निजी विद्यालयबाट अवकास हुँदा शिक्षकले पाइन् २० लाख

विर्तामोड । संस्थागत विद्यालयका शिक्षक कर्मचारी अवकाशका बेला खाली हात विदा हुन्छन् भन्ने परम्पराबाट न्यूटन्स एजुकेशन एकेडेमी विर्तामोडले फड्को मार्दै सरकारी सरह रकम सहित विदा गर्ने परम्परा स्थापित गरेको छ ।

पछिल्लो पटक मिनु शिवाकोटीले २१ वर्ष सेवा गरेर अवकाशका लिदा सो विद्यालयमा स्थापित विभिन्न कोषबाट २० लाखभन्दा बढी रकम लिएर विदा भइन भने यस अगाडि अर्का शिक्षक आइन्द्र सुब्बाले पनि दुई वर्षअघि अवकाश लिँदा साढे १० लाख रुपैयाँ पाएका थिए ।

२१ वर्ष सेवा गरेर स्वेच्छिक अवकाश लिएकी शिवाकोटीले अवकाश कोषबाट साढे ८ महिनाको तलब ३ लाख ४७ हजार ६५० , नागरिक लगानी कोषबाट ८ लाख ३५ हजार १८४ , कर्मचारी संचय कोषबाट ७ लाख ५२ हजार र शिक्षक कल्याण कोषबाट ५१ हजार १०८ रुपैयाँ गरी जम्मा २०लाख ८ हजार २२१ रुपैयाँ पाएकी हुन् ।

शिक्षासेवी हरिकुमार प्रसाई संस्थापक रहेको बिर्तामोड ५ स्थित न्यूटन्स एजुकेशन एकेडेमीले आफ्नो ऊर्जाशील समय बिताएर अवकाश हुने शिक्षकहरुले खाली हात जान नपरोस् भनेर विभिन्न कोषहरुको व्यवस्था गरेका थिए । कर्मचारी संचय कोष , नागरिक कल्याण कोष , शिक्षक कल्याण कोष र अवकाश कोषबाट प्राप्त हुने रकमले सामुदायिक विद्यालयका सरह न्यूटन्सका शिक्षकहरु आकर्षक रकम लिएर विदा हुने गरेका छन् ।

२०६० सालमा १५० जना विद्यार्थीबाट न्यूटन्स एजुकेशन एकेडेमी स्थापना भएको थियो । २०६५ सालदेखि संस्थापक हरिकुमार प्रसाईले विद्यालयका तर्फबाट संचय कोषको व्यवस्था गरेका थिए । त्यस्तै विद्यालयले कमाएको मुनाफाको केही प्रतिशत रकमबाट प्रसाईले अवकाश कोषको स्थापना गरेका थिए । सोही कोषमा प्रसाईले आफ्नो दुई वर्षको तलब सहयोग गरेका थिए ।
अवकाशका बेला त्यति धेरै रकम पाउँदा शिक्षक मिनु शिवाकोटी सन्तुष्ट छिन् । संस्थागत विद्यालयका शिक्षकहरुले खाली हात जानु नपरोस् भनेर शिक्षकको मनस्थिति बुझेर न्यूटन्सले गरेको यस किसिमको व्यवस्था अरु विद्यालयका लागि प्रेरणादायी भएको प्रतिक्रिया दिइन् ।

संस्थागत विद्यालयका शिक्षकको तलब भत्ता सामुदायिक विद्यालयका शिक्षकसरह अनिवार्य व्यवस्था गर्नुपर्ने माग हुँदै आएको छ । संस्थागत विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीको रेकर्ड अद्यावधिक राख्नुपर्ने र सबै शिक्षक–कर्मचारीका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने माग हुँदै आएको हो । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) विभिन्न माग राखी आन्दोलित रहेको छ । शैक्षिक अगुवा रहेका हरिकुमार प्रसाईले तलदेखिका शिक्षकहरुको मर्मलाई बुझेर चार वटा कोषको व्यवस्था गरेको न्यूटन्सका प्रिन्सिपल

देवेन्द्र हुमागाँईले बताए । उनले यस किसिमको व्यवस्थाले अन्तिम अवकाश लिने शिक्षकहरुलाई थारै भएपनि राहत मिलेको बताए ।
न्यूटन्सले यी कोषबाहेक शिक्षकहरुलाई पढाई खर्च , सुत्केरी खर्चलगायतका सुविधा पनि दिँदै आएको छ ।न्यूटन्समा १६२ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । त्यसमध्ये ५२ जना स्थायी हुन् । ४ वर्ष सेवा अवधि पूरा गरेपछि स्थायी नियुक्ति दिने गरिएको छ । राम्रो सेवा सुविधा भएकै कारण न्यूटन्सप्रति शिक्षक कर्मचारीहरु आकर्षित भएको बताइन्छ ।