परिवर्तनको लडाइमा छेपारे प्रवृत्तिको प्रवेश अस्थिरता र भ्रष्टाचारको केन्द्र बन्दै
वि सं २००७ सालदेखि २०८२ सालसम्मका परिवर्तनका आन्दोलन हेर्दा घुषपैठ नै सर्वैसर्वा हुने वातावरण बनेर जनभावनामाथि खेलवाड गर्ने स्वार्थी समूह हावी भएका प्रशस्तै उदाहरण देखिएका छन् । यी परिवर्तनका आन्दोलन नेपालको विकास र उन्नतिका होस् भनेर नागरिकले रगत बगाएको प्रष्ट छ । पहिलो क्रान्तिमा वीपी कोइलाले नेतृत्व लिदै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सपना पालेर क्रान्ति हाँकेका थिए तर त्यस आन्दोलनले यी तीन वटै कुरा स्थापित गर्न नपाई कोइरालासितै सवै पक्ष कारागारमा थुन्दै राजा महेन्द्रले सत्ता हातमा लिन पुगे ।
वीपीको भन्दा राम्रो शासन दिने आश्वासनमा राजाले लिएको सत्ता ३० वर्ष उपल्ला वर्गको पृष्ठपोषण गर्दै भुँइमान्छे दबाएर राजकाज चलिरहेको थियो । यस्तो विभेद बिरूद्ध जनआक्रोस बढिरहेका बेला काँग्रेस र वाम मोर्चाले निरङ्कुश सत्ता ढाल्ने निर्णसितै गणेशमान सिंहलाई अगाडि सारेर चर्काको आन्दोलनले ४९ दिनपछि प्रजातन्त्र पुनस्थापन गरो । आन्दोलनको नेतृत्व गरिरहेका सिंहले सरकारको नेतृत्व भने लिएनन् । अर्का सहयात्री कृष्णप्रसाद भट्टराईलाई अन्तरिम प्रधानमन्त्री बनाएर परिवर्तन स्थापित गर्न जिम्मा दिए । भट्टराईले पाएको जिम्मेवारी अनुसार संविधान बनाउने र निर्वाचन मार्फत जनसत्ता स्थापित गर्ने दाइत्व सफलता पूर्वक सम्पन्न भयो । तर, सर्वोच्च कमाण्डर गणेशमान र सारथी भट्टराई स्वयमले भने परिपर्तित व्यवस्था स्थापित गर्ने जनसत्ता सम्हाल्न भने पाएनन् ।

दोश्रो तहका नेता गिरिजाप्रसाद कोइराला सत्तारोहणमा पुगेपछि काँग्रेसका अग्रज नेतृत्व र वाम मोर्चामाथि दमन र प्रहारमै सत्ता केन्द्रित गर्न थालेपछि जनभावना र चाहना बिस्तारै छाँयामा पर्दै गयो । त्यसपछि डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको एउटा वाम घटकले हतियार लिएर बहुदल र संसदीय व्यवस्था ध्वस्त बनाएर जनसत्ता स्थापित गर्ने भन्दै एक दशक विध्वम्सको राजनीति देशभर मच्चाएपछि राजतन्त्रको जग पनि भत्कने वातावरण राजपरिवारकै गतिविधि लाग्दा २०६३ सालमा निरन्तर १९ दिनको शान्तिपूर्ण आन्दोलनले गणतन्त्र नेपालमा राजकीय सत्ता परिवर्तन गरिदिएको थियो । भण्डै एक दशक अस्थिर राजनीति चलेको नेपालमा २०७२ मा संविधान जारी भएपछि संघीयता, धर्मनिरपेक्षता सहित गणतन्त्र नेपालको प्रष्ट मार्गचित्र निर्माण हुन गयो । विध्वम्सले क्षतविक्षत नेपाली भौतिक संरचना पुनरनिर्माणले गति लिन थालेको थियो । २००७ सालदेखि २०८२ सालसम्म आउँदा भौतिक विकासमा आशातित देखिए पनि मानव विकास र राजकीय सत्ता सञ्चालनको अवस्था सही गतिमा थिएन । भ्रष्टाचार, दुराचार, अन्याय र अत्यचारका श्रृंखला दिनप्रतिदिन बढ्दै थिए । युवा शक्ति निराशामा डुब्ने क्रम बढ्दो थियो ।

