वैदेशिक रोजगारीमा धेरै महिला जाने जिल्ला झापा
भद्रपुर । झापा जिल्ला वैदेशिक रोजगारीको खोजीमा जाने महिला कामदारको सूचिमा देशकै पहिलो नम्बरमा रहेको पाइएको छ ।
वैदेशिक रोजगारीमा जानेलाई परामर्श गरिरहेको सुरक्षित आप्रवास कार्यक्रम भद्रपुरको तथ्याङ्खले झापाली महिलाहरू कामको खोजीमा विदेश जाने उच्च दर देखाएको हो ।
चालु आर्थिक वर्षको पछिल्लो विवरण अनुसार झापाबाट रोजगारीका लागि विदेश यात्रा गर्नेको संख्या ३४ हजार ३६२ जना झापाली वैधानिक बाटोबाट वैदेशिक रोजगारीमा गएको देखिन्छ । जसमा १९. ५ प्रतिशत अर्थात ६ हजार ६६६ जना कामको खोजीमा विदेश गएका छन् । जुन देशकै सवैभन्दा बढी संख्या पनि हो ।
झापाबाट रोजगारीका लागि प्रमुख गन्तव्य खाडी मुलुक देखिएको छ भने युरोप अमेरिका तथा अष्ट्रेलिया जाने कामदारको संख्या पनि बढ्दै गइरहेको पाइए पनि ठगिने क्रम सोही रफ्तारमा रहेको देखिन्छ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका भद्रपुर संयोजक शेखर बुढाथोकीका अनुसार कार्यक्रमले सूचनामा पहुँच, न्यायमा पहुँच, सीप तालिममा पहुँच, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श सेवा मार्फत वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सवलीकरण गर्दै आइरहेको छ । उनका अनुसार चालु आर्थिक वर्षमा ५ जना व्यक्तिलाई पारिवारिक स्वास्थ्य उपचार, २ जनाको अंगभंग तथा विरामी उपचार, २ जनालाई मृत्युको आर्थिक सहायता र २७१ जनालाई पुनःश्रम स्वीकृति प्रदान गरिएको छ भने ठगीमा परेका ३०३ जना मध्ये १४१ जना कामदारलाई न्यायमा पहुँच पुर्याउदा ३ करोड ३५ लाख ८८ हजार ५३१ रूपैया क्षतिपूर्ति भराइएको छ ।
भद्रपुर नगर प्रमुख गणेश पोखरेलको अध्यक्षता तथा सामी कार्यक्रमका भद्रपुर संयोजक शेखर बुढाथोकीको सहजीकरणमा सम्पन्न पत्रकारसितको अन्र्तरक्रिया कार्यक्रमको सञ्चालन रोजगार संयोजक दिपक पाण्डेले गरेका थिए ।
राज्य पक्षले वैदेशिक रोजगारीलाई अपनत्व ग्रहण गर्न नसक्दा ठगी गर्नेहरू दिन दिनै बढ्दो रूपमा सक्रिय हुँदा सेवाग्राही मारमा परेको गुनासो आउने गरेको छ । देश कै उच्च वैदेशिक रोजगार उत्पादक झापा जिल्लामा श्रम शक्तिको उचित व्यवस्थापन हुन नसक्दा काम खोज्दै विदेशिनेको संख्या बढिरहेको पाइन्छ भने विदेशमा ज्यान गुमाउने र रोजगारीका लागि विदेश यात्रा गर्ने क्रममा ठगिनेको संख्या उल्लेख्य बढ्दै गइरहेको छ ।
