राजनीतिसम्पादकीय

महावीर पुनबाट धेरै कुरा सिक्न सकिन्छ

शरीरमा बल भएका युवा युवती विदेश खेदेपछि राजनीतिका नाममा जे जे गरे पनि कुनै प्रतिवाद नहुने ठानेर हुन सक्छ नेपालमा बसेर केही हुँदैन भन्ने भाष्य स्थापित गर्दै युवा पुस्तालाई विदेश लखेटिने गरिएको छ । राजनीतिक नेतृत्वमा नैतिकता, सदाचारिता र इमानको खडेरी पर्दै गइरहेको वर्तमान समयमा जसले बढी देश, समाज र व्यवस्थाप्रति नकारात्मक भावना फैलाउन सक्छ, ऊ सर्वमान्य ठाउँ पाउने वा भगवान कै स्थान पाउने संभावना पनि जीवित छ । नकारात्म अवस्था र निराशाको खेती गरेर सत्ता र शक्ति हत्याउन चाहनेहरूले नेपाल भित्रकै सत्यबाट सन्सारले चिनिरहेको वा सिकिरहेको ज्ञान र सिप किन देखिरहेका छैनन् ? यहाँको प्रचुर संभावनालाई के कारण नजरअन्दाज गरिदैछ ? एक चोटी सन्दुक रूइत र माहावीर पुनको एक्लो प्रयासलाई मात्र बुझ्ने हो भने नेपालमा बसेर धेरै थोक गर्न सकिन्छ । यहाँबाट सन्सारलाई धेरै चिज दिन पनि सकिन्छ भनेर भन्न सकिनेछ । यस सत्यलाई धेरैले बुझेकै छैनन् । बुझेकाहरू बुझपचाइ रहेका छन् ।

पश्चिम नेपालको दुर्गम गाउँमा जन्मेका पुनले राम्रो शिक्षा लिनका लागि ठूलो संघर्ष गर्नुप¥यो । उनले आफ्नो गाउँमा राम्रो शिक्षाको वातावरण नपाएपछि त्यस अवस्थालाई हटाउने संकल्प पालेर सात समुन्द्रपारि रहेको सम्युक्त राज्य अमेरिका पुगेर उच्च शिक्षा हासिल गरेका थिए । उनले अमेरिकामा उच्च शिक्षा हासिल गरेपछि त्यहा अवसर र रोजगारीको लोभमा परेर बसेनन् । उनी नेपालको उन्नति गर्ने संकल्प बोकेर नेपालतिरै फर्किए । उनको ध्येय समाजको उन्नति रहेकै कारण प्रविधिको विकास मार्फत समाज सेवा गर्ने निधो गरेर ग्रामीण जीवनशैली उन्नत पार्न खोलामा बगेर खेर गइरहेको पानी जम्मा गरेर सानासाना जल विद्युत आयोजनाको अभियान थाले । पेल्ट्री सेट मार्फत चल्ने त्यस्ता आयोजनाले पहाडी गाउँ बस्तीमा विद्युतीकरणमा ठूलो उपलब्धी दिलायो ।

त्यस्तै उनले ग्रामीण क्षेत्रमा इन्टरनेट जोड्ने क्रान्तिकारी काम शुरु गरे । उनले ’नेपाल वायरलेस नेटवर्किङ परियोजना’ मार्फत दुर्गम गाउँहरूलाई इन्टरनेटको माध्यमबाट जोड्ने अभियान सञ्चालन गरेपछि इन्टरनेटको दुनियामा उल्लेख्य क्रान्ति भित्रिन गयो । यो काम निकै चुनौतिपूर्ण थियो, तर उनको लगनशील आचरणसित दृढविश्वासले असम्भव भनेर आलोचना भइरहेको काम सम्भव बन्न गयो । उनको यही कामले उनलाई सन् २००७ मा ’एसियाको नोबेल पुरस्कार’ उपनामले परिचित रेमन म्यागसेसे पुरस्कार जस्तो प्रतिष्ठित पुरस्कार दिलायो । यो नेपाल देशका लागि उच्च सम्मान पनि थियो । पुनले रेमन म्यागसेसे पुरस्कारबाट प्राप्त रकम र अन्य स्रोतहरूलाई उनले आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग नगरी राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका थिए । यस केन्द्रको उद्देश्य नेपालका युवा वैज्ञानिक, उद्यमी र आविष्कारकहरूलाई सहयोग गर्नु थियो ।

उनको यस कार्यले समाजसेवी भाव अझ बलियो बन्न गयो । यसबाट उनले देशको विकासका लागि आफ्नो समर्पण र देशप्रेमको गहिरो प्रभाव समेत छोडेका छन् । उनको देशप्रतिको प्रेमले आज धेरै नेपालीलाई प्रेरणा दिएको छ भनिरहँदा युवाहरूको लामो लस्कर आफ्नो जन्मभूमि त्यागेर विदेश भासिन गइरहेको दृष्यले गिज्याइरहे जस्तो अनुभव हुन्छ । अर्काको देशमा दास भएर बाँच्न तयार हुने तर आफ्नो देशमा इमान र लगनशील बन्दै मालिक हुन नचाहनेहरू नै नेपालमा बसेर केही हुँदैन भनिरहेका छन् । एउटा सामान्य व्यक्तिको प्रयासले आविष्कार केन्द्र मार्फत हजारौं व्यक्तिले आफ्नो ज्ञान र अनुभव सार्वजनिक गर्न पाइरहेका छन् । नेपाली उत्पादन केही भएन भनिरहँदा विरगञ्जमा बन्द रहेको कृषि औजार कारखना सञ्चालनमा आएर विभिन्न कृषि औजारहरूले नेपाली वजारमा प्रभाव छोडिरहेको अवस्था छ । यस सत्यलाई विदेश भासिएर गाली गर्नेहरूले बुझेका छन् कि छैनन् ? एकचोटी महावीर पुनबाट सिक्ने हो भने विदेशीको दास नभए पनि बाँच्न सकिने ज्ञान प्राप्त हुने छ ।