मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस

भद्रपुर । मे १ को विभिन्न पहिचान छन् । त्यस मध्ये सन्सारभरी सार्वजनिक विदा हुने एक मात्र दिन भनेर विश्वका श्रमिकहरूले मे १ लाई सम्भने गर्छन् ।

श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन अन्तराष्ट्रिय श्रमिक दिवस विश्वरभार मनाइन्छ ।

विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरू भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस सन्सारभरी मनाइँदै आइएको छ । आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता हासिल ग¥यो र विश्वभरका शासकले श्रमको सम्मान हुने वातावरण बनाउन बाध्य भए ।

पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । नेपालमा पनि विराटननगरमा वि सं २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र २००७ सालको परिवर्तनसँगै यो दिवस मनाउन थालिएको इतिहास छ ।

नेपाल ट्रेड युनियन महासंघका अनुसार पहिलोपटक २०१९ सालमा नेपाल मजदुर संगठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको थियो ।

लोकतान्त्रिक व्यवस्था भएका मुलुकबाट स्थापित श्रम सम्मानको अवधारणा नेपालमा कानुनी रूपमा पूर्ण स्थापित देखिए पनि व्यवहारिक रूपमा अहिले पनि श्रमको उचित सम्मान छैन । नेपालमा सरकारी र गैर सरकारी श्रमिक भनेर विभेद गर्ने, श्रम तालिका समान नरहने, पारिश्रमिकमा पनि विभेद र एकरूपता नरहने अवस्था यथावत भएकै कारण विभिन्न समयमा श्रमिक आन्दोलन गर्न बाध्य छन् ।