हात्ती समस्या हल गर
सम्पादकीय
हरेक वर्ष झापामा उत्पादन हुने प्रमुख खाद्य बाली धान तथा मकै पाक्न लागेपछि पूर्वी झापाको सदरमुकाम उत्तर—दक्षिणी क्षेत्रका अधिकाम्स किसानलाई यी अन्न बाली जोगाउने चिन्ता बढेर आउने गरेको छ । वर्षभरी खाने र परिवार पाल्ने आधारका रूपमा रहेको खेतीमा वषौं वर्ष यता हात्तीको चरण बन्न थालेपछि पूर्वी उत्तर—दक्षिण झापाका किसानमा अन्न बाली जोगाउन सकिने हो या होइन भनेर चिन्ता बढ्ने गरेको दशकौं हुन पुग्यो । भारतको आसाम राज्यबाट काँकरभिट्टा स्थित मेची नदी किनार हुँदै स—सना झुण्डका रूपमा नेपाल छिरेका दर्जनौं हात्ती मध्ये ३५ वटा हात्तीको झुण्डले झापाको रैथाने जीवशैली बनाइ सकेको अवस्था छ ।
यो समूहले कुनै न कुनै रूपमा वर्षैभरी ज्यामिरगढी, दुवागढी, चन्द्रगढी, गरामनी, हल्दिवारी जलथल, पृथ्वीनगर, बालुवाडी, केचना पथरिया घेरावारी, राजगढ, सतासीधाम, शिवगञ्ज लगायत स्थानमा बढी क्षति गर्ने गरेको स्थानीयको गुनासो आउन थालेको दुई दशक पूरा भइसक्यो । यस बीचमा चर वटा निर्वाचनले हात्ती समस्याको दीर्घकालिन समाधान गर्ने चुनावी घोषणा पत्र पनि नागरिकका घर—घरमा पुगिसकेको देखाउँछ । अब पाँचौं निर्वाचनको हल्ला चल्न थालेको छ । आगामी फागुन २१ मा निर्वाचन होला नहोला झापाबासी रमिता हेरिरहेका छन् । धान पाक्न सुरू भएको यस समयमा भोटको चर्चा भन्दा वर्षभरी पेट भर्ने धानको सुरक्षाचाहि कसरी गर्ने भन्ने चिन्तामा झापाका अधिकाम्स कृषक सोचमग्न छन्, किनकी रैथाने हात्ती र पाहुना हात्ती धान बाली भएका क्षेत्रमा हरेक दिन सयौंको संख्यामा देखिन थालेका छन् ।
वि सं २०४१ साल यता झापाको प्रमुख समस्याका रूपमा रहेको हात्ती मानव द्वन्द्व नियन्त्रणको पटक पटक गरिएको प्रयास अहिलेसम्म सफल नहुँदा मान्छे र हात्ती मारिने क्रम रोकिन सकेको छैन । तीन दशकसम्म उत्तरी झापाको प्रमुख समस्याका रूपमा रहेको हात्ती आतङ्क पछिल्लो एक दशकयता दक्षिण, पश्चिम झापाको जिल्लाभरकै समस्या बनेर ज्यान लिने खेलका रूपमा विकास भइ रहेको छ । भारतको आसामबाट वंगाल हुँदै नेपाल प्रवेश गर्ने हात्तीको बथान बाहुण्डाँगी नाकाबाट नेपाल प्रवेश गरी खेती बाली पाक्ने समयमा ठूलो क्षति गर्ने गर्छन् तर उत्तरी झापाको बाहुण्डाागीमा तारबार लगाएपछि भारतीय हात्तीको ठूलो समूह नेपाल प्रवेश गर्न नसके पनि साना—साना झुण्ड बनाएर काँकरभिट्टा नाकाको मेची नदी किनारबाट दक्षिण पूर्वी ज्यामिरगढी हुँदै दुवागढी चन्द्रगढी वन क्षेत्र चारआली जंगलमा आश्रय बनाएका हात्तीहरूको एकीकृत झुण्डले झापाका साविक गाविसहरु दुवागढी, चन्द्रगढी, गरामनी, हल्दिवारी, जलथल, पृथ्वीनगर, बालुवाडी, बनियानी, घेरावारी, राजगढ, शरणामती कुमरखोद, शिवगञ्ज, सतासीधाम क्षेत्रमा हरेक वर्ष आतङ्क मच्चाइ रहेका छन् ।
मकै र धान पाक्ने समयमा हात्तीको झुण्डले बाली खाने, नष्ट गर्ने समस्या तीव्र गतिमा देखिएको छ भने अन्य सुख्खा समयमा घरमा राखिएको अन्न तथा खाद्यान्न खाइ दिने, घर टहरा भत्काइ दिने प्रतिकार गर्न खोजे मानिसमाथि नै आक्रमण गरी अंगभंग पार्ने, ज्यानै लिनेसम्मका घटना बढ्दै गइ रहेको अवस्था छ । यस क्षेत्रमा एउटा मत्त भाले हात्ती सहित दुई झुण्डमा ३४ वटाको संख्यामा रैथाने भइसकेका हात्ती रहेको स्थानीय बताउने गर्छन् । बिगार गर्ने काममा बच्चा भएको पोथी हात्ती बढी सकृय देखिन्छ भने ज्यान लिनेमा मत्त भाले अगाडि रहेको छ । प्रभावित क्षेत्रमा अन्न बाली पाक्ने समयमा अन्य आगन्तुक हात्तीहरूको प्रवेश हुने हुँदा झापाका बाहुण्डाँगी, बुधबारे, शान्तिनगर, खुदुनावारी, सुरुङ्गा, सतासीधाम, दमक लगायत मोरङका उत्तरी क्षेत्रमा पनि हात्तीले कुनै न कुनै रूपमा क्षति गर्ने क्रम रोकिएको छैन । राज्यले हात्ती उपद्रो रोक्न करोडौं लगानी गरेको पनि देखिन्छ तर परिणामले आशावादी प्रगति भएको देखाउँदैन । कतै राज्यको लगानीमै खोट भएर हात्ती समस्या समाधान नभएको हो कि ? खोजी गर्नु पर्ने अवस्था छ ।
