अष्ट्रेलियामा पहिलो वैदिक विश्व विद्यालय

-इन्द्रप्रसाद ओली
चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खुर्पाको बिँड । यो उखान वेदको बखान गर्नलाई काम लाग्छ । यो उखान भन्दा पनि अझ बलियो एउटा सूक्तिलाई अगि सारेर मात्र विषय-प्रवेश गर्नु सान्दर्भिक होला- कौडीमा पनि मिल्किन्छ भिल्लको देशमा मणि । वेदभूमि नेपालमा जन्मिएर नेपालमै हुर्किएका हामीहरूले वेदको महत्त्व बुझेनौं । म्याक्समुलर आदि स्वनामधन्य पाश्चात्य विद्वद्वर्ग चाहिँ वेदको बखान गरेर कहिल्यै नथाकेको पाइयो । जर्मनी, बेलायत, अमेरिका आदि देश र महादेशले वैदिक र लौकिक संस्कृत भाषालाई उच्च स्थानमा राखेका छन् ।

वेद साहित्य, संस्कृति, राजनीति, अर्थनीति, गणित, दर्शन र सम्पूर्ण भौतिक अथवा अभौतिक विज्ञानको स्रोत हो; सम्पूर्ण मानव-सभ्यताको निमित्त बनेको परिपूर्णतम शास्त्र हो । वेदो नारायण: साक्षात् भनिएको छ । वेदलाई प्रत्यक्षत: देख्न पाइने भगवान् नारायणको स्वरूप मानिएको छ । सृष्टिको मूल नै वेद हो यसैले वेद अपौरुषेय र दिव्यतम ग्रन्थ हो । वेदमा नपाइने कुरा केही पनि छैन ।

कतिपय मानिसले पूर्वीय दर्शन र वैदिक दर्शनलाई पर्यायवाची मानेका छन् त कसैले अभिन्न ठानेका छन् । ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद चारवेद भइहाले । कर्मकाण्डका ८० हजार, ज्ञानकाण्डका १६ हजार अनि उपासना काण्डका ४ हजार जोडेर वेदका मन्त्र मात्र एक लाख छन् ।

वेदको ज्ञानकाण्ड उपनिषद् हो । उपनिषद्-शास्त्रहरू नै सयौँको संख्यामा छन् । ब्रह्मसूत्र बुझ्न र बुझाउन सक्ने व्यक्ति कति जना होलान् ? ब्राह्मण र आरण्यक ग्रन्थको वास्तविक हिसाब-किताब निकाल्नै सकिंदैन ।

पूर्व मीमांसा, उत्तर मीमांसा, सांख्य, योग, वैशेषिक र न्याय यी षड्दर्शन मुख्य हुन् । वेदमा आधारित दर्शनशास्त्रहरू सयौँ छन् ।
इतिहास र पुराण पञ्चम वेद हुन् । पुराण, उपपुराण र औपपुराण गरेर ५४ वटा त पुराणै छन् । महाभारत र रामायण इतिहास हुन् । महाभारत त वेदको व्याख्या भइहाल्यो । एउटै महाभारत ग्रन्थका आधारमा हजारौँ आधुनिक शास्त्रहरू लेखिएका छन् । वाल्मीकि, तुलसीदास, भानुभक्त आचार्य आदिबाट रचित रामायणको महिमा अपरम्पार छ ।

श्रीमद्भागवत ५४ पुराणभन्दा माथिको महापुराण हो । श्रीमद्भागवत महापुराणको पूरा अर्थ लगाउन सृष्टिकर्ता भगवान् ब्रह्मालाई समेत धौ-धौ पर्छ । सबै पुराण पल्टाउने काम मात्रै पनि असम्भव भइसक्यो । पढ्ने र बुझ्नेको त कुरै नगरौँ । वेदको त झन् कसरी बयान गर्नु ?
शिक्षा, कल्प, व्याकरण, छन्द, निरुक्त र ज्योतिष वेदका छ अङ्ग हुन् । यी छ अङ्गसित सम्बन्धित शास्त्रहरू नै हजारौं छन् ।

