मकै जोनका कारण कृषक मैकै खेतीतिर लम्किए

झापा । मकै सुपरजोन लागू भएपछि झापा गाउँपालिकाका अधिकाम्स कृषक मकै खेतीमा लागेको पाइएको छ ।

झापामा मकै जोन लागू भएपछि सरकारले किसानलाई खेतीका लागि बीऊ, मल, उपकरण, सिचाईं र भण्डारणका लागि अनुदान सहयोग पु¥याउँदा व्यवसायिक रूपमा कृषक मकै खेतीमा लागेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई झापाका प्रमुख रवीन्द्र सुवेदीका अनुसार झापा गाउँपालिकाको सात वटा र कनकाई नगरपालिकाको दुई वटा वडामा लागू भएको मकै जोन कार्यक्रममा तीन हजार ७३२ महिलासहित छ हजार ४७१ जना कृषक सूचीकृत भएका छन् ।

आदिवासी, जनजाति र मुस्लिम समुदायको बाहुल्य रहेको यस क्षेत्रमा परियोजनाले चक्लाबन्दीमा ठूलो क्षेत्रफलमा मकै खेती गर्ने व्यावसायिक किसानलाई खेतीको क्षेत्रफलका आधारमा सोझै अनुदान दिँदै आएको सुवेदीले बताए।
उनले गत वर्ष चक्लाबन्दी खेतीका लागि दुईवटा समूहलाई रु १० लाखका दरले अनुदान प्रदान गरेको बताए । सो समूहलाई नै यस वर्ष पनि रु दुई लाखका दरले अनुदान परियोजनाले थप गरिदिएको बताए ।

उनले चालु आर्थिक वर्षमा मकै जोनका लागि विनियोजन गरेको रु ३९ लाख ९२ हजार बजेटबाट नै किसानलाई मल, बीऊ, तालिम, कृषि औजारमा अनुदान प्रदान गरेको बताए। उनले किसानले उत्पादन गरेको मकै बजारीकरणमा भने समस्या रहेको बताए। ‘स्थानीय दाना उद्योगसँग जोन क्षेत्रका किसानलाई जोड्न पहल गरिरहेका छौं’, उनले भने, ‘ ‘यसो गर्न सके बजारीकरणमा समस्या हुने थिएन।’
उनले पछिल्लो समय जलवायु परिवर्तनको असर मकैमा पनि देखिएको बताए । सिचाईंको व्यवस्था प्रशस्तै भए तापनि प्राकृतिक वर्षा पर्याप्त नहुँदा यसपालि उत्पादन घट्छ कि भन्ने आशङ्का व्यक्त गरे ।

थोरै उत्पादन हुने भएकाले यहाँका किसानले रैथाने जातको मकै खेती गर्न छाडेर धेरै फल्ने र रोगकीरा कम लाग्ने हाइब्रिड जातका मकै खेती गरिरहेको झापा गाउँपालिका वडा नं. ३ को टाघनडुब्बा सामुदायिक साना किसान सहकारी संस्थाकी सदस्य युद्धमाया खड्काले बताए ।
मकै जोन कार्यक्रममा सूचीकृत उक्त सहकारीकाआठसय ५१ जना किसान व्यावसायिक मकैखेतीमा लागेका छन् । उनी भन्छन्, ‘यहाँका किसानको आम्दानीको मुख्य स्रोत नै मकै हो।’

किसानहरुले जोनमार्फत साझेदारी अनुदानमा कृषि उपकरण पाउने गरेका छन् । सिचाईं सुविधाका लागि सहुलियत पाइरहेका छन् । तर, उनीहरुले चाहिएको बेला सरकारले पर्याप्त रासायनिक मल उपलब्ध गराउन भने नसकेको गुनासो गरेका छन् ।
घटना र विचारबाट