राजनीतिशिक्षासमाचारस्थानीयस्वास्थ्य

जैविक विविधताले भरिएको जलथल वन संकटमा पर्न सक्ने चिन्ता

जलथल । एसिया महादेशकै उत्कृष्ट जैविकता समेटिएको जलथल वन पछिल्ला वर्षहरूमा जिम्मा लिनेले कमाइखाने भाँडो बनाउने प्रवृत्ति बढेसंगै संकटतिर जाने संकेत देखिएको छ ।

जलथल वनमा रहेको जैविक विविधता जोगाउन जिम्मा लिनेहरूले दाताहरूबाट विगतमा गरेका राम्रा अभ्यासलाई निरन्तरता दिन नसकेपछि जैविक अस्तित्व संकटमा पर्न सक्ने देखिएको हो ।

दक्षिण एसियाकै धनी जलथल वनमा रहेका जैविक विविधतालाई निरन्तर संरक्षण गर्न सकिएन भने अबको १० वर्षपछि वन फेरि पहिलाकै अबस्थामा पुग्ने जानकारहरूको भनाइ छ ।

जलथल वनअन्तर्गत चौकी विरान सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइरहँदा सरोकारवालाहरुले जलथल वनप्रति त्यस्तो गंभीर चिन्ता गरेका थिए । फरेष्ट एक्सन नेपाल र डिभिजन वन कार्यालयको सहकार्यमा भए गरेका राम्रा अभ्यासहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो ।

जलथल नेपालको महत्वपूर्ण र विशिष्ट प्रकारको वन भएको अध्येयताको ठहर छ । अनुसन्धानमा संलग्न विज्ञहरूले दशकयता गरेको निरन्तरको अनुसन्धानबाट देशभर ६ सय प्रजातिका रुख रहेकोमा जलथलमा एकचौथाई भन्दा बढी अर्थात १५५ प्रजातिका रुख पाइन्छन् । त्यस्तै उन्यू ४३ , झारपात २४६ , लता÷ लहरा ६४ , बुट्यान ७८ , पाम ४ प्रजातिका पाइन्छन् । त्यस्तै प्राणीमा पुतली १५७ , माछा ४३ , उभयचर १४ , सरिसृप ३२ , चरा २३५ र स्तनधारी २७ प्रकारका भेटिएका छन् । त्यस्तै ढुसी ÷ च्याउ ८४ प्रकारको भेटिएको छ ।

पूर्वी तराईमा मूल वनबाट छुट्टिएको सबैभन्दा ठूलो वनखण्ड जलथल ५९० वनस्पति र ३५१ मेरुदण्ड भएका प्रजातिहरुको बासस्थान भएको अध्ययनले देखाएको छ । त्यस्तै दक्षिणपूर्वी एसियाका महत्वपूर्ण वनस्पतिका प्रजातिहरु, उष्ण प्रदेशीय सदाबहार बुच्काहरु , नेपालमा लटहरको सबैभन्दा ठूलो वन, तराईमा थाकलको प्राकृतिक थलो र १३ वटा संकटापन्न प्रजातिको बासस्थान जस्ता विशेषता जलथल वनमा रहेको छ ।

प्राकृतिक संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसीएन) ले सूचीकृत गरेको वनस्पति अनौकाठ , थाकल, रातो शिरीष , प्राणीहरु हात्ती, लाम्चे कछुवा , सालक जलथलमा रहेका छन् । त्यस्तै जलथल वनमा दुर्लभ भोटे लहरा पनि भेटिएको छ ।
फरेष्ट एक्सनले सिकाएका अभ्यासहरुलाई गरेर देखाउनु पर्ने अवसर आएको हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बताए । उनले विगतमा कसरी वनलाई बचायौं अब कसरी बचाउन सकिन्छ भनेर सबैजना लाग्नुपर्नेमा जोड दिए । जलथल वनलाई व्यवस्थित बनाउन हल्दिवारी गाउँपालिकाले केही बजेट छुट्याएको जानकारी दिए ।

फरेष्ट एक्सन नेपालका संयोजक डा. लीलानाथ शर्माले सबैको आडमा जलथल वन अडिएको भन्दै वास्ता नगर्ने हो भने वन नरहन सक्नेतर्फ सचेत गराए । जैविक विविधता संरक्षणका लागि यहाँका सामुदायिक वनहरुले न्याय गर्न नसकिरहेको गुनासो गर्दै अहिले पनि चिन्ताजनक अबस्था रहेको औल्याए । फरेष्ट एक्सन नेपाल र डिभिजन वन कार्यालयले गरेर नहुने भन्दै उनले सामुदायिक वनहरु नै संरक्षणमा लाग्नुपर्ने बताए । जलथलमा रहेका सामुदायिक वनहरुले सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनको जोड थियो ।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले जलथल वनमा रहेका जैविक विविधताको महत्व बुझ्न उपभोक्ताहरुलाई आग्रह गरे । मानिसको जीवनयापनको सम्पूर्ण स्रोत जैविक विविधतामा निहित रहेको उनको भनाई थियो ।

राम्रा अभ्यासलाई निरन्तरता दिन सकेनौं भने जैविक विविधतालाई संरक्षण गर्न नसक्ने निष्कर्ष निकाल्दै कार्यक्रमका सहभागीहरुले स्थानीय उपभोक्ताहरु नै त्यसमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

झण्डै एक दशकयता फरेस्ट एक्सन नेपालको नेतृत्वमा भएको अध्ययनबाट जलथल वनमा भएका रैथाने प्राकृतिक रूखहरूको प्रजातिको संख्या एकिन गरिएको छ । अध्ययनको नतिजा भारतबाट प्रकाशित हुने ‘प्लियोने’ नामक विधागत जर्नलको पछिल्लो अंकमा प्रकाशित भएको थियो । डा. लिलानाथ शर्मा, डा. भाष्कर अधिकारी र योगेन्द्रबिक्रम पौडेलको सहलेखनमा प्रकाशित रिसर्च आर्टिकल अनुसार जलथल वनका रूखहरूको प्रजातिको मौलिक पहिचान सहित अभिलेख गरिएको छ ।

जैविक विविधताको कुरा गर्दा रुखहरुको प्रजाति संख्याको बिशेष चर्चा हुने गर्दछ तर आजसम्म जलथल जंगलमा रुखका कति प्रजाति छन् भन्ने यकिन तथ्यांक प्रकाशित भएको थिएन । चारकोशे जंगलको फडानी हुनबाट बचेको सानो खण्ड हो जलथल वन । झापाको हल्दिवारी, कचनकवल, बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकामा जोडिएको वन ६१०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । जलथल वनको चार वटा पालिकाका २२ वटा सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गर्दै आएका छन् ।