सडक निर्माणमा धुलो नियन्त्रणको माग गर्दै बारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

भद्रपुर, झापा। नेपाल बार एशोसिएशन झापा जिल्ला अदालत बार इकाइले निर्माणाधीन पूर्व–पश्चिम लोकमार्गमा धुलो नियन्त्रण नगरेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ।

बुधवार एशोसिएशनका अध्यक्ष बसन्त नेपाल नेतृत्वको टोलीले सो ज्ञापन–पत्र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंमा पठाएको हो।

ज्ञापन–पत्रमा विकास आवश्यक भए पनि मानव स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै सडक निर्माणका क्रममा धुलो नियन्त्रणका उपाय नगरी स्थानीय बासिन्दा, यात्रु, बालबालिका, बृद्ध, र असक्त व्यक्तिहरूको स्वास्थ्यमा गम्भीर असर परिरहेको बताइएको छ।

एशोसिएशनले नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३० (“स्वच्छ वातावरणको हक”) र वातावरण संरक्षण ऐन, २०५३ को प्रावधानलाई स्मरण गराउँदै, सडक निर्माण कम्पनीहरूले वातावरणीय मापदण्डअनुसार काम नगरेको भन्दै आपत्ति जनाएको छ।

ज्ञापन–पत्रमा “पूर्व झापाको काकरभिट्टा देखि सुनसरीको लौकहीसम्मको एशियन हाईवे निर्माण कार्यमा पर्याप्त पानी छर्कने र धुलो नियन्त्रणका आवश्यक प्रबन्ध मिलाउन सरकार संवेदनशील बन्नु पर्ने” माग गरिएको छ।