यही बिचमा देशी विदेशी शक्ति युवा पुस्ता र बृद्ध पुस्ताका नेपालीलाई द्वन्द्वमा फसाएर कसरी आफ्नो स्वार्थ नेपाली राज्य व्यवस्थामा प्रवेश गराउन सकिएला भन्ने दाउ पनि हेरिरहेका थिए । यस बिचमा दुर्गा प्रसाई लगायत राजाका पक्षमा बिद्रुप मच्चाउँदा सहज प्रवेश पाइन्छ कि भनेर हिन्दू अतिवादको अस्त्र लिएर भारत सिधै नेपाली सत्तामा प्रवेश गर्ने प्रयास पनि भयो तर संभव हुन सकेन । युरोपियन युनियन र अमेरिका फ्याक्टरले लोकतन्त्रमा सत्तारोहण गरिरहेका क्रुर शासक खड्गप्रसाद ओलीलाई दुरूपयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्न नसक्ने देखेपछि नयाँ पुस्ताको यस आन्दोलनमा घुषपैठ गराएर घण्टीघरका अनुयायी, हलो र गाईको चित्रका गोठाला, हँसिया हतौडाधारी मुखुण्डो भिर्नेहरू मार्फत नेपालका अभिलेख जलाउन, इतिहास नामेट पार्न अर्थात नेपाली पहिचान नामेट गर्न एक हदसम्म सफल भएको घटनाहरूले प्रमाणित गरिसकेको अवस्था छ । यी सवै घटना आन्दोलनभित्र लुकेको छेपारे प्रवृत्तिका उदाहण हुन् ।

केही गर्दा नसुध्रने पुरातन सोच पालेका नेपाली नेता बिरूद्ध देश र जनताका लागि भनेर नयाँ पुस्ताले गरेको आन्दोलनको पहिलो दिन १९ जना युवाले शहादत प्राप्त गर्नु परो । पछिल्लो विवरण अनुसार जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । परिवर्तनका लागि भएका लडाइका घटनाक्रम हेर्दा नेपाली राजनीतिक इतिहास अध्ययन गर्ने हो भने यति ठूलो संख्यामा राज्य पक्षबाट दमनका क्रममा नागरिक मारिएको भेटिदैन । लोकतन्त्रका नाममा रहेको तानाशाही चरित्रको उदाङ्गो रूप खड्गप्रसाद ओली नेतृत्वको सरकारले छोडेर गएको छ । नागरिकले भरोसा गरेका राजनीतिक दलका नेतृत्वले नागरिकप्रति जिम्मेवार नबन्दा बिद्रोहको ज्वाला दन्कदै संगठित विद्रोहमा रूपान्तरण भएको सत्य यी नेतृत्वले बुझेनन् ।

दलीय व्यवस्थाविना लोकतन्त्रको परिकल्पना नै गर्न नसकिने सत्यलाई समेत चुनौति दिँदै नेतृत्व नै नभइ सुरू भएको जिनजी आन्दोलनले दलीय व्यस्थालाई त तहसनहस पारेको छ तर अराजकता र घुषपैठ संगसंगै लिएर आएको यस आन्दोलनले निकास पाउँदा स्वार्थ समूहले कति आतङ्क मच्चाउने हुन् ? अनुमान गर्न निकै कठिन छ । दलहरुकै उग्र विरोधमा स्वतःस्फूर्त रूपमा उठेको यो विद्रोहभित्र पर्दा पछाडिबाट तीन वटा समूहको घुषपैठ भएको घटना क्रमले प्रमाणित गरिसकेका छन् । जसको पहिलो उदाहरण रवि लामिछाने कारागारबाट स्वघोषित मुक्त हुनु, उनी जस्तै मुद्धामा थुनिएका सयौं व्यक्ति मुक्त नहुनु, राज्यका उपल्लो तहका ऐतिहासिक पहिचान समेत नरहने गरी जलाइनु, वडा स्तरदेखि संघीय संसदसम्मका निकायका सवै गतिविधि ध्वस्त पारिनुका पछाडि जिनजी आन्दोलनमाथि टेकेर सत्तामा रजाइ चलाउन चाहने नयाँ स्वरूपका छेपारे समूह आफ्ना कुनै कर्तुत बाधा नबनोस् भनेर लागेको प्रमाण हो ।