वेदशास्त्रकै आधारमा विमानको आविष्कार पूर्वीय संसारमा सृष्टिकालतिरै भइसकेको बुझ्न थोरै बेर पनि घोत्लिनुपर्दैन । त्रेता युगमा सीताहरण गर्न राजा रावण विमानमै आएका थिए । पाश्चात्य संसारमा विमानको इतिहास दुई सय वर्षभन्दा पनि छोटो छ । भगवान् परमेश्वरका चौसट्ठी कलाको व्याख्या गर्ने शास्त्रहरू नै असंख्य छन् । वेद र वैदिक शास्त्रहरूको नामसूचीले नै एउटा बृहत् ग्रन्थ बन्दछ ।
पूर्वीय दर्शनको प्रभाव संसारभरिमा कुनै न कुनै रूपबाट स्थापित हुँदै गएको पाइन्छ ।

यूरोपेली महाद्वीपदेखि पूर्वतर्फका चिन्तनलाई पूर्वीय दर्शन भनेको पाइन्छ । खास गरेर हिमवत्खण्ड तथा यसका दक्षिणी भेगका दार्शनिक चिन्तन नै पूर्वीय दर्शनका रूपमा स्थापित भएका हुन् । बौद्ध दर्शन, न्याय दर्शन , वैशेषिक दर्शन ,योग दर्शन , सांख्य दर्शन,मीमांसा दर्शन, वेदान्त दर्शन, शैव वा पाशुपत शाक्त दर्शन , जैन दर्शन, चार्वाक् वा लोकायत दर्शन र नास्तिक आदि । पाणिनीय दर्शनको महिमा अझ विशिष्ट छ । वैदिक दर्शनकै जगमा हजारौँ दर्शनहरू रचिएका छन् । तीमध्ये २०८० मा रचिएको ‘भाषा भगवान् हुन्, भगवान् भाषा हुन्’ पुस्तकले भाषा, सृष्टि, राजनीति र अध्यात्म-दर्शनको समन्वय अद्भुत किसिमले गरेको छ ।

पूर्वीय ग्रन्थभित्र परम्परा, धर्म , संस्कार, संस्कृति, सभ्यता, रीतिरिवाज कला, मानवता, अहिंसा, सह-अस्तित्व आदि यावत् आदर्शका कुराहरू समेटिएका छन्, ती सबै शाश्वत छन् र सार्वकालिक छन् ।

संसारका चार हजारभन्दा बढी भाषाहरूमध्ये अधिकांश भाषाहरूको मूल संस्कृत हो । वैदिक र लौकिक गरी संस्कृत भाषा दुई प्रकारका छन् ‌ । ॐकार वेदको पनि जनक हो । संस्कृतसमेतका सबै भाषाहरूको आदिस्रोत ॐकार नै हो भन्ने निष्कर्षमा कतिपय पाश्चात्य विद्वान् स्वयम् पुगिसकेका छन् ।

वैदिक तथा लौकिक संस्कृत भाषाले आस्तिकदेखि नास्तिकसम्मलाई ओगटेको छ । प्रत्यक्ष देख्न सकिने भौतिक वादमा मात्र विश्वास गर्ने अनीश्वरवादीदेखि परोक्ष अध्यात्ममा पुगेका ईश्वरवादीसमेतलाई समत्वमा समेटेको छ ।

वसुधैव कुटुम्बकम् । विश्वशान्ति, भ्रातृत्व र मानवताका लागि यत्ति एउटा पदावली पर्याप्त छैन र ?

