हात्ती रोक्न विद्युतीय तारबार लगाइए पनि द्वन्द्व रोकिएन

भद्रपुर । मानव–हात्ती द्वन्द्वलाई कम गर्न सरकारले आर्थिक वर्ष २०७१÷०७२ बाट विद्युतीय तारवारको योजना अगाडि सारेर प्रभावित क्षेत्रमा तारवार लगाइरहेको भए पनि द्वन्द्व घट्न सकेको छैन ।

वन विभागका अनुसार मानव–हात्ती द्वन्द्वलाई न्युनीकरण गर्न आर्थिक वर्ष २०७१÷७२ देखि हालसम्म झापामा करिब १०० किलोमिटर विद्युतीय तारबार जडान गरिएको भए पनि हात्ती र मान्न्छे मर्ने तथा अंगभंग हुने क्रम नघटेको हो ।

मानव–हात्ती द्वन्द्व कम गर्न लगाएको तारबारको समयमा उचित मर्मत सुधार नहुँदा कतिपय स्थानका तारबार चुडिएर हात्तीलाई गउँ बस्ती पस्न रोक्न नसकेको अवस्था छ ।

झापामा द्वन्द्वलाई कम गर्न सरकारी कोषबाट ११ करोडबढी खर्च भइसकेको भए पनि समस्या सामान्य बन्न सकेको छैन । त्यस्तै मानव–हात्ती सह–अस्तित्व निर्माणका लागि पनि विभिन्न कार्यहरू भइरहेको झापामा करोडौं रकम खर्च भइसकेको देखिन्छ ।

मानव–हात्ती द्वन्द्व कम गर्न लगाएको तारबारको उचित मर्मत सुधार गरी हात्तीलाई बस्तीमा पस्नबाट रोक्ने, अतिप्रभावित क्षेत्रमा थप विद्युतीय तारबार गर्नुपर्ने, हात्ती धपाउनका लागि आवश्यकपर्ने उचित गाडी, ट्र्याक्टरको व्यवस्था गर्नुपर्ने, समस्याग्रस्त हात्तीको पहिचानगरी र तीनको व्यवस्थापन गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

त्यस्तै हात्ती पर्यटनमा जोड दिने, हात्तीले नखाने चिया, कागती, ल्वाङ, सुपारी, बेसार आदिको खेतीपाती प्रणालीको सुरू गर्ने, पीडितलाई आर्थिक सहुलियत दिनुपर्ने सुझाव स्थानीयले पटक पटक सरकारी पक्षलाई दिए पनि कार्यान्वयनमा आउन नसक्दा समस्या हल हुन नसकेको पीडितको भनाइ छ ।

विश्वमा दुई प्रजातिका हात्ती पाइन्छन् । एसियाली र अफ्रिकी हात्ती । एसियाली हात्ती नेपाल, भारत, भुटानलगायत १३ राष्ट्रमा पाइन्छन् । र तिनको संख्या हाल करिब ५० हजारको हाराहारीमा रहेको बताइन्छ । विश्व संरक्षण सङ्घले हात्तीलाई सङ्कटापन्न प्रजातिको सूचीमा राखेको छ । नेपालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत हात्तीलाई अनुसूची–१ मा राखेर यसको संरक्षणमा विशेष ध्यान दिइएको छ ।

नेपालको चुरे तराई क्षेत्रको करिब १३ हजार वर्ग किलोमिटर क्षेत्र हात्तीको बासस्थानका लागि उपयुक्त मानिन्छ । यद्यपि, विगत ९० वर्षमा करिब २२ प्रतिशत बासस्थान विनाश भएको तथ्यले यो क्षेत्र हात्तीका लागि कम सुरक्षित हुँदै गएको बताइएको छ । मानव र हात्ती दुवैलाई पर्ने क्षतिलाई कम गर्न सरकारले विभिन्न पहलहरू गर्दै आएको भए पनि प्रभावकारी बन्न नसक्दा मानव–हात्ती द्वन्द्वलाई न्युनीकरण गर्न सकिएको छैन ।

