झापामा विद्यार्थी युनियनको चुनावी चहलपहल बढ्यो

 

भद्रपुर । झापाका विद्यार्थीहरुलाई स्वतन्त्र विद्यार्थी युनियनको चुनावी चहलपहलले राजनीति रन्को लाग्दा निर्वाचनमय वातावरण बन्न पुगेको छ ।

आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनका लागि जीत आफ्नो पक्कडमा पार्न झापाका विद्यार्थीहरु चुनावी मैदानमा होमिएका हुन् ।

निर्वाचनका लागि विद्यार्थीहरुले आ–आफ्ना संगठन दर्ता गराइसकेका छन् । दर्ता शुरु भएदेखि नै विद्यार्थी संगठनबीच विवाद पनि हसन थालेको छ । झापामा यसअघि पनि विद्यार्थीका निर्वाचन विवादरहित बन्न सकेको छैन । यद्यपि यस वर्ष शान्तिपूर्ण हुने अपेक्षा गरिएको छ । मेची बहुमुखी क्याम्पस , दमक बहुमुखी क्याम्पस , गौरादह कृषि क्याम्पस , सीतारमेश बहुमुखी क्याम्पस , कन्काई आदर्श क्याम्पस, ,काँकडभिट्टा बहुमुखी क्याम्पस ,शनिश्चरे बहुमुखी क्याम्पस, त्रिदेव क्याम्पसमा संगठन दर्ता गर्ने कार्य सम्पन्न भएको छ ।

सबैको ध्यान मेची क्याम्पसमा

सबैभन्दा ठूलो मेची बहुमुखी क्याम्पसमा ११ वटा संगठनले दर्ता गराएका छन् । एरिका थापा प्रमुख रहेको अखिल क्रान्तिकारी , स्वस्तिका लामाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन , अम्बिर अधिकारीको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन , गौरव लुईटेलको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ,हेमराज गौतमको स्वतन्त्र विद्यार्थी कल्याण परिषद , चन्दनकुमार महत्तोको नेपाल विद्यार्थी संघ (स्वतन्त्र), कुशल महतको नेपाल विद्यार्थी संघ , दिक्षा कडरियाको अखिल नेपाल विद्यार्थी यूनियन ( समाजवादी) , किशोर ढुंगानाको नेपाल विद्यार्थी संघ , रोजन चापागाँईको स्वतन्त्र विद्यार्थी जनहित संघ र निशान दर्नालको मेची विद्यार्थी यूनियनले दर्ता गराएको मेची बहुमुखी क्याम्पस स्ववियू निर्वाचन समितिका निर्वाचन अधिकृत डमरप्रसाद रेग्मीले जानकारी दिए ।
निर्वाचन आयोगको कार्यालय स्थापना गरेर निर्वाचन कार्यक्रम शुरु गरिएको मेची बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख देवी आचार्यले जानकारी दिए । झापामा सबैभन्दा बढी मेची क्याम्पसमा ३४५० जना विद्यार्थी रहेका छन् ।

काँकरभिट्टा क्याम्पसमा पाँच संगठनबीच प्रतिस्पर्धा हुने

स्ववियू निर्वाचनमा मेचीनगर—६ मा रहेको काँकरभिट्टा बहुमुखी क्याम्पसमा पाँच वटा संगठनबीच प्रतिस्पर्धा हुने भएको छ ।
काँकरभिट्टा बहुमुखी क्याम्पसका निर्वाचन समितिका सदस्य दुर्गाबहादुर लुईटेलका अनुसार नेपाल कम्युनिष्ट पार्टी एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन, नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघ, राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (क्रान्तिकारी) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन एस दर्ता भएका हुन् । लुइटेलले निर्वाचनका लागि क्याम्पसमा ती संगठनको मनोनयन दर्ता गरिएको बताए ।

निर्वाचनमा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन दुईपटक भोगेको पराजयको बदला लिने दाउमा छ भने काँग्रेसनिकट नेपाल विद्यार्थी संघलाई पुरानो विरासत जोगाउनु पर्ने चुनौती छ ।
२०७३ साल फागुन १८ मा पहिलो पटक भएको स्ववियू निर्वाचनमा नेविसंघका सुरज सुवेदीको प्यानलले निर्वाचन जितेको थियो भने २०७९ साल चैत १० गते दोस्रो पटक सम्पन्न निर्वाचनमा नेविसंघका विशाल तामाङ सभापतिमा विजयी भए ।

