पढ्नै पर्ने पुस्तक गोपाल गिरीद्वारा लिखित “सदरमुकाम भद्रपुरको गाथा”

द्रोण अधिकारी गुहेली
झापाली पत्रकारिताको क्षेत्रमा चार दशकदेखि निरन्तर सेवारत गोपाल गिरी पुस्तान्तरणका दृष्टिले दोश्रो पुस्ता तथा हालको सकृय पत्रकारिताका दृष्टिले झापाको पहिलो पुस्ताको पत्रकारको रूपमा परिचित व्यक्तित्व हो । समचार साप्ताहिकको सम्पादक÷प्रकाशक तथा नागरिक एफएमको समचार सम्पादकको भूमिकामा रहनु भएका गिरी पछिल्लो पटक इतिहासकारको हैंसियत निर्माणमा लाग्नु भएको छ ।

गिरीद्वारा लेखिएको पहिलो कृति “सदरमुकाम भद्रपुरको गाथा” पुस्तकले उहाँलाई राम्रो इतिहासकार बन्ने सुनौलो अवसर दिएको देखिन्छ । भद्रपुरलाई केन्द्र बनाएर पत्रकारिता र शिक्षणमा समेत जीवन समर्पण गर्नु भएका गिरीले छाँयामा हराउँदै गएको झापाको सदरमुकाम तथा नेपालको पुरानो शहर भद्रपुर नगरलाई उज्यालो प्रकाशमा ल्याउने काम यस पुस्तकबाट गर्नु भएको प्रष्ट रूपमा पाठकले पाउने छन् ।

शिक्षणमा शालिनतासित तीक्षण ज्ञान तथा पत्रकारितामा निडर र निपक्ष व्यक्तित्व निर्माण गर्नु भएको गिरीले पुस्तक लेखनबाट सत्य र तथ्य केलाउन सक्ने अन्वेषणात्मक सामथ्र्य पस्किन सफल हुनु भएको छ । शुद्ध भाषाशैली तथा सरल शब्द चयनबाट आकर्षक लेखन कला प्रस्तुत गरेर लेखिएको “सदरमुकाम भद्रपुरको गाथा” पुस्तकले नेपालको पुरानो शहर भद्रपुरको नालीबेली खोतल्ने प्रयास गरेको देखिन्छ । इतिहास लेखन आफैमा बेरसिलो लेखन मानिए पनि गिरीको यस पुस्तकले पाठकलाई पठन आकर्षण बढाउँदै रस्वादन गर्ने सामथ्र्य पनि राख्दछ । भद्रपुर जान्ने व्यक्तित्व सकिदै गएका बेला प्रकाशनमा आएको यस पुस्तकले यस नगरको इतिहास जीवित राख्ने प्रयास राखेको देखिन्छ । भद्रपुरको नामाकरणदेखि झापा सदरमुकाम बन्दासम्मका रोचक प्रसंग समेटिएको यस पुस्तकले नेपालका अन्य ऐतिहासिक नगरको इतिहास लेख्न पनि उत्प्रेरणा प्रदान गरेको छ ।

भद्रपुरको इतिहास ’ स्थापनाका आरोह–अवरोह र विक्रमणको वृतान्त बनेर आएको “सदरमुकाम भद्रपुरको गाथा” पुस्तक भद्रपुरमा बस्ने शिक्षा र चेतना चाहने व्यक्तिका लागि एकचोटी पढ्नै पर्ने पुस्तक हो । विद्यालय तहमा स्थानीय पाठ्यक्रम समेत लागू भएको भद्रपुर नगरपालिका क्षेत्रका हरेक विद्यालयका शिक्षक तथा विद्यार्थीले यस पुस्तकलाई सन्दर्भ सामग्रीका रूपमा उपयोग गर्न सकिने देखिन्छ । भद्रपुर नगर शिक्षा समितिले स्थानीय पाठ्यक्रम विद्यालयहरूमा लागू गरेको चार वर्ष भए पनि अहिलेसम्म पाठ्य पुस्तक देख्न नपाएका विद्यार्थीलाई सिकाइ सहजीकरणका लागि यो पुस्तक महत्वपूर्ण हुने छ । भद्रपुरमा बसेर राजनीति गर्ने, समाज सेवामा लाग्ने, शिक्षण पेशा अपनाउने व्यक्तिका लागि नभइ नहुने पुस्तकको सूचिमा “सदरमुकाम भद्रपुरको गाथा” अनिवार्य जस्तै छ ।

३५० पृष्ठभित्र ४० शीर्षक तथा उपशीर्षकमा विभाजित भएर आएको यस पुस्तकले भूगोलको परिचयदेखि ऐतिहासिक व्यक्तित्व समेत समेटेको छ । धुपगाछीबाट मानव बस्तीको इतिहास जोडेको भद्रपुरले कसरी नाम बदल्ने अवसर पायो ? यस गाउँलाई शहरका रूपमा उन्नत बनाउन कसकसको भूमिका रहन गयो ? पूर्वी व्यापारिक केन्द्र भद्रपुरको हिजोको समृिद्धको पहिचान आज कता हरायो ? यी र यस्ता प्रश्नको जवाफ खोज्ने प्रयास पुस्तकले गरेको छ । बाहिर मुहार हेर्दा पुस्तक सामान्य होला जस्तो लागे पनि भित्री गुदी खोतल्दा पाठकले विशेष ज्ञानको अनुभूति पाउने छन् ।

भद्रपुरमा धेरै विद्वन जन्मिए, हुर्किए र यो शहर छोडेर अन्यत्र पलायन भए पनि होलान् तर कसैले गर्न नसकेको काम यस नगरको इतिहास खोज्ने प्रयास यस नगर बाहिर जन्मिए हुर्किएका गोपाल गिरीले गरेको देखिन्छ । भद्रपुर नगरलाई माया गर्ने मनहरूले एकचोटी पढ्नै पर्ने पुस्तकको सूचिमा गिरीको पहिलो कृति “सदरमुकाम भद्रपुरको गाथा” रहेको छ ।