हात्तीकै विषयमा विद्यावारिधि गर्नुभएका डा अशोक रामका अनुसार तराईका रूपन्देही र पश्चिमी नवलपरासीबाहेक सबै जिल्लामा हात्ती पाइन्छ । “परापूर्वकालदेखि नै हात्तीको ओहोरदोहर गर्ने हात्तीमार्गमा हाल बस्ती र खेती भएकाले त्यस्ता स्थानमा बेलाबेलामा हात्तीसँग मानिसको द्वन्द्व हुने गर्छ । साथै मानिस र हात्तीले एउटै बासस्थान र आहार प्रयोग गर्ने गरेकाले पनि यो समस्या देखिएको हो”, डा रामले भन्नुभयो । बासस्थान विनाश हुनु र खण्डीकरण हुनु मानव–हात्ती द्वन्द्वको मुख्य कारण बनेको उहाँको भनाइ छ ।

बढ्दो मानव–हात्ती द्वन्द्व र कतिपय स्थानमा मानव बस्ती सुरक्षाका लागि भनेर राखिएका तारबाट करेन्ट लागेर हात्ती मर्ने गरेका छन् । त्यस्तै बासस्थानको क्षयीकरण र अतिक्रमण, हात्तीमार्गमा मानवबस्ती विस्तार, पूर्वाधार विकास निर्माणका कारण चोरी सिकारी मुख्य चुनौती देखिएका छन् ।

वरिष्ठ संरक्षण अधिकृत समेत रहनु भएका डा रामका अनुसार सन् २०२० को गणनाअनुसार नेपालमा जङ्गली रैथाने हात्ती करिब दुई सय २७ वटा भेटिएको छ भने झापामा भारतको पश्चिम बङ्गालबाट प्रवेश गरी स्थायी रूपमा बस्न थालेका ५० वटा हात्ती रैथाने भइसकेका छन् भने भारतबाट सिजनमा नेपाल प्रवेश गर्ने १०० बढी हात्ती झापा र आसपास क्षेत्रमा, बर्दियामा ५०, कैलाली र कञ्चनपुरमा ७० को हाराहारीमा जङ्गली हात्ती आउने र केही महिना बसेर जाने गरेको डा. रामको भनाइ छ ।

यसबाहेक नेपालमा घरपालुवा एक सय ७० (सरकारी एक सय १० र निजी ६०) को संख्यामा हात्ती छन् । हात्तीको गर्भावस्था २२ देखि २४ महिनाको हुन्छ । घरपालुवा हात्ती कोसी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका छन् । चितनवमा हात्तीको प्रजनन केन्द्र सफल रूपमा सञ्चालित छ ।
द्वन्द्वका कारण हुने मानवीय क्षतिलाई सम्बोधन गर्न सरकारले राहत प्रदान गर्ने व्यवस्था गरेको छ । मानव मृत्यु भएमा पीडित परिवारलाई १० लाखसम्म राहत प्रदान गरिन्छ । गम्भीर घाइते भएमा दुई लाख, सामान्य घाइते भएमा २० हजार र अङ्गभङ्ग भएमा पाँच लाख सम्मको राहत उपलब्ध गराइन्छ ।

त्यस्तै, घरगोठ क्षतिका लागि २० हजार र अन्नबाली क्षतिका लागि १० हजार राहत दिने कानुनी प्रावधान छ । हात्ती जमिनमा पाइने सबैभन्दा ठूलो जनावर हो । हात्तीलाई हिन्दू धर्ममा भगवान गणेशको प्रतीकका रूपमा पूजा गर्ने गरिन्छ । विश्वका ५० देशमा हात्ती पाइए पनि दुर्लभ र लोपोन्मुख भएकाले नेपालको कानुनअनुसार हात्ती संरक्षित जनावरमा रहेको छ । सरकारले घरपालुवा हात्ती प्रयोग गरेर जङ्गली हात्ती र अन्य वन्यजन्तुको संरक्षण गर्दै आएको छ भने पर्यटन प्रवद्र्धनमा पनि हात्तीको ठूलो योगदान रहेको छ ।