भद्रपुरमा नाग पञ्चमीदेखि सदाझै लाखे: नृत्य सुरु

भद्रपुर । नेवार समुदायको मौलिक सांस्कृतिक सम्पदा संरक्षण गर्ने उद्देश्यले नेवा: समाज कल्याण गुठी भद्रपुरले नाग पञ्चमीको अवसरमा सदाझै लाखे: नृत्य सुरु गरेको छ। नृत्यको विधिवत् शुभारम्भ चन्द्रगढी बजारस्थित कालि मन्दिरमा पूजापाठ गरी गरिएको हो।

शुभारम्भको दिन कालि मन्दिरबाट लेखनाथ चोक हुँदै भैरव चोकसम्म लाखे: नृत्य प्रस्तुत गरिएको थियो। यो परम्परागत नाचले शुभ शक्तिको आवाहन गर्दै समुदायमा समृद्धि, सुरक्षा र एकता फैलाउने विश्वास लिइन्छ।

गुठीका अध्यक्ष नारायण श्रेष्ठका अनुसार लाखे: नृत्य ठाउँ अनुसार भिन्न भए पनि भद्रपुरमा यो नाच नाग पञ्चमीदेखि कृष्ण अष्टमीको भोलिपल्टसम्म सञ्चालन हुन्छ। समापनका दिन श्रीकृष्णको रथ यात्रा पश्चात श्रीकृष्णद्वारा लाखे:को वध गरिने परम्परा रहेको उनले जानकारी दिए।

श्रेष्ठले आगामी साउन १४ गतेदेखि लाखे: नाच भद्रपुर नगरभित्रका नेवार समुदायका प्रत्येक घरमा लैजाने जानकारी दिएका छन्। साथै, यदि नेवार समुदायबाहिरका घरहरूबाट अग्रिम जानकारी दिइयो भने त्यहाँ पनि लाखे: नृत्य लैजान सकिने स्पष्ट गरिएको छ।

अध्यक्ष श्रेष्ठले पछिल्लो समय नेवार संस्कृतिमाथि केही व्यवसायीक रूपले असर पार्ने खालका लाखेहरू निस्किन थालेको जनाउँदै समुदायलाई त्यस्ता विकृत रूपमा प्रस्तुत गरिएका लाखे: नाचबाट सतर्क रहनु आग्रह गरे। “हाम्रो संस्कृति व्यवसायिक प्रयोगको माध्यम होइन,” उनले भने, “परम्परागत विधि र मूल मर्म अनुसार नाच्नुपर्छ।”

श्रेष्ठका अनुसार लाखे: नृत्य केवल मनोरञ्जनको माध्यम नभई नेवार समुदायको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग गाँसिएको सम्पदा हो, जसको संरक्षण र सही रूपमा प्रवाह गर्नुपर्ने समय आएको छ।