भद्रपुरको समृद्धिले लय लिनै पर्छ

नेपालकै ऐतिहासिक पहिचान पाएको भद्रपुर नगरपालिकालाई समृद्ध बनाउने योजना सफल हुन सकेको छैन । यस नगरलाई समृद्ध बनाएरै छाड्ने अठोट लिएका जनप्रतिनिधिहरूले नगरमा कृषि, पर्यटन र उद्योगको विकास अपरिहार्य छ भन्ने बुझ्नु पर्छ ।

कृषिका लागि साविकका पृथ्वीनगर, महेशपुर र चन्द्रगढी उर्वर भूमि हुन् । पर्यटनका लागि किच्चक बध, कमलधाप, चन्द्रगढ महत्वपूर्ण गन्तव्य स्थल बन्न सक्छन् । औद्योगीकरणका लागि चिया, चामल, प्लाइउड उद्योग यस नगरका प्रमुख उत्पादनका क्षेत्र हुन् । यी तीन क्षेत्रको विकास, विस्तार र संरक्षण गर्न सके मात्र नगरले समृद्धिको बाटो पाउने छ ।

नगरको विकासका लागि जनप्रतिनिधिहरू अलमल परेका हुन् कि भन्ने नगरबासी भित्र आशंका पसेको छ । विगतमा नेतृत्व लिएकादेखि वर्तमानमा नेतृत्व गरिरहेका जनप्रतिनिधिहरूले जनअपेक्षा अनुरूप काम गर्न नसकेको अवस्थाले अहिलेसम्म समृद्धिको स्थायी गतिमा भद्रपुर हिड्न सकिरहेको छैन । सामान्य नगरिक पनि नगरपालिकाले आफ्नो सवलताका बाटाहरूमा चासो नदिएकोले गुनासो पालिरहेका छन् ।

झापा जिल्लाको सदरमुकाम समेत रहेको पूर्वी दक्षिणी क्षेत्र भद्रपुर नगर आफैंमा उर्वर भूमि हो । यस नगरमा रहेको पूर्वको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल किच्चकबध पहिचान सहित पर्यटकीय क्षेत्र बन्न सकेको छैन । धार्मिक एकताको प्रतिक कमलधाप छाँयामा परिरहेको छ । ऐतिहासिक स्थल चन्द्रगढ परिचय नपाइ छाँयामा हराइ रहेको छ ।

यी तीन वटा क्षेत्रको पहिचान झल्कने विकास मात्र गर्ने हो भने नगरमा लाखौं पर्यटक भित्रने छन् । विगतमा नगरको विकासमा केही भएन भनेर नयाँ जनमतका साथ नयाँ अनुहार रोजेका नगरबासीले अहिले पनि केही परिवर्तन नहुने रहेछ भनेर निराश बन्नु पर्यो भने विडम्वना हुने छ । किच्चक बध परिसरमा रहेको सिमसार क्षेत्रमा वर्षौं अगाडिसम्म सञ्चालनमा रहेका चारवटा डुङ्गा बन्द भएको वर्षौं भयो । ती डुङ्गा नगरपालिकामा पृथ्वीनगर र महेशपुर गाविस गाभिएपछि बेवास्तामा पर्दा प्रोगबिहीन भएका थिए । तत्कालिन जिल्ला विकास समिति झापाले ५ लाख र पर्यटन मन्त्रालयबाट ६ लाख प्राप्त रकमले डुङ्गा सञ्चालन गर्न पोखरी खनिएको भए पनि अहिले सिमसार भित्रको सो पोखरी झारले ढाकिएको अवस्थामा छ ।

उत्तर पूर्वमा देउनिया खोलाले घेरेको सिमसार क्षेत्रको पोखरी खोला कटानको चपेटामा पर्दा पानी विहिन बन्दै गएको अवस्था छ । जातीय विविधता र धार्मिक एकताको प्रतिकका रूपमा रहेको कमलधापले पनि उचित पहिचान नपाउँदा गाइ बाख्राको चरण स्थल बन्दै गइरहेको छ । मठ, मन्दिर, गुम्बाले सजिएको यो क्षेत्रको संरक्षण गर्दै प्रचार प्रशार गरी पहिचान दिलाउन नसकिदा छाँयामा परेको प्रष्ट छ । मौवा कालिन राज्यको इतिहास बोकेको चन्द्रगढको पहिचान त झन कता हरायो ? भन्ने अवस्थामा छ । यतातिर नगर प्रशासनको नजर नपरेको अनुभूति नगरबासीमा छ ।

कृषि विकासको कुरा गर्दा अनुदान छर्ने प्रवृत्तिलाई उपलब्धी मान्ने कागजी अभियान पहिलो बाधक हो । कृषि कर्मका मानिस होइन आफ्ना आसेपासे अनुदानका हकदार बन्ने प्रवृत्तिले कृषि पछाडि परिरहेको छ । आफैंले लगानी गरेर उत्पादन गर्ने कृषकहरू आफ्ना उत्पादनले मूल्य नपाउँदा पेशा परिवर्तन गर्न बाध्य छन् भन्ने नगर प्रशासनले बुझ्न सकिरहेको छैन । उत्पादनले सहज वजार पाउने वातावरण मात्र नगरले बनाइ दिने हो भने कृषिमा नगर निर्यातमुखी बन्न सक्छ ।

चियाको पकेट क्षेत्र भित्र पर्ने यस नगरले किशान, मजदुर र उद्योगी बीच मिलन बिन्दु खोजिदिएर आद्योगीकरणको वातावरण बनाउन सकिरहेको छैन । धान, प्लाइउड जस्ता उद्योगले पनि गतिलिएर काम गर्न सकिरहेका छैनन् । तल्लो तहको पहिलो सरकार नगर प्रशासनको ध्यान यी तीन पक्षको विकासमा गए समृद्धि सपनाको कुरा नभएर विपनाको आधार बन्न सक्छ । विगतमा जे भए पनि अब भद्रपुरको समृद्धिले लय लिनै पर्छ ।