लेखसमाचार

नेपाली चलचित्रमा सवैको मनोभावना समेट्ने निर्देशक चलचित्र विकासराज आचार्य

द्रोण अधिकारी गुहेँली
कोशी प्रदेशको राजधानी विराटनगर महानगरका स्थायी बासिन्दा विकासराज आचार्य चलचित्र विषय पढेर आएका नेपाली चलचित्रका लेखक तथा निर्देशक हुन् । प्रेम र मिलन केन्द्रीत चलचित्र निर्माण गर्ने आचार्य बालबालिकालाई मुख्य भूमिका दिने निर्देशक पनि हुन् । नाइ न भन्नु ल ६ सम्म निरन्तर आइपुग्दा आचार्यको निर्माण÷निर्देशनमा तयार भएका सवै चलचित्रले प्रेम भावको नौलो स्वरूप स्थापित गरिदिए ।

उनले नाइ न भन्नु ल को शृङ्खला बाहेक म तिम्रो भैसकेँ, नसिव आफ्नो, हजार जुनीसम्म, रिदम लगायत चलचित्र समेत निर्देशन गरिसकेका आचार्यले पछिल्लो एक वर्षयता चलचित्र निर्माण र निर्देशन रोकेर गृह नगर विराटनगरमै बसिरहेका छन् । यसको खास कारण हो अत्यन्तै सफल चलचित्र बनाएर नेपाली चलचित्र बजारमा ख्याति कमाइरहेका आचार्यले एकाएक असफलता सहित आलोचनाको भारी आक्रमण सहनु परो । जुन अपजस छ, त्यसलाई सधैँका लागि अन्त्य गर्न दर्शकसित बसेर वास्तविक चाहना बुझ्ने उत्कण्ठाले २०८१ को अशोजपछि आफ्नो गृहनगरमा बसिरहेका आचार्य २०८२ को अशोजपछि चलचित्र निर्माणमा निस्कने बताउँछन् ।

 

चलचित्रमा नेपाली मौलिकता अनिवार्य ठान्ने आचार्य नेपाली कला र संस्कृित आफ्ना चलचित्रमा मनोरञ्जनसित ज्ञानका रूपमा समावेश गर्न सवल निर्देशक पनि हुन् । आचार्यका चलचित्रले साँगीतिक प्रेम कथालाई मर्मस्पर्शी रूपमा उठान गर्ने गरेका छन् । युवा पुस्ता लक्षित चलचित्र जस्तो लाग्ने आचार्यका चलचित्र सवै वर्गका लागि उत्तिकै सान्दर्भिक हुने गरेका छन् । सन् २००४ बाट चलचित्र जगतमा लेखकका रूपमा प्रवेश गरेका आचार्यका सफल रूपमा दुई दर्जन बढी नेपाली चलचित्र बजारमा आइसकेका भइसकेका छन् । उनी लेखकका रूपमा जति चर्चित र स्थापित छन् त्योभन्दा बढी निर्माण र निर्देशकमा पहिचान कायम गरिरहेका व्यक्ति हुन् ।

सम्मान तथा पुरस्कारका रूपमा आचार्यले एनएफडिसी अवार्ड २०७० मा उत्कृष्ट व्यवसायिक चलचित्र तथा उत्कृष्ट निर्देशक नाई न भन्नु ल २, उत्कृष्ट पटकथा रिदम, डिसिने अवार्ड २०७० मा उत्कृष्ट निर्देशक अवार्ड रिदम, नेशनल फिल्म अवार्ड २०६६ मा उत्कृष्ट पटकथा लेखक सम्मान हाँसिदेऊ एकफेर, डिसिने अवार्ड २०६७ मा उत्कृष्ट पटकथा लेखक सम्मान आफ्नो मान्छे आफ्नै हुन्छ, बक्स अफिस अवार्ड २०१४ मा उत्कृष्ट लेखक तथा निर्देशक सम्मान, आफ्नो मान्छे आफ्नै हुन्छ र कहाँ भेटिएला चलचित्रका लागि सन् २०१० मा उत्कृष्ट कथा, पटकथा र सम्वाद बक्स अफिस अवार्ड प्राप्त गरिसकेका छन् ।

