भद्रपुरको प्रादेशिक अस्पतालले नयाँ भवनबाट अन्तरङ्ग सेवा विस्तार गर्दै
भद्रपुर । भद्रपुरस्थित प्रादेशिक अस्पतालले अब नयाँ भवनबाटै अन्तरङ्ग सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। ओपिडी सेवा झन्डै एक वर्षअघि नयाँ भवनबाट सुरु गरिएको अस्पतालले अब इमरजेन्सी, शल्यक्रिया, आइसियु, प्रसूति तथा स्त्रीरोग सेवा पनि यही भवनबाट सञ्चालनमा ल्याउने भएको हो।
यसै सन्दर्भमा बिहीबार अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताको अगुवाइमा शुभसाइत गरी सत्यनारायणको पूजाआजा सम्पन्न गरिएको छ। पूजामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष विश्वराज बराललगायतको उपस्थिति थियो।
डा. गुप्ताका अनुसार आउँदो साउन ३० गतेदेखि नयाँ भवनबाट औपचारिक रूपमा अन्तरङ्ग सेवा सञ्चालन हुनेछ। “कोठाहरू व्यवस्थापन भइरहेका छन्, उपकरणहरू जडानको काम तीव्र छ,” उनले जानकारी दिए, “१५ दिनभित्र सबै सेवा नयाँ भवनमै सर्नेछन्।”
अस्पतालले थप रूपमा पीडियाट्रिक वार्ड, फार्मेसी तथा नवजात शिशुका लागि एनआइसीयू सेवा पनि छिट्टै सुरु गर्ने तयारी गरेको छ।
करिब २२ करोड ६१ लाख रुपैयाँ लागतमा निर्माण गरिएको ५० बेड क्षमताको उक्त भवनमा हाल ११० बेड सञ्चालन भइरहेको सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए। माथिल्लो तला सम्पन्न गर्नका लागि आवश्यक बजेटसमेत स्वीकृत भइसकेको उनले बताए। साथै, इको र इन्डोस्कोपी सेवाका लागि आवश्यक कोठा व्यवस्थापनसमेत सकिएको पोखरेलले जनाए।


