समाचारस्थानीयस्वास्थ्य

पाथिभरा नर्सिङ कलेजका नयाँ विद्यार्थीलाई स्वागत सम्मान

भद्रपुर । ओमसाई पाथिभरा अस्पताल मातहतको नर्सिङ कलेजमा भर्खरै भर्ना भइ अध्ययन गरिरहेका नयाँ विद्यार्थीलाई स्वागत सम्मान गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको सम्बन्धनमा २०८१ बाट कलेजको मान्यता पाएपछि दोश्रो व्याचका रूपमा नर्सिङ कलेजमा स्टाफ नर्स, हेल्थ असिस्टेन्ट र फार्मेसी पढ्न आएका नयाँ विद्यार्थीहरूलाई कलेजमा स्वागत सम्मान गरिएको हो ।

कलेजकी नर्सिङ दोश्रो वर्षकी छात्रा सिष्टिसागर रेग्मीको अध्यक्षता तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष दिपक पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई अविर र खादा पहिर्याएर स्वागत गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष पोखरेलले प्राविधिक शिक्षा तर्फ अगाडि बढेको अस्पतालले उच्च स्तरीय सीप सहितका विद्यार्थी उत्पादनको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गर्दै सुविधा सम्पन्न देशकै नमूना कलेज बनाउने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा अस्पतालका प्रबन्धक बालकुमार पोखरेलले स्वास्थ्य प्राविधिक शिक्षा दक्षता सहित मानव सेवा गर्ने असल नागरिक उत्पादनको थलो रहेको धारणा राखेका थिए ।

कार्यक्रममा अस्पतालका प्रशासक दीप पौडेलले सुनसान भद्रपुरलाई चलायमान बनाउन नर्सिङ कलेज महत्वपूर्ण बनेको धारणा राख्दै स्तरीय स्वास्थ्य प्राविधिक शिक्षामा कलेज अब्बल रहेको धारणा राखेका थिए ।

कार्यक्रममा कलेजकी प्रिन्सिपल उपमा शिवाकोटीले वार्षिक शैक्षिक गतिविधि प्रस्तुत गर्दै नर्सिङ कलेजमा स्टाफ नर्स, हेल्थ असिस्टेन्ट र डिप्लोमा इन फार्मेसी पढ्न पूर्वदेखि—सुदुर पश्चिमसम्मका विद्यार्थी अटाएको धारणा राख्दै शैक्षिक सुधारका लागि हरपल काम गरिरहेको जानकारी दिइन् ।

चिकित्सक शिक्षा आयोगले विद्यार्थी कोटा निर्धारण गरिदिएसँगै शैक्षिक वर्ष २०८१÷८२ बाट स्टाफ नर्स, एचए र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालन गर्ने बाटो खुलेको थियो । सोही अनुसार प्रत्येक कार्यक्रममा ४०÷४० जना विद्यार्थीको कोटा आयोगले तोकिदिएको छ । कलेजमा दोश्रो व्याचका रूपमा यस वर्ष स्टाफ नर्समा ४० जना र डिप्लोमा इन फार्मेसीमा ४० जना र हेल्थ असिस्टेन्टमा ४० जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

कार्यक्रममा सञ्चालक पोखरेलकी माता जानुकादेवी पोखरेल तथा पिता गुप्तराज पोखरेलको अतिविशिष्ट आतिथ्य तथा अस्पतालका आर्थिक प्रशासन प्रमुख रामहरि खतिवडा, प्रशासनका मनोज दाहाल, बुद्धि कोइराला, योगेन्द्र ढुंगाना लगायत अस्पताल तथा कलेजका सरोकारवाला व्यक्तित्वको उपस्थिति रहेको थियो भने सञ्चालन नर्सिङ दोश्रो वर्षका छात्रा मिकाशा पराजुली र प्रज्ञा ढुंगाना तथा स्वागत पार्मेसी दोश्रोर्षकी छात्रा सन्ध्या खरेलले गरेकी थिइन भने विभिन्न जातीय पहिरन सहित नृत्य तथा गायन समेत विद्यार्थीद्वारा प्रस्तुत गरिएको थियो ।