सिञ्चाइको अभावले झापामा धान रोपाई प्रभावित
भद्रपुर । हरेक वर्ष ६० प्रतिशत रोपाई सकिने समयमा यस वर्ष २५ प्रतिशत पनि रोपाई हुन नसक्दा झापाली किसान चिन्तित भएका छन् ।
आकाशे भरमा खेती गर्ने कृषि क्षेत्र अधिक रहेको झापामा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको हो ।
असारको अन्तिम साता बितिसक्दा पनि पर्याप्त वर्षाद नभएपछि आकाशे भरको धान रोपाइँ प्रभावित हुँदा कृषक चिन्ता पाल्न बाध्य भएका हुन् ।
झापाको अधिकांश स्थानमा परम्परागत शैलीमै कृषि पेशा अपनाइरहहेका कारण सिञ्चाईका लागि कुलो र बोरिङको व्यवस्था नहुँदा धान खेती गर्ने किसानहरु वषौंयता आकाशको पानीमा निर्भर छन् ।
धान उत्पादनका लागि उर्वरभूमि मानिएको झापामा सिँचाइको अभावले पर्याप्त रोपाई हुन नसकेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
केन्द्रका प्रमुख सागर विष्टले हालसम्म जिल्लामा करिव २५ प्रतिशत हाराहारीमा रोपाई भएको बताए । उनका अनुसार धान खेतीका लागि पुग्ने गरी वर्षा नभएका कारण किसानले पर्याप्त रोपाई गर्न पाएका छैनन् । जति रोपाई भएको छ, ती सबै कुलो र भूमिगत सिंचाईबाट मात्र भइरहेको छ ।
कोशी प्रदेशमा जेठ १५ गते नै मनसुन भित्रिएको भनिएको थियो । मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र अधिकाम्स खोला नदीमा बाढी पनि आयो तर, त्यसयता भने खेतमा रोपाई हुनेगरी वर्षाद भएको छैन ।
झापामा खेतीयोग्य जमिन ९८ हजार ७१६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ५५९ दशमलव १८ हेक्टरमा धान खेती हुने गरेको ज्ञान केन्द्र झापाका प्रमुख बिष्टको भनाइ छ । छिटो पाक्ने अगुवा धान असारभित्रै रोपिसक्नु पर्ने भए पनि पानी अभावले रोप्न नसकिएका खेतहरूमा राखिएका ब्याडका बिऊ समेत काम लाग्न नसक्ने अवस्थामा पुगेको किसानहरू बताउँछन् ।
जिल्लामा नियमित सिञ्चाईंका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोला लगायतका सिंचाई आयोजना सञ्चालनमा छन् । कचनकबल, कनकाई, कमल, गौरादह, मेचीनगर, बिर्तामोड, बाह्रदशी लगायतका पालिकाको केही जमीनमा भूमिगत सिञ्चाइको व्यवस्था भए पनि बाँकी अधिकांश जमीनका धान खेतीका लागि परम्परादेखि नै आकाशे पानीको निर्भरता हटेको छैन ।
रोपाइँ नहुँदा बीउ पहेँलिएको छ । कृषि ज्ञान केन्द्रका प्रसार अधिकृत चेतराज भण्डारीले पर्याप्त वर्षा नभएपछि पानी तान्ने मोटर किसानले प्रयोग गर्न थालेकाले रोपाइँ गर्ने क्रम बढ्ने विश्वास व्यक्त गरे ।
झापामा गत वर्ष झैँ यस वर्ष पनि मलको अभाव भने निरन्तर रहिरहेकोे छ । कृषकले मल नपाएको गुनासो गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले स्वीकार गर्छन् । झापामा बर्खे धान खेतीका लागि डिपीए १२ हजार मेट्रिक टन र युरिया १४ हजार मेट्रिक टन आवश्यक पर्ने भए पनि सो परिणाममाा मल आपूर्ति हुन नसकेपछि मल अभाव भएको हो ।
गत वर्ष माग भएको अनुपातमा १० प्रतिशत मात्र मल आपूर्ति भएको कृषि ज्ञान केन्द्र झापाको विवरणले देखाउँछ । अधिकाम्स कृषकले भारतीय बजारबाट अबैध बाटो हुँदै भित्रिएको रासायनिक मल प्रयोग गर्नु परेको थियो ।
झापामा धानको उत्पादकत्व भने हरेक वर्ष बढ्दै गएको देखिन्छ । जिल्लामा आर्थिक वर्ष २०७८÷०७९ मा धानको उत्पादकत्व चार दशमलव ८५, आव २०७९÷०८० मा चार दशमलव ८९ र गत आवमा ५ दशमलव ०५ पुगेको ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा धान खेतीको क्षेत्रफल ८७ हजार पाँच सय हेक्टरबाट घटेर ७५ हजार चार सय ६९ हेक्टरमा झरे पनि उत्पादकत्व भने वृद्धि भइरहेको विवरणले आत्मनिर्भरता बढ्दै गएको देखिन्छ ।
झापामा सबैभन्दा धेरै गौरादह नगरपालिकामा धान खेती हुने गरेको छ भने सबैभन्दा कम दमक नगरपालिकामा हुने गरेको देखिन्छ । धान उत्पादनमा गौरीगञ्ज र कचनकवल पनि उल्लेख्य योगदान दिने पालिकामा पर्दछन् ।
