उत्तरी झापामा हात्ती आतंकबढेपछि सेना गुहारियो
झापा । भारतीय क्षेत्रबाट नेपाल प्रवेश गरेका जंगली हात्तीले पछिल्लो समय बाहुनडाँगीमा जनधनको क्षति गर्न थालेपछि नेपाली सेनालाई गुहारिएको छ ।
हुलका हुल आएका हात्तीले दैनिक धनजनको क्षति तीव्र बनाउँदै गएपछि स्थानीय पीडित नागरिकले नगरपालिकामा नियन्त्रणको माग गर्दै हारगुहार गरेपछि सरोकारवाला निकायसँग बसेको बैठकले नेपाली सेनालाई सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको हो ।
मेची नगर प्रमुखको कार्यकक्षमा जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा बसेको बैठकले निरन्तर हात्तीले आएर क्षति गर्न थालेको ठहर गर्दै अरिदमन गण चारआली मार्फत सेनालाई सहयोग गर्न अनुरोधसहित विभिन्न निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको छलफलमा कोशी प्रदेशका सांसद गोपाल तामाङ, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, अरिदमन गण चारआलीका गणपति प्राजु वस्न्यात, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बू, सशस्त्र प्रहरी वल नेपाल २ नं.हेडक्वार्टरका गणपति तुलबहादुर भण्डारी, डिभिजन वन कार्यालय झापा प्रमुख भरतबाबु श्रेष्ठ, एनटीएनसी कोशीका प्रमुख वीरेन्द्र गौतम, मेचीनगर–१ का वडाध्यक्ष रामकुमार राई, २ का वडाध्यक्ष दिपक बराल, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षक मञ्चका कार्यबाहक अध्यक्ष राजकुमार घिमिरे, पूर्व अध्यक्ष हरिप्रसाद उप्रेतीलगायतले हात्तीका समस्या, उपाय र समाधानका बारेमा छलफल गरेका थिए ।
छलफलमा अरिदमन गण चारआलीका गणपति वस्न्यातले निकुञ्जमा हात्ती धपाउन समस्या नरहेको बताए । उनले बाहुनडाँगी तथा झापा निकुञ्ज क्षेत्र नभएकोले के गर्न सकिन्छ भनेर उपल्लो तहमा कुरा गर्ने बताए ।
छलफलका क्रममा निम्नानुसार निर्णय समेत गरिएको छ ।
(१) हात्तीलाई धपाउने क्रममा स्थानीयबाट होहल्ला गर्दा हात्ती उत्तेजित भइ झन् धेरै क्षति गर्ने भएकाले हात्ती मानव द्वन्द्व कम गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, डिभिजन वन कार्यालय झापा, स्थानीय जानकार व्यक्तिहरुको संलग्नतामा हाती मानव द्वन्द्व न्यूनीकरण गर्न पहल गर्ने , तत्काल आवश्यक पर्ने इन्धन, टर्चलाइट लगायतका अत्यावश्यक सामग्री डिभिजन वन कार्यालय झापाले उपलब्ध गराउने र नपुग भएमा मेचीनगर नगरपालिकाले सहयोग गर्ने ।
(२) दीर्घकालीन रुपमा समस्या समाधानका लागि फेन्सिङ बत्ती प्रवन्ध, सडक मर्मत, तटबन्ध र जनचेतना जगाउन जरुरी हुने भएकाले फेन्सिङका लागि के कति बजेट आवश्यक हुन्छ ? डिभिजन वन कार्यालयले मेचीनगर नगरपालिका र मानव हात्ती द्वन्द्व ब्यबस्थापन तथा वातावरण संरक्षण मञ्च समेतसंग समन्वय गरी लागत अनुमान तयार गर्ने र स्रोतका लागि डिभिजन वन कार्यालयले प्राथमिकतामा राखी आवश्यक कार्य गर्ने , नपुग बजेटका लागि मेचीनगर नगरपालिका लगायतका निकायसंग समन्वय गर्ने , साथै एनटिएनसीले समेत उक्त विषयलाई गम्भीरतापूर्वक लिई फेन्सिङ र जनचेतनामुलक कार्यक्रमका लागि बजेट प्रवन्ध गर्ने ।
(३) ठुलो मात्रामा हात्ती आइरहने क्रम रहिरहेमा नेपाली सेनाले गर्न सक्ने सहयोगको बारेमा अरिदमन गणका गणपतिलाई आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गर्ने ।
(४) ठाउँ–ठाउँमा तटबन्ध निर्माणबाट पनि हाती प्रवेशमा न्यूनीकरण गर्न मद्धत पुग्ने भएकाले जनताको तटबन्ध कार्यालयलाई तटबन्धको लागि जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने ।
(५) दीर्घकालीन समस्या समाधानका लागि आवश्यक बजेट प्रवन्ध गरिदिन वन तथा वातावरण मन्त्रालय तथा कोशी प्रदेश सरकारलाई नगरपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत अनुरोध गर्ने , यस कार्यका लागि सम्बन्धित क्षेत्रबाट संघीय सांसद र कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदलाई समेत पहलकदमीका लागि अनुरोध गर्ने भनि निर्णय गरिएको छ ।
मानव–हात्ती द्वन्द्वलाई न्युनीकरण गन झापामा करिब १०० किलोमिटर विद्युतीय तारबार जडान गरिएको भए पनि हात्ती र मान्न्छे मर्ने तथा अंगभंग हुने क्रम नघटेको छैन ।
मानव–हात्ती द्वन्द्व कम गर्न लगाएको तारबारको समयमा उचित मर्मत सुधार नहुँदा कतिपय स्थानका तारबार चुडिएर हात्तीलाई गउँ बस्ती पस्न रोक्न नसकेको अवस्था छ ।
मानव–हात्ती द्वन्द्व कम गर्न लगाएको तारबारको उचित मर्मत सुधार गरी हात्तीलाई बस्तीमा पस्नबाट रोक्ने, अतिप्रभावित क्षेत्रमा थप विद्युतीय तारबार गर्नुपर्ने, हात्ती धपाउनका लागि आवश्यकपर्ने उचित गाडी, ट्र्याक्टरको व्यवस्था गर्नुपर्ने, समस्याग्रस्त हात्तीको पहिचान गरेर तीनको व्यवस्थापन गर्नुपर्ने विज्ञहरूको निरन्तरको सुझाव छ ।
त्यस्तै उनीहरूले हात्ती पर्यटनमा जोड दिने, हात्तीले नखाने चिया, कागती, ल्वाङ, सुपारी, बेसार आदिको खेतीपाती प्रणालीको सुरू गर्ने, पीडितलाई आर्थिक सहुलियत दिनुपर्ने सुझाव स्थानीयले पटक पटक सरकारी पक्षलाई दिए पनि कार्यान्वयनमा आउन नसक्दा समस्या हल हुन नसकेको पीडितको भनाइ छ ।
चालु आर्थिक वर्षमा झापामा द्वन्द्वमा परेर चारवटा जंगली हात्ती मरिसकेका छन् । गत आर्थिक वर्षमा पनि यस जिल्लामा ४ वटा हात्ती मृत फेला परेका थिए । त्यस्तै यस आर्थिक वर्षमा हात्तीको आक्रमणमा परी झापामा चार जनाको ज्यान गइसकेको अवस्था छ ।
प्रतिदिन अनलाइनबाट