एक-अर्काबाट प्राप्त गरिने निष्काम प्रेमनानुभूति, आदर, सम्मान, श्रद्धाभाव र सह-अस्तित्व हाम्रो वैदिक संस्कृति हो । सिर्जना र मानवता संस्कृतिका अङ्ग हुन् ।

सन् २०१४ मा अष्टेलियामा सम्पन्न जी- २० सम्मेलनमा टर्कीका प्रधानमन्त्रीले नेपाललाई पनि शक्ति राष्ट्रको लहरमा राख्नुपर्ने तर्क पेश गरेका थिए । शक्तिको परिभाषा विभिन्न कोणबाट गरिनुपर्ने व्याख्या गर्दै उनले आध्यत्मिक शक्ति- केन्द्रका रूपमा नेपाललाई चित्रण गरेका थिए। विश्वमञ्चमा नेपाललाई आध्यात्मिक राष्ट्रका रूपमा प्रस्तुत गर्नुको मुख्य उद्देश्य संस्कृति, सभ्यता र संस्कृतको प्रभाव नै हो । यस विषयलाई अष्ट्रेलियाले विशेष महत्त्व दिएको पाइन्छ ।

सन् २०२३ मा क्विन्ससल्याण्ड राज्यको ब्रिसवेनमा विधिवत् रूपमा दर्ता भई अनवरत रूपमा कार्य गर्दै आएको ”सनातन धर्म अष्ट्रेलिया इन्क” ले सन् २०२५ को आरम्भमै आफ्नो कार्यक्षेत्र ब्रिसवेनबाट टुऊम्बा भन्ने स्थानसम्म विस्तार गरेको थियो।

सन् २०२५ कै फेव्रुवरी १८ का दिनवाट श्री धर्मेश्वर महादेवको नामले एक नर्मदेश्वर शिवलिंगको प्रतिष्ठा गरी शिवमन्दिर निर्माण गर्न लागिपरेका श्री राजन अधिकारीको नेतृत्वमा रहेको सात सदस्यीय सनातन धर्म अष्ट्रेलिया इन्क परिवार नामको जागरूक समूहले शिवमन्दिरलाई भेटघाट, चिनापर्चीलगायत धार्मिक अनुष्ठानका कार्यहरू गर्ने चौतारीका रूपमा लिँदै आएको देखिन्छ । श्री धर्मेश्वर महादेवको सेवा गर्दै अष्ट्रेलियामा पहिलो वैदिक विश्वविद्यालयका रूपमा ”वैदिक गुरुकुल विश्वविद्यालय अष्ट्रेलिया” को नाममा एउटा विश्वविद्यालय नै स्थापना हुनुपर्दछ भन्नेमा सबै सदस्यले जोड दिएका छ्न् । उक्त विश्वविद्यालय स्थापनाका लागि केही सार्वजनिक कार्यक्रमहरूसमेत सम्पन्न भएको जानकारी संस्थाका अध्यक्ष राजन अधिकारीले दिएका छन् । सनातन धर्ममा आस्था राख्ने धर्मानुरागीहरूले निकै चासो र महत्त्व दिएको पाइन्छ । ॐ कार परिवारले स्वागत गर्दै अपनत्व लिने गरी वैदिक गुरुकुल विश्वविद्यालय स्थापना गर्न ऐक्यवद्धता जनाएका छन् ।

सनातन धर्म अष्ट्रेलिया इन्क तथा धर्मेश्वर महादेव परिवारले विश्वविद्यालय बनाउन आधारभुत व्यवस्थापन गर्दै गरेको हुँदा गुरुकुल शैलीको उदाहरणीय विश्वविद्यालय स्थापना गरेरै छाड्ने अठोट लिएको अधिकारीले बताएका छन् । अधिकारी र उनका सहधर्मीहरूको सपना सुशीघ्र सफल होस् भन्दै हामी सबैले भगवान् शिवसमक्ष प्रार्थना गर्दै यथाशक्य सहयोग र समर्थन जुटाउने प्रतिज्ञा सहजतापूर्वक गर्नुपरेको छ ।