खेलकुदस्थानीय

भद्रपुरमा ‘कोरा साइक्लिङ च्यालेन्ज’ सम्पन्न

सन्दर्भ समचारदाता

भद्रपुर । झापा सदरमुकाम भद्रपुरमा पहिलो पटक ‘कोरा साइक्लिङ च्यालेन्ज’ सम्पन्न भएको छ । नेपालमा मनाइने ‘कोरा साइक्लिङ च्यालेन्ज’ २०२५ को १५औं संस्करण अन्तरगत भद्रपुरमा पहिलो पटक मनाइएको हो ।

भद्रपुर साइकल समाज झापाको आयोजनामा प्रथम संस्करणको ‘कोरा साइक्लिङ च्यालेन्ज’ गरिएको साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले बताए ।

भद्रपुर नगरको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरूलाई समेट्दै गरिएको साइकल आध्यात्मिक यात्राले भद्रपुरको पर्यटकीय सम्भावना र स्वास्थ्यप्रतिको चेतना अभिवृद्धिमा सहयोग पुग्ने अध्यक्ष श्रेष्ठको भनाई छ । ‘यो आध्यात्मिक यात्रा हो, तीर्थस्थल दाहिने पारेर एक फन्को मार्नु कोरा हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘यो कुनै रेस वा ¥याली होइन, यहाँ सबैले जित्ने, सवैका लागि रमाइलो र स्वस्थ समाजका लागि पर्यावरण मैत्री उत्सव हो, यो कोरा च्यालेन्ज हो ।’ साइकल यात्रामा १२५ बढी सहभागी भएको आयोजककको भनाइ छ ।

भद्रपुर नगरपालिकालगायत विभिन्न सङ्घसंस्थाको सहकार्यमा धार्मिक र पर्यटकीय स्थलहरूको परिक्रममा पछि समापन भएको कार्यक्रममा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहको उपस्थिति रहेको थियो । अग्रज साइकल राइडरलाई सम्मान समेत गरिएको जनाइएको छ । साइकल राइड महेन्द्र उद्यान चन्द्रगढीबाट सुरु भई भद्रपुर– १० स्थित काली मन्दिर र दुर्गा पाञ्चायन मन्दिर, भद्रपुर–९ स्थित (केदारेश्वर शिव मन्दिर– लक्ष्मीचोक–देवकोटाचोक भट्टराईको मन्दिर) भद्रपुर–८ स्थित स्वर्णमार्ग (मेची क्याम्पस भद्रशिवा मन्दिर विलिभर्स चर्च दाहिने पारेर गणेश मन्दिर) भद्रपुर–५ स्थित वडा कार्यालय पूर्वबाट (मेची नदी रिभर साइड हुँदै भद्रपुर बजारबाट भद्रपुर भन्सार अगाडी) नयाँ बजार हुँदै भद्रपुर–४ स्थित तारा नगर दुर्गा मन्दिर, आँपगाछी प्रहरी चौकी, भद्रपुर ३ वडा कार्यालय छेउ हुँदै (किचकबध –सुर्यनगर–चारआली–सोमबारेचोक) भद्रपुर १ वडा कार्यालय परिसरको शिव मन्दिर हुँदै कमलधाप धार्मिक स्थल बिचबाट आमाचोक गौरीशंकर वस्ती हुँदै देउनिया पुल ज्ञानेचोकबाट पश्चिम मायालु सामुदायिक वन, रबर खेती हुँदै रंगेडाडा, मन्त्रीचोक, गार्मेण्टचोकबाट वीरेन्द्र मावि छेउबाट मेची रङ्गशालामा पुगी समापन गरिएको थियो । तस्विर : बेनाम सुब्बा