भद्रपुरमा मनोसामाजिक समस्या पहिचान तथा परामर्श
भद्रपुर । भद्रपुर शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा एक दिने मनोसामाजिक समस्या पहिचान तथा परामर्श सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
भद्रपुर नगर प्रमुख गणेश पोखरेलको अध्यक्षता तथा मनोपरामर्शदाता गोविन्दराज कट्टेलको सहजीकरणमा भद्रपुर नगरमा रहेका ३१ वटा विद्यालयमा गठन भएको हामी साथी साथी समूह र फोकल शिक्षकलाई अभिमुखीकरण गरिएको हो ।
शिक्षा, युवा तथा खेलकुद शाखाका सदस्य सचिव योगेन्द्र पौडेलले झापा जिल्लाकै नमूना कार्यक्रमका रूपमा हामी साथी साथी समूह गठन गरी विद्यालय स्तरमा मनोपरामर्श थालिएको जानकारी दिए । उनले लहड र नक्कलका रूपमा नभएर वर्तमानको आवश्यकताको पहिचान गरी कार्यक्रम मौलिक स्वरूपमा ल्याइएको प्रष्ट पारेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन यर्दै भद्रपुर नगर उपप्रमुख राधा कार्कीले समाजमा विभिन्न कारणले मनोसामाजिक समस्या बढ्दै गइरहेकाले त्यसलाई रोक्न बालबालिका तहमै परामर्श अपरिहार्य ठानेर कार्यक्रम गरिएको प्रष्ट पारिन् ।
नगर प्रमुख पोखरेलले समाजमा विभिन्न विकृति, विसंगती र कुलतको अवस्था बढ्दै गएकोले त्यसलाई रोक्न पनि हामी साथी साथी समूह गठन गरेर विद्यार्थीका समस्या पहिचान गर्दै मनोसामाजिक समस्या पहिचान तथा परामर्श कार्यक्रम थालिएको जानकारी दिए । उनले पछिल्लो समय लागू औषध दुव्र्यसन बढ्दै जाँदा कलिला बालबालिका समेत त्यसको शिकार भएकोले त्यस विकृतिबाट बचाउन पनि परामर्श आवश्यक भइसकेको प्रष्ट पारेका छन् ।
कार्यक्रममा सहभागी रहेका विद्यार्थी तथा शिक्षकले समेत मनोसामाजिक समस्या पहिचान तथा परामर्श कार्यक्रम फलदायी भएको प्रतिक्रिया दिएका छन् ।