भद्रपुरमा विद्यार्थीहरुसँग अभिमुखीकरण
भद्रपुर । कोशी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका झापाको भद्रपुरमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा सम्बन्धी विद्यार्थीहरुसँग अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
बालबालिकाका कुरालाई आगामी बजेटमा समेट्ने उद्देश्यले नगर बाल सञ्जाल भद्रपुरको आयोजनामा आइतबार अभिमुखीकरण कार्यक्रम गरिएको हो । नगर बाल सञ्जालका अध्यक्ष उत्सव पाण्डेको अध्यक्षता र भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा विशिष्ठ अतिथि उपप्रमुख राधा कार्कीले जीवनमा सबैभन्दा ठूलो कुरा सिकाइ भएको बताउनुभयो । सिक्ने र अघि बढ्ने क्रम जारी राख्न आग्रह गर्दै उहाँले भन्नुभयो, “अहिले पढ्ने र सिक्ने समय हो, यसलाई महत्वका साथ अघि बढाउन म आग्रह गर्छु ।” माटोबाट सानो दियो र ठूलो घैला दुवै बन्ने भएकाले ठूलो बन्ने प्रयास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै, विशिष्ठ अतिथि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले तीन वटा मुख्य उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । बालमैत्री नगरपालिकालाई यथावत राखेर अझ सक्रिय बनाउन यस्ता कार्यक्रम गर्ने गरिएको उहाँले बताउनुभयो ।
“बालमैत्री नगर घोषणा भएपछि केही न केही उपलब्धि हासिल भएका छन्”, उहाँले भन्नुभयो, “उपलब्धिहरुलाई आत्मसात गरेर अझ बालबालिकाको वृहत्तर हितमा काम गर्न बाल क्लब, बाल सञ्जाल र विद्यार्थीहरुको साथ र सहयोग आवश्यक छ ।” बालबालिका सबै समस्या थाहा हुन नसक्ने भएकाले समस्याका बारेमा अवगत गराउन उहाँले आग्रह समेत गर्नुभयो ।
नगरपालिकाकी सामाजिक विकास समिति संयोजक सीता गुरागाईंले प्राप्त सुझाव योजनामा समेटिने बताउनुभयो । कुनै अप्ठ्यारो नमानी आफ्ना गुनासा र सुझाव राख्न अग्रह गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका बालमैत्री फोकल पर्सन टिकाराम पाण्डेले निकै चुनौतीहरुलाई चिरेर बालमैत्री नगर घोषणा गरिएको बताउनुभयो । “नकुटी विद्यार्थीलाई कसरी पढाउन र राम्रो रिजल्ट निकाल्न सकिन्छ भनेर विद्यालयहरुले हामीलाई धेरै दबाब दिनु भएको थियो”, उहाँले भन्नुभयो, “यस्ता धेरै समस्याको समाधान गरेर अहिले बालमैत्री नगर बनेको छ ।”
कार्यक्रममा भद्रपुर नगर बाल सञ्जालका पूर्वअध्यक्ष आराध्या प्याकुरेलले आफ्नो बालमैत्री नगर घोषणा ताकाको अनुभव सुनाउनुभएको थियो । उहाँले बालमैत्री नगर घोषणा भएसँगै बालबालिकाको संस्थागत सहभागिता सुनिश्चित हुनु सबैभन्दा बढी महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । उहाँले नगरपालिकाका सबै शाखाहरुले बालमैत्री नगरका लागि गर्नुपर्ने कामहरु गरिरहेको बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशिक्षक नगर बाल सञ्जालका पूर्वअध्यक्ष तथा नगर युवा परिषद् भद्रपुरका कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिनाले बालमैत्री स्थानीय शासनको सूचक र बालबालिकाले पालना गर्नुपर्ने आचार संहिताका विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
नगर बाल सञ्जाल अध्यक्ष उत्सव पाण्डेले भद्रपुर नगर क्षेत्रमा २२ हजारभन्दा बढी बालबालिका रहेको बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं. १ देखि ५ सम्मका वडा बाल सञ्जालका अध्यक्ष एवम् प्रतिनिधि, पाँच वटै वडाका सबै सामुदायिक तथा निजी विद्यालयका चार÷चार जनाको सहभागिता रहेको नगर बाल सञ्जालका सचिव समिर निरौलाले बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य सीता गुरुङ, शिक्षा शाखाकी कर्मचारी उषा पोखरेल, सामाजिक विकास शाखाकी चन्द्रकला ढकाल लगायतको आतिथ्य रहेको थियो । नगर बाल सञ्जालले गत माघमा भद्रपुर वडा नं. ६ देखि १० नम्बर वडाका बालबालिकालाई समेटेर अभिमुखीकरण कार्यक्रम गरिसकेको छ ।