जेनजी अगुवा सुदन गुरुङ लगायत केही युवाले आन्दोलन टुग्यांउने शिलशीलामा बोल्दा संविधानको रक्षा र आवश्यक संशोधनका बारेमा राखेको विचार यहाँ स्मरणीय छ । जेनजी इतिहास चेत र राष्ट्रिय दायित्व बुझेका कर्तव्यनिष्ठ युवाहरुको जमात हो, जसलाई आगामी धेरै दशकहरुका लागि चाहिने विचारको पालनपोषण गर्नु पनि छ । यो आफैंमा आशावादी कुरा हो । यो संविधानको विरासत पनि आफैंमा धेरैवटा संघर्ष र विद्रोहको जगमा उभिएको छ । आदिवासी जनजाति, सीमान्तकृत, अल्पसंख्यक, गरिब, दलित, मधेसी, मुस्लिम, सुदुर ग्रामीण विकट क्षेत्रका बन्चित युवाहरू सबैको रगत पसिना सिंचेर आजको परिवर्तन आएको थियो । जसलाई नेपालको संविधान २०७२ ले रक्षा गर्ने संकल्प लिएको छ । जेनजी आन्दोलनको म्यान्डेट नै देशबाट भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्नु थियो । देशको पहिचान नामेट पानुृ होइन । भ्रष्टाचारमा नो कम्प्रमाइज भन्ने सरकार यस आन्दोलनको प्रमुख मुद्धा पनि हो ।

दलहरूले जेनजी आन्दोलनको मर्म अनुसार, नयाँ सरकार स्वीकार गर्नेे सन्देश पनि दिएका छन् । त्यसैले मुलुकमा उत्पन्न विषम तथा असाधरण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकांक्षा अनुसार सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त पनि गरिएको छ । नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना पनि हो । खर्बौंले नपुग्ने भौतिक संरचना क्षति भएको छ । त्यसको पुननिर्माणको काम थाल्नुपर्नेछ । जेनजी आन्दोलन उठ्नुको पछाडि बेरोजगारी एउटा प्रमुख समस्या रहेको लुकेको छैन । देशको अर्थतन्त्र लगभग सून्य अवस्थामा झरिसकेको छ । यही अवस्थामा खेलेर विदेशीहरू आफ्नो स्वार्थ नेपाली शासन सत्तामा लाद्ने दाउमा पनि छन् । जेनजीहरूले बुझ्नै पर्ने विषय पनि यही हो ।

आन्दोलनले संविधानको संरक्षण र आवश्यक संशोधन गर्नुपर्छ भनेको छ । यो मागसँग जोडिएका वर्तमानकेन्द्रित, अनि भविष्यमुखी सरोकार पनि छन् । संविधानभन्दा बाहिरबाट प्रधानमन्त्री परिकल्पना नगरिए पनि आन्दोलनले एउटा नयाँ परिस्थितितर्फ देशलाई लगेको छ । संविधानका लिखित धारा देखाएको भरमा यस नयाँ यथार्थलाई उपेक्षा गर्न मिल्दैन । इतिहासले संविधान लेखेको हो, कहिलेकाहिँ संविधानले पनि इतिहास लेख्न सघाउनुपर्छ । नत्र संविधानका धाराहरु निर्जीव अक्षरका थुप्रा मात्रै बन्न जानेछन् । यो बास्तविकता र सत्य पनि हो ।

