देशभरको मौसमी अपडेट: कहाँ भइरहेको छ वर्षा, कहाँ पर्न सक्छ दिउँसो?
झापा । हाल देशमा सक्रिय मनसुन प्रणालीको प्रभावसँगै देशका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्यूनचापीय रेखा अहिले पश्चिमी नेपालतर्फ सरदर स्थानमा र पूर्वी भूभागतर्फ सामान्यभन्दा केही दक्षिणमा अवस्थित रहेको जनाइएको छ। यसको प्रभावले गर्दा मधेश, बागमती तथा अन्य पहाडी भूभागहरूमा सामान्य बदलीको अवस्था देखिएको छ भने बाँकी भागमा मौसम प्रायः सफा रहेको छ।
हाल बागमती प्रदेशका केही स्थान, कोशी प्रदेशका थोरै र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको मौसम पूर्वानुमान अनुसार: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश तथा अन्य पहाडी क्षेत्रहरूमा केहि स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा भने भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ।
रातिको पूर्वानुमान अनुसार: कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, साथै अन्य पहाडी भेगहरूमा समेत हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा पनि हुनसक्ने महाशाखाको भनाइ छ।
त्यसैगरी, देशका उच्च पहाडी र हिमाली भू-भागहरूमा थोरै स्थानमा हिमपातसहितको वर्षाको सम्भावना समेत रहेको बताइएको छ।
