विगततिर फर्केर साेनाम ग्याल्जेनलाई सुने भइहाल्छ त !
नकुल काजी :-
राणाहरूकाे जहानियाँ शासनलाई अहिलेकाे तानाशाही प्रकृतिकाे शासकीय सत्तादलीय हुकुमतन्त्रले पुनरावृत्त गरिरहेकाे छ । छ्यालिस साले प्रजातन्त्र अहिले ३६ वर्षमा प्रवेश गरिरहेछ र यी यतिका वर्षहरूमा एकाध वर्षबाहेक प्रायः सम्पूर्ण वर्षहरू बूढा-पुराना तीन अघाेषित ‘राजनीतिक सामन्त’-हरूकाे पराेक्ष हक-भाेगकाे ‘प्राइभेट लिमिटेड’-रूपी हुकुमी मातहतमा ‘देश’-काे परिभाषामा पर्ने मुख्य तत्वहरू ( अन्तराष्ट्रिय सीमारेखाभित्रकाे भूमि वा भूगाेल, जनता आदि) कँजिंदै आएका छन् । र, अहिले दुई दलले त्याे ‘तानाशाही’-लाई ‘नाङ्गो स्वेच्छाचारिताकाे ऊर्जा’ समेत थपेर लादिरहेका छन् ।
२०४६ सम्मकाे शासन व्यवस्थाभन्दा राम्राे, उन्नत, प्रगतिशील, जनउत्तरदायी, जनमुखी आदि-इत्यादि व्यवस्था हुने ‘भावनात्मक साहित्य’-काे प्रतिवद्धताले नागरिकलाई सम्माेहित गरी उनीहरूकाे पवित्र र निश्छल सहभागिताकाे बलमा स्थापित ‘परिवर्तन’-काे आबरु हालका एमाले सांसद साेनाम ग्याल्जेन सेर्पाले गत असारकाे अन्त्यतिर भने जस्तै गरी ढाक्नुपर्ने अवस्था पाे छ कि अहिले ? वा कस्ताे छ ? उनले हाल सत्तारथि पार्टी एमालेकाे एउटा गत्तिलै ओैपचारिक कार्यक्रममा फुर्किंदै भनेका थिए -“….पहिला हामी सेर्पाहरू सालमा एकखेप नुहाउने गर्थ्याैं, अहिले दिनदिनै नुहाउने भएका छाैं । याे सुधार हाे कि हाेइन ? अनि देशमा सुधार भएकाेे छैन भन्ने ?”
एमाले माननीय साेनाम ग्यालजेनले साँच्चै भनेका हुन् । नपत्याए, २०४६ साल चैत २७ गते राेपेका सखुवाका विरुवाहरू, नमरी बाँचे जति, अहिले नाम्ले रुख भइसकेका छन् । त्यसै दिन वा त्यसै हप्ता वा त्यसका हाराहारी जन्मिएका शिशुहरू आज ३५/३६ वर्षका भइसकेका छन् र कतिपय त हजुरबा-हजुरआमा पनि भइसकेका हाेलान् । त्यसबेलाका गाेठाला-खेतलाका शाखा-सन्तानमध्ये झन्नै अधिकांश अहिले, उसबेलाका साहू-महाजनकाे दर्जामा वा त्यसभन्दा पनि माथिका, रइस-बडाद्मी बनिसकेका हाेलान् ! अथवा, ३५/३६ वर्ष अघिका अधिकांश ‘रामे’-हरू आज ‘रामबाबु’ बनिसकेका हाेलान्, ‘हर्के-हरू ‘हर्कमान’ भइसकेका हाेलान्, कतिपय ‘गरिबदास’-हरू आज ‘कुबेरप्रसाद’ बनिसकेका हाेलान् !… हाेइन त ? आदि-इत्यादि ! त्यसाे भए प्रजातन्त्र, लाेकतन्त्र हुँदै आज गणतन्त्रमा आइपुग्दासम्म भएका यतिका ‘परिवर्तन’ के हुन् त ? २०४९ सालसम्म सुकुमवासीमा बाकाइदा सूचिकृत व्यक्ति आज देशकै तिजाेरी चलाउने ताला-चाबीकाे जिम्मेवार बनेर विशाल महलमा लखनवी-नवाबी जीवन उग्राउँदाे छ ।
२०२८ साल अघिसम्म झापा घैलाडुबाकाे दाहाल मिलकाे हल्कारा ठिटाे आज ‘देशकै एकाधिपति हूँ’ भने झैं मातिएर सिँगाैरी खेल्ने भएकाे छ । र, बीचमा हत्याराकाे संगतमा बगालिएर ‘निर्दाेष मान्छे’ काट्ने क्रममा पक्रा परी जेल बसेकाे १४ वर्षलाई राजनीतिक संघर्षका वर्षहरूकाे माेठमा जाेडाउँदाे छ र ‘संघर्ष’-काे खातामा हिसाब दर्ज गराउँदाे छ । के यी सबै एमाले सांसद साेनाम ग्याल्जेनले भने झैं प्रजातन्त्र, लाेकतन्त्र, गणतन्त्रका उम्दा परावर्तन वा प्रतिबिम्बहरू (reflections) हाेइनन् त ? त्यसाे भए अहिले सरकार बाहिर रहेका पार्टीका अगुवाहरू हावामा सरकारकाे विराेध गरेर ‘नेता’ हुँदै त छैनन् ? यसरी पनि कुराे नबुझी नहुने दिन पनि आउँदै हाेला कि ! उहिले राणाकालमा रैती-रैतान मानिने नागरिकले ‘बाङ्गाे रुख’-लाई ‘अहा !, कति साेझाे रुख !’ नभने गर्धनले तुरन्तकाे तु दुःख पाउँथ्याे, अरे ।
खाेइ, इतिहास त्यसै भन्छ !…. पछि राजा नेतृत्वकाे पञ्चायतकालमा देशकाे सेराेफेराेका भालुभुत्ते, कालकाँधे, रिट्ठे , कैटे, कौडे, कन्दने, हरिपुङ्ताम, हरिलठ्ठक, डेढअक्कली, ढेउडा इत्यादि वर्गकाहरू पनि ‘पञ्च’-मा उल्था भएपछि “हामेरका सिरि पान्सर्खारले बक्स्या पञ्चेती ब्याबस्तामा बिस्साेकै उत्किस्ठ पर्जातन्त्र छ” भन्दै बुर्कुसी मारिडिंड्थे । एमाले सांसद साेनाम ग्याल्जेनले पनि अहिलेकाे शासकीय चलखेललाई झन्नै त्यति नै जति र त्यही पाराले न सराहना गरे भने विचराकाे बाेधशक्ति, अनुभूति र अभिव्यक्तिकाे क्षमता हेरेरै त एमालेले सांसद बनाएकाे हाेला भन्ठान्न किन अक्मकाउनु ? भनेपछि, किन उनकाे बुझाइलाई पछ्याई-पछ्याई गिज्याउँदै पखालिरहने हँ ?!?
