वैदिक सहकारीको १४ औं सभा सम्पन्न
भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा नेपाल सहकारी संघका केन्द्रीय महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान, वार्षिक प्रगतिविवरण पेश लगायत विविध गतिविधिका साथ सभा सम्पन्न गरिएको हो ।
सचिव विदुर ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष निरौलाले संस्थाको वार्षिक प्रगति विवरण पेश गर्दै २८० महिला, ३६३ पुरूष गरी ६४३ शेयर सदस्य तथा ५४ लाख ६१ हजार १०० शेयर पूँजी विवरण प्रस्तुत गर्दै नीति कार्यक्रम पेश गरेका थिए ।
उत्कृष्ट सञ्चालक सम्मानबाट कार्यसमिति सदस्य सुरेन्द्र न्यौपाने, उत्कृष्ट बचत कारोवार सम्मानबाट सतानी राजवंशी र उत्कृष्ट ऋण कारोवार सम्मानबाट सावित्री राजवंशीलाई सम्मान गरिएको कार्यक्रममा कोषध्यक्ष मञ्जु खतिवडाले वार्षिक आर्थिक गतिविधि पेश गर्दै तीन करोड ६ लाख ५८ हजार ३४४ रूपैयाको वार्षिक कारोवार तथा सञ्चालन मुनाफा ६ लाख ४ हजार ७९२ रूपैयाको वार्षिक प्रगति विवरण पेश गरेकी थिइन् ।
लेखा समिति संयोजक मुरारी न्यौपानेले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कारोवार सहकारी सञ्चालन मापदण्ड अनुकुल रहेको जानकारी गराएका थिए ।
उपाध्यक्ष डिल्लीराम अधिकारीले स्वागत गरेको कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, भद्रपुर नगर सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेल, जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य गोकुलराज न्यौपाने, चन्द्रगढी सेवा समाजका अध्यक्ष नयाँनाथ पाण्डे, दुर्गा पञ्चायन मन्दिर व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष सकुन्तला पोखरेल, मानव अधिकारका लागि महिला एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
