भन्सार प्रशासनले जिम्मेवारी पूरा गर्नै पर्छ

झापामा रहेका दुई मूल भन्सार प्रशासनले सरकारबाट पाएको जिम्मेवारी पूरा गरेका छन् कि छैनन् ? आम सर्वसाधारणमा चासोको विषय बन्न थालेको छ । झामामा मेची भन्सार र भद्रपुर भन्सारले सरकारको भन्सार महसुल नियम लगाएको पनि देखियो । सर्वसाधारणले यस नियमलाई मान्न बाध्य पनि भए तर साविकको मेची अञ्चल भित्रका अधिकाम्स नाका चोरी तस्करीका लागि अनुकुल बन्दै गएका छन् ।

भारतीय सीमा क्षेत्रबाट हुने व्यापारीका अवैध ओसारपसार सहज हुँदै गएको पनि सजिलै देखिन थालिएको छ । भारतीय बजारबाट नेपाल भित्रने व्यापारिक सामग्रीहरू भन्सारको बैध बाटो भन्दा अबैध बाटोबाट भित्रन सहज बन्दै जाँदा मेचीका विभिन्न नाकाहरू तस्कर मैत्री बन्दै गएको अनुभव सर्वसाधारणमा पर्न थालेको छ । चोरी तस्करी नियन्त्रणका लागि परिचालित पुलिस प्रशासन तस्करको सेटिङमा अलमलिँदा छोटी भन्सार नाकाहरू राजश्व छल्ने प्रमुख केन्द्र बन्न थालेका छन् ।

मेची भन्सारको कार्य क्षेत्र भित्र पर्ने इलामको पशुपति नगर, झापाका नकलबन्दा, सतीघट्टा, गौरीगञ्ज नाका राजश्व छलीका लागि सहज बन्ने गरेका छन् । भद्रपुर भन्सार पनि ठूला व्यापारिका लागि राजश्व घटाउन सहयोगी बन्ने गरेको स्थानीय व्यापारी नै बताउने गर्छन् । पूर्वाधार पूरा नगरी मूल भन्सार बनाइएको भद्रपुर भन्सारमा विभिन्न बाहना बनाएर कर्मचारीले ठूला व्यापारी मैत्री काम गर्ने गरेका छन् । मेचीका विभिन्न नाकाहरूबाट कपडा, सवारीका साधन, इलेक्ट्रोनिक्सका सामान, मेसिनरी पार्टपुर्जा, रसायनिक विषदी, सुर्ति जन्य पदार्थ बढी मात्रामा तस्करीका माध्यमबाट झापा भित्रने गरेका छन् ।

व्यापारका सम्बन्धित व्यक्तिहरूका अनुसार प्रहरी प्रशासन कै मिलिभगतमा राजश्व छल्ने काम हुने गरेको छ । नयाँ हाकिमहरूमा नयाँपन हुँदासम्म चोरी तस्करीमा कडाइ जस्तो हुन्छ तर पुरानोपन प्रवेशपछि सहज वातावरण बन्ने व्यापारीहरूको स्पष्ट भनाइ छ । त्यस सत्यलाई राजश्व संकलनको अवस्थाले पनि प्रमाणित गरिरहेको छ ।

विगत वर्षहरुमा मेची भन्दा कोशी र सगरमाथा क्षेत्रका भारतीय सीमा नाका तस्करका सहज नाका बन्ने गरेका थिए । पछिल्लो पटक प्रदेश सरकार विराटनगरमा बसेपछि कोशी नाकाबाट हुने तस्करी मेची सरेको वारपार व्यापारीको स्वीकारोक्ती छ । नेपाली बजारमा खपत हुने कपडाको झण्डै आधा हिस्सा मेची नाका हुँदै भारतीय बजारबाट नेपाल प्रवेश गर्ने अनुमान गरिए पनि भन्सार महशुलले त्यस्तो देखाउँदैन । सिजन अनुसार तथा चाड–पर्वलाई मध्यनजर गरी व्यापारिक समूहले सेटिङमा सामान ओसारपसारका लागि झापाका विभिन्न सीमा क्षेत्रबाट काम गरिसकेका छन् । भन्सार छली अवैध सामग्री नेपाल तर्फ तस्करी गर्ने समूहले राजनीतिक नेतृत्वसित आर्थिक पहुँच विस्तार गरी प्रहरी प्रशासन नियन्त्रित नीति लिएर काम गर्ने गरेका छन् ।

बेलाबखत वारपारको सेटिङ्ग बिग्रदा अवैध सामग्री पक्राउका सूचना पनि चुहुने गरेका छन् । चार्ड पर्वले छोप्दै गएको मौका भन्सार, प्रहरी र प्रशासनका नाइकेहरू माझ अवसर सदुपयोगको प्रतिष्पर्धा तीव्र हुने गर्दछ । त्यही पनि देखावटी रूपमा अबैध सामग्री पक्राउ तीव्र गतिमा रहेको सूचना आउन पनि छोड्दैन । हजारौंका अबैध सामग्री पक्राउ गर्दा लाखौंका सामग्री अबैध बाटो हुँदै बैध भइरहेको थाहै हुँदैन । सायद राज्य सञ्चालनमा व्यक्ति फेरिए पनि विधि र प्रकृया नफरिएको प्रमाण हुन सक्छ तस्करीको संरक्षण ।

सवैभन्दा धेरै राजश्व संकलन हुन सक्ने सूर्तिजन्य पदार्थ तथा रासायनिक विषादी बैध बाटोबाट निकै कम आउनु तर सूर्तिजन्य उद्योगको उत्पादन बढ्दै जानु, हरेक क्षेत्रमा रासायनिक विषादीको उपयोग बढ्नु जस्ता घटना बिचको अमिल्दो रूपले नै झापाका भन्सार नाका तस्करमैत्री छन् भन्ने प्रष्ट संकेत छोडिरहेको छ । यस अमिल्दो वातावरण बन्द नभएसम्म भन्सार प्रशासनले सरकारी जिम्मेवारी पूरा गरेको देखिने छैन ।