फरक शैलीमा प्रेम र सदभावलाई कथानक बनाएर नाइ न भन्नु ल चलचित्रको सफल शृङ्खला निर्माण गरिरहेका आर्चायले छैटौं शृङ्खलामा आइपुगेपछि असफलता व्यहोर्नु परेको नयाँ सन्दर्भसितको कसराकानीमा बताउँछन् । यस असफलतालाई आलोचकहरूले दर्शकको मनोभावना विपरित जवरजस्ती बुनिएको कथा भित्र निर्मित चलचित्र भएको आरोप लगाएपछि गहन सोच्न बाध्य भएका आचार्यले वास्तविक तथ्य बुझ्न संघीय राजधानी छोडेर प्रदेश तथा मोफसलमा रहेका नेपाली चलचित्रका दर्शकको चाहना बुझ्ने काम गरिरहेका छन् । केही महिनायता अनुसन्धानमै रहेका आचार्यले बुझेअनुसार पछिल्लो समय नेपाली तथा अन्य देशका चलचित्रको बजार ओरालो गतिमा रहेको धारणा नयाँ सन्दर्भ टिमलाई राख्छन् । कारण विश्व समाजमै विभिन्न युद्धकालिन प्रभाव रहेकाले मनोरञ्जन कमजोर र आक्रोस बढिरहेका कारण चलचित्रहरू अझै केही समय चल्ने वातावरण बन्ने छैन ।

लगभग एक वर्ष नेपाली चलचित्रको बजार समेत सहज बन्न नसक्ने अनुमानमा रहेका आचार्यले आगामी कार्तिकपछाडि दर्शकको मनोभावना अनुकुलको चलचित्र निर्माण गर्ने सोच पालेका छन् ।

विकासराज आचार्यको पहिचान ‘नाई न भन्नु ल’ सिरिजका निर्देशकका रूपमा स्थापित थियो । उनी सेन्टिमेन्टल भावको चलचित्र बनाएर दर्शकलाई रूवाउने निर्देशकका रुपमा समेत चिनिन्छन् । त्यसैले होला चलचित्र हेरेर निस्कने गरेका अधिकाम्स महिला दर्शकहरुका आँखा रसाएकै हुन्थे । तर बिचमा भने विकासले चलचित्र ‘हजार जुनीसम्म’मा कथ्य शैली नै परिवर्तन गरेर आउँदा उनको निर्देशकीय क्षमता अझ प्रसंसा बटुल्न सफल भयो ।

आफूले निर्माण÷निर्देशन गर्ने पछिल्लो चलचित्रका लागि लेखनमा जुटिरहेका आचार्यले वर्तमान राजनीति र परम्परागत मानवीय चेतभित्र रहेको प्रेमिल भाव बिचमा रहेको प्रेम नै वास्तविक कथा बन्न सक्ने संकेत समेत गरेका छन् । उनले बनाउने चलचित्रमा प्रेमको नौलो परिभाषा गाँसिने गरेको तथ्यलाई मात्र स्वीकार गर्ने हो भने अब बन्ने चलचित्रमा पनि कुनै न कुनै रूपमा प्रेमको परिभाषा खोज्ने प्रयास हुन्छ नै भन्ने अनुमान गर्न सकिन्छ ।

यस अनुमानलाई नयाँ सन्दर्भ टिमले प्रश्नका रूपमा राख्दा आचार्य अस्वीकार त गर्दैनन् तर विगतभन्दा निकै फरक धार लिएर सवैको मनोभावना समेट्ने किसिमको अबको चलचित्र बजारमा आउनेमा विश्वास गर्न अनुरोध गर्छन् । चलचित्रको रङ्गीन दुनियामा रमाइरहेका आचार्य एक वर्षयता सादा जीवन बोकेर भोलिको सुन्दर तथा रङ्गीन चलचित्र बजार खोजीरहेका छन् ।