आत्महत्या न्युनीकरण अबको आवश्यकता
सन्सारकै समस्या रहेको आत्महत्या न्युनीकरणका लागि हरेक राज्यले केही न केही लगानी गरिरहेकै छन् तर पनि विश्वमा हरेक ४० सेकेण्डमा एकजना मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाइरहेको छ । यस विवरणलाई केलाउने हो भने नेपाल आत्महत्या गर्ने मानिस रहेको सन्सारको आठौं नम्बरमा पर्छ । संयुक्त राष्ट्रसंघ मातहत रहेको विश्वस्वास्थ्य संगठनको तथ्याङ्क अनुसार हरेक वर्ष ८ लाख मानिसले सन्सारभरीबाट आत्महत्या गर्ने गरेको देखिन्छ । छिमेकी देश भारतमा मात्रै एक वर्षमा २ लाख ५८ हजार ५७ जनाले आत्महत्या गरेको देखिन्छ । नेपाल सरकारको विवरण अनुसार नेपालमा एक वर्षमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गरेका छन् । यी केही तथ्यगत विवरण हेर्दा सन्सार नै आत्महत्याको चपेटामा छ भन्ने प्रष्ट हुन्छ ।
लैङ्गिक आधारमा हेर्दा आत्महत्या गर्ने मानिसहरूमा महिलाहरूभन्दा पुरुषहरू बढी देखिन्छन् । नेपालमा पनि आत्महत्या गर्नेमा पुरुष नै बढी छन । उमेर समूहको तथ्य हेर्दा १० वर्षदेखि ८० वर्षसम्मका मानिसले आत्महत्या गरेको देखिन्छ । त्यसमा ७० वर्षमाथिकाहरूमा यो समस्या बढी देखिएको छ । नेपालमा दैनिक १२ जनाभन्दा बढीले आत्महत्या गर्छन्, भने बर्षेनी हेर्दा पाँच हजारभन्दा बढी मानिसले आत्महत्याकै कारण जीवन लीला समाप्त गर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार प्रत्येक एक लाख मानिसमा २५ जनाले आत्महत्या गर्ने भएकाले नेपाल विश्वमै बढी आत्महत्या हुने देशको सूचीमा आठौं स्थानमा परेको हो । आत्महत्याका प्रमुख कारणमध्ये शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक परिवेशसँग जोडिएका घटनाहरू हुने गरेका छन् ।
सामाजिक कारण अन्तर्गत मानिसका दैनिक व्यवहारिक कुरा आउँने गरेका छन् । सवैजसो आत्महत्याका घटनामा कहीँ न कहीँ ऋण, धन, गालीगलौज, चरित्र हत्या, यौन विचलन, शोषण, दमन जस्ता समस्याले ग्रस्त मानिसले आत्महत्याको बाटो रोजेको देखिन्छ । त्यस्तै शारीरिक कारण अन्तर्गत कुनै ठूलो रोग, जस्तै टिबी, क्यान्सर लगायत दीर्घरोग वा उपचार हुन नसक्ने रोगहरूका कारण बाँच्ने आशा हराउँदै जाँदा मानसिक विचलन भएर आत्महत्याको बाटो रोजेको देखिन्छ । यी र यस्ताखाले समस्या समाधान गरेर अकालमा मानिस मर्ने अवस्थालाई न्युनीकरण गर्न सकिन्छ ।
विज्ञानले आत्महत्याका ९० प्रतिशत कारण मानसिक समस्या हुने बताउँछ भने लागूऔषध दुव्र्यसनी व्यक्तित्वमा आएको आँच लगायत सिजोफ्रेनिया भएकामध्ये १० प्रतिशतले आत्महत्या गर्ने गरेको चिकित्सा विज्ञानको अनुसान्धानले समेत प्रमाणित गरिसकेको छ । नेपालमा सामाजिक–सांस्कृतिक विचलन, मानसिक रोग, पारिवारिक कलह, अनमेल विवाह, यौन दुर्बलता, आपसी अविश्वास, असुरक्षा, अन्याय, द्वन्द्व, बेरोजगारी, गरिवी, इन्टरनेटको दुरुपयोग, लागूपदार्थको दुव्र्यसन, जीवनमा निरन्तर असफलता, आवश्यकभन्दा बढी अपेक्षाको जीवनशैली जस्ता कारणले आत्महत्या बढ्दो छ । यस्ता विकृत पक्ष रोक्न सरकारी पक्षले समुदायसित सहकार्य गर्न जरूरी देखिन्छ ।
वर्तमान नेपालको नागरिक सामाजको जीवनमा नक्कल गर्ने प्रवृत्ति, अस्वच्छ प्रतिस्पर्धा, असमानता, घरेलु हिंसा, नैतिक शिक्षाको अभाव र अरूको सिको गर्ने मनोविज्ञान पनि आत्महत्याका लागि जिम्मेवार कारक हुने गरेको अवस्था छ । मानिसका भावभङ्ग गर्ने सवै विकृति रोक्न शिक्षा चेतना र जागरण जगाउने शिक्षाको वातावरण बनाइनु पर्छ । सरकारले नीति बनाएर नागरिकमा निराशा रोक्ने वातावरण निर्माणको जिम्मेवारी लिनु पर्छ भने समाज र व्यक्तिले पनि समयानुकुल चल्न सक्ने सामथ्र्य निर्माण गरेर अमूल्य जीवन अकालमा मर्ने अवस्था आउन दिनु हुँदैन । सवै पक्ष सचेत र जिम्मेवार नभएसम्म आत्महत्या जस्तो जघन्य अपराधको मात्रा घट्न सक्दैन ।