दमकमा पनि ११ वटा संगठनले गराए दर्ता

दमक नगरपालिका वडा न.९ मा रहेको दमक बहुमुखी क्याम्पसमा पनि ११ वटा संगठनले दर्ता गराएका छन् । लक्ष्मी नेपालको अखिल क्रान्तिकारी, भजन चेम्जोङको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, उत्सव कार्कीको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन,शेखर मगरको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन,पेमा डोल्मा तामाङको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी),आकाश प्रयात चौधरीको अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी), सुनिल राईको नेपाल विद्यार्थी संघ, रविन ढकालको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, शरण सम्बाहाम्फेको समाजवादी विद्यार्थी यूनियन, विकल लिङखिमको संघीय विद्यार्थी यूनियन र उत्कृष्ट मिश्रको हामी स्वतन्त्र छौ,समूह दर्ता भएको हो ।

गौरादह कृषि क्याम्पसमा तीन संगठन भिड्ने

मेची बहुमुखी क्याम्पसपछि जिल्लाको अर्को आंगिक क्याम्पस गौरादह नगरपालिका वडा न.२ मा रहेको गौरादह कृषि क्याम्पसमा तीन संगठन भिड्ने भएका छन् । जीवन न्यौपानेको नेपाल विद्यार्थी संघ , सुनिल चिलुवालको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) र राज चौहानको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले दर्ता गराएका हुन् ।

सीतारमेशमा पाँच संगठन दर्ता

झापाको बुद्धशान्तिस्थित सीतारमेश बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनअन्तर्गत पाँचवटा संगठनले दर्ता गराएका छन् । अनेरास्ववियू,नेविसंघ, अनेरास्ववियू (क्रान्तिकारी),राप्रविसंघ र अनेरास्ववियू समाजवादीले दर्ता गराएका हुन् ।

शनिश्चरे क्याम्पसमा मुख्य तीन संगठन चुनावी मैदानमा

शनिश्चरे बहुमुखी क्याम्पसमा मुख्य तीन संगठनबीच प्रतिष्पर्धा हुने भएको छ । शिशिर पोखरेलको अनेरास्ववियू, शिव गौतमको अनेरास्ववियू (क्रान्तिकारी) र निमेश भण्डारीको नेपाल विद्यार्थी संघले दर्ता गराएका हुन् ।

त्रिदेव क्याम्पसमा पाँच संगठनले चुनाव लड्ने

त्रिदेव क्याम्पसमा पाँचवटा संगठनले चुनावी प्रतिष्पर्धाका लागि दर्ता गराएका छन् । कैलाश रेग्मीको अनेरास्ववियू, मनिराम विश्वकर्माको नेपाल विद्यार्थी संघ, प्रज्ज्वल भट्टराईको राप्रविसंघ, अनमोल पाण्डेको स्वतन्त्र विद्यार्थी समूह र चेतन कठेतको अनेरास्ववियू (क्रान्तिकारी)ले दर्ता गराएका हुन् ।

कन्काई क्याम्पसमा पाँच संगठनले उम्मेदवारी दिने

बिर्तामोडको कन्काई आदर्श क्याम्पसमा पाँचजनाले उम्मदवारी दिने भएका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू,राप्रविसंघ र अखिल नेपाल विद्यार्थी यूनियन(समाजवादी)ले उम्मेदवारीका लागि संगठन दर्ता गराएका हुन् ।
झापाका १२ वटा क्याम्पसहरुमा स्ववियू निर्वाचन हुन लागेको हो । गरामनी क्याम्पसमा विद्यार्थी संख्या कम रहेकाले त्यहाँ स्ववियू निर्वाचन नहुने बताइएको छ ।

दुई वर्षअघि झापाका १३ वटा क्याम्पसमध्ये १० वटामा शान्तिपूर्ण रुपमा स्ववियू निर्वाचन भएको थियो भने काँकडभिट्टा क्याम्पस , सीतारमेश क्याम्पस र गरामनी क्याम्पसमा विवाद भएको थियो ।