भद्रपुरमा अन्तराष्ट्रिय साक्षरता दिवशको अवसरमा विविध कार्यक्रम सम्पन्न
भद्रपुर । अन्तराष्ट्रिय साक्षरता दिवश २०८२ को अवसर पारेर भद्रपुर नगरपालिकाले उत्कृष्ट विद्यार्थी सम्मान तथा सेवा निबृत्त शिक्षक कर्मचारीलाई बिदाइ गरेको छ ।

नगर शिक्षा शाखाको आयोजना तथा शिक्षा समिति भद्रपुरको संयोजनमा सम्पन्न कार्यक्रममा आधारभूत तह उत्रीर्ण परीक्षा २०८१ मा उत्कृष्ट विद्यार्थीलाई नगद १५००।— सहित प्रमाण पत्रले सम्मान गरिएको थियो भने माध्यमिक तह कक्षा १० उत्रीर्ण परीक्षा एसईई २०८१ मा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई ल्यापटप सहित सम्मान गरिएको थियो । कार्यक्रममा २०८२ साउनसम्म सेवा निबृत्त भएका नगरपालिका भित्रका १७ जना शिक्षक कर्मचारीलाई सम्मान प्रदान गर्दै बिदाइ समेत गरिएको थियो ।

नगर शिक्षा समितिका अध्यक्ष एवम नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख राधा कार्की लगायतले शुभकामना राख्दै समयानुकल शिक्षाको विकास जरूरी रहेको धारणा राखेकी थिइन् भने विभिन्न जातीय संस्कृति झल्कने नृत्य समेत विद्यार्थीहरूले प्रस्तुत गरेको कार्यक्रमको स्वागत शाखा प्रमुख पवित्रा ढकाल र सञ्चालन कर्मचारी योगेन्द्र पौडेलले गरेका थिए ।
