गोजा टोलको पहलमा हडिया खोला किनारमा वृक्षारोपण
भद्रपुर । भद्रपुर ९ घोडामारा स्थित गोजा टोल विकास संस्थाको पहलमा हडिया खोलाको उकास क्षेत्रमा एक हजार विरूवा रोपिएको छ ।
भद्रपुर ९ नम्वर वडा कार्यालय तथा भद्रपुर जेसीजसितको सहकार्यमा ६ विगाह क्षेत्रफमा रहेको ऐलानी जग्गामा खोला कटान रोक्दै पर्यावरणको सुरक्षाका लागि टोल विकास संस्थाले वृक्षारोपण गरेको हो ।
टोल विकास संस्थाका अध्यक्ष तनामन राजवंशीको अध्यक्षता तथा भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस भद्रपुर ९ का सभापति चेतनाथ भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी भद्रपुर ९ का सभापति युवराज ढकाल, बाल संस्कार कक्षा सञ्चालक समिति कोशीका सदस्य ईश्वर पोखरेलले मन्तव्य राख्दै चन्द्रगढी धुलावारी सडकको सिमानामा रहेको हडिया खोलाको उकास क्षेत्रमा रोपिएका विभिन्न जातका फल तथा फूलका बिरूवा सवै मिलेर संरक्षण गर्न जुट्नु पर्ने धारणा राखेका थिए ।
टोल विकास संस्थाका सचिव राजुसिंह कोइरीले वृक्षारोपणको औचित्यमाथि प्रकाश पार्दै राज्यको संरक्षणमा हुनु पर्ने ऐलानी जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गर्ने प्रयास थालेपछि टोल विकासको पहलमा विभिन्न फल दिने बिरूवा तथा फूल फुल्ने रूखहरू रोपिएको जानकारी दिए । उनले आकर्षक पार्क समेत निर्माण गरी भविष्यमा उत्कृष्ट वनभोज स्थल निर्माण गर्ने लक्ष्य रहेको समेत जानकारी दिए ।