाउने पहिलो पाइलो त्यही दिनबाट शुरु हुन्छ । यी, यसरी यो गरिब देश आफ्नै सांसदकालमा धनी बनाउने धङधङीबाट यी चार मन्त्री पनि टाढा बस्न सकेनन् ।
कुलमान बिजुली खरिदमा आफ्ना नांगा स्वार्थहरू मार्फत एक्सपोज भए । जगदीशका बारेमा धेरै नभनौं, चुनावी सरकारका दायित्व सम्झाउने उनका तीन महिनाअघिका भिडियो क्लिपहरूले आफैं धेरैथोक भनिरहेका छन् । बब्लु गुप्तालाई सांसद उठेकोमा शुभकामना दिने धेरै मन अलमलिएको छ । उनी केही साताका लागि मन्त्री खान किन कुदे होलान् बुझ्न कसैले सकेनन् ।
बालेन, हर्क साम्पाङ, रेनु दाहाल लगायत स्थानीय पालिकाका प्रमुख, जसले कार्यकाल पूरा नगरी संघतर्फ उठ्न हिंडे । प्रश्न न उनीहरूकै बारेमा पनि गर्न सकिन्छ । तर चुन्ने चुनिने वातावरण बनाउन चुनावी सरकारमा गएका मन्त्री यसरी आफूलाई नै चुन्न कुदेको देखेर सुशीला कार्की, रामेश्वर खनाल, ओमप्रकाश अर्याल, अनिल सिन्हा आदिलाई चाहिं मान्नैपर्ने देखियो । के थाहा, सांसद उठिहेर्ने मन त तिनलाई पनि थियो कि ?
एक बारको जुनीमा सांसद चाहिं नभई नहुने हो र मन्त्रीजीहरू ? सांसद भइएन भने बाँचेकै अर्थ नहुने हो र ? हरेक दिन मतदाताले ती मन्त्रीको जिम्मेवारी छोडेर चुनावी रणमैदान धाउने निवर्तमान मन्त्रीहरूलाई सोधिनु पर्छ । मतदान गर्नु अगाडि तीन पटक सोचेर ती अभरिता पात्रलाई स्वीकारिनु पर्छ जसले आफ्नो मुख्य जिम्मेवारी बिर्सिएर धेरै पाउने आशमा बहकिएका छन् ।
याद गर्नुहोला, चुनावपछि पनि जीवन छ । चुनाव त आउँछ जान्छ, तर तपाईं हाम्रो निष्ठा, मान प्रतिष्ठा भने एकपल्ट गएपछि फर्केर आउँदैन । आजभन्दा १० वर्षअघि सांसद भएकाहरूमध्ये आज कतिजना आफ्नो निष्ठामा टिकेका छन्, कतिचाहिं बिलाएर कहाँ हराइसके ? विश्वप्रकाश शर्मा, योगेश भट्टराई, सुमना श्रेष्ठ, विद्या भट्टराई जस्ता तीन वर्षअघि सांसद बनेका नेता यसपल्ट उम्मेदवार उठेनन् । हरेकपल्ट चुनावमा उठेपछि मात्रै सान्दर्भिक बनिराखिन्छ भन्ने धारणा गलत हो ।
तर जगदीशलाई यो कुरा कसले बुझाइदिने ? टिभी टक शोको होस्ट हुँदा उनले सोधेका प्रश्नहरू आज उनी आफैंतिर फर्केका छन् । लाज सरमको आभाष हुन्छ कि हुँदैन ? पछ्याइरहने प्रश्न यही छ ।
एउटा पुरानो कविता थियो, शृंगार कहीं यस्तो नहोस् कि युवती नै गायब होस् । यही कविता कोट्याउँदै मोदनाथ प्रश्रितले कुनै बेला लेखेका थिए– राजनीति कहीं यस्तो नहोस् कि सिद्धान्त नै गायब होस् । प्रश्रित समेतलाई कोट्याउँदै यहाँ भन्नुपर्ने हुन्छ, चुनाव कहीं यस्तो नहोस् कि मूल्यमान्यता नै गायब होस् । लबस्तराहरू मात्र जनप्रतिनिधि बनेर राजनीतिमा छाइरहुन् ।
अनलाइन खबरबाट