व्यवस्थामाथि घात गर्ने कांग्रेस, एमाले र माओवादीका नेताहरूमा मात्र आन्दोलन केन्द्रित भएको देखिएन । व्यापार, व्यवसाय र उद्यम गरिरहेका सयौ रोजगारी प्रदान गर्ने निकायमाथि पनि बर्बर आक्रमण भएको देखिन्छ । स्वयम आन्दोलनमा खटिएका युवाहरू पनि बिनास देखेर आफै. आश्चर्य हुँदै घुषपैठ भएको बताइरहेका छन् । नेपाली युवाले एक दिनमै गरेको यो बलिदानीपूर्ण शहादतले उनीहरुको राष्ट्रप्रेम देखाइ दिए पनि यिनै युवाको काँधमा चढेर अपराध गर्नेहरू चोखो बन्दै सत्तारोहणको सपना पालिरहेका छन् ।

लिपुलेक र कालापानी नेपाली भूमि हो भनेर संसदमा कुरो उठ्न थालेपछि यस संसदलाई कसरी निकम्मा बनाउन सकिएला भनेर छिमेकी भारत र चीन सरकार लागिरहेको चर्चा सुरू भएको चार महिना नगुग्दै एकाएक जेनजीको आन्दोलन बिध्वंसात्मक देखिनु, भारतीय सञ्चार माध्यमले एकोहोरो नेपाल सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री तथा प्रमुख दलका नेता लक्षित देश छोडेर भाग्न लागेको खवर प्रशारण गरिरहनु, देशभरी चलेको आन्दोलनमा अधिकाम्स स्थलमा भरतीय मुलका व्यक्तिको उपस्थिति बाक्लो देखिनु सवै सुनियोजित घुषपैठ रहेकै कारण विध्वंस मच्चिएको प्रष्ट छ । सयखाले चलखेल बिरूद्ध जेनजी पुस्ता सचेत भएर लागेनन् भने जनभावना अनुकुल राज्य सत्ता चल्ने वातावरण नै बन्दैन ।

नवपुस्ता अहिलेका राजनीतिक दलका बुढा नेताहरूलाई सम्पूर्ण रूपमा अस्वीकार गर्ने अन्तिम निर्णायक उद्घोष गरेर सडकमा उत्रिएका थिए । २४ घण्टा नबित्दै मुलुकमा नेपालको राजनीतिले कायापलट गरेको छ । लोकतन्त्रको आडमा सर्वसत्तावाद लादेर तानाशाह बन्दै गएका केपी ओली युगको अन्त्य त भयो तर नेपाल र नेपालीको भविष्य सुरक्षित हुने मार्गचित्र कसैले अगाडि सारेको अवस्था छैन ।

छिमेकी दुई देश भारत र चीनले कब्जा गर्ने रणनीति बनाएर छेकीराखेको कालापानी र लिपुलेकको भविश्य के हुने ? त्यो भूमिका बारे बोल्दा अर्को बिद्रोह वा बिद्रुप हुने डरले जिनजीको मुख बन्द हुने हो कि ? बङ्गलादेश र श्रीलंकाको उदाहरण दिइने नेपाली समाजमा नेपालको नयाँ पुस्ताले गरेको यो आन्दोलन उदाहरणीय त बनेको छ । एकै पटकमा निर्णायक सफलता पाउनु विद्रोहका लागि निकै ठूलो उपलब्धी पनि हो । यस कारण आन्दोलनले देश बोकेको छ । तर, जनआक्रोस अनुकुल शान्ति र सदभाव निर्माण गर्न राजकीय सत्ता सञ्चालन हुने वातावरण बन्न सक्छ या सक्दैन ? अबको चिन्ता यही छ । छेपारे प्रबृत्ति हावी भए यो आन्दोलनको अर्थ रहँदैन ।

कोही माहाराजको अनुहार खोज्दै जेनेजी पुस्ताभित्र पसेर निरङ्कुशता लाद्ने दाउमा छन् । कोही काण्डै काण्डले धुलमिल भएका दाजूलाई चोखो पार्दै सत्ता हत्याउने प्रपञ्चमा छन् । यस्ता छेपारे प्रबृत्तिबाट जेनेजीको आन्दोलनको उपलब्धी जोगिएन भने फेरि पनि शहीदप्रति अपमान नै हुने छ ।
