राजनीतिलेख

 ‘नेतातान्त्रिक गणतन्त्र’-काे दलनले निरीह   ‘देश’-का अवयवहरू !  

  नकुल काजी
 माैलिक ऐतिहासिक अस्तित्वकाे जिजीविषा नै धर्खराइरहेकाे  चिन्ताले देश गल्दै गएकाे छ । शासकीय भनाइ र गराइका नित्य वैभिन्न्यहरूले नागरिक जीवनलाई अभिभावकीय संवेदनाकाे अभावमा संकटकाे चरम बिन्दुलक्षित गन्तव्यतिर गलहत्याइरहेकाे छ । राजधानीका सामाजिक अगुवाहरूका संगठित भाष्य जस्तै ‘नेतातन्त्’ र  ‘भ्रष्टाचारतन्त्र’-काे बढ्दाे प्रकाेपअब धानिनसक्नु अक्करिलाे बन्दै गएकाे छ ।

सर्वसाधारणले देशकाे याे आक्रान्त अवस्थालाई शब्दमा उतार्न जान्दैनन् तर अनुभूतिकाे भापमा पिल्सिन परिरहेकाे पीडा, आ-आफ्ना हैसियत बमाेजिम, एक-आपसमा धमाधम  व्यक्त गर्न थालेका छन् । देशकाे शासक-शिविर बिचाैलिया,माफिया, कालाधन्धे आदि अवांक्षित तत्वहरू पराेक्ष अतिक्रमणबाहक विदेशीहरूकाे संगतमा छ र साेही बमाेजिम शासन-संयन्त्र पनि सामन्तयुगीन ढाँचा र ढर्रामा मगनमस्त रंगाेलीमा रमाइरहेकाे छ । नागरिक कित्ताका अत्यधिक बहुसंख्क नेपालीमा प्रकीर्ण अव्यक्त राेदन-क्रन्दनहरूकाे कतै सुनुवाइ छैन । ‘हिमालचुली’ र ‘कुखुराकाे सुली’-लाई अनुप्रासमा मिलाएर एउटै दर्जामा दर्ज गरिने जस्ता भनाइ र गराइ गिजाेल्ने र आफ्नाे अभीष्ट हासिल गर्ने ध्याउन्नमा सीमित छन्   ‘राज्य’-संरचनाका तल्ला-उपल्ला सकल पक्षकाहरू, अहाेरात्र । देशका निरीह, विपन्न र स्वभावैले निर्बलिया नागरिककाे दुरावस्थालाई धिताे राखेर दाताहरूबाट हातलागी गरिएका भिक्षामाथि पनि शासक-समाजकाे मिलीभगते लुट चल्दै आएकाे रहेछ भन्ने एकपछि अर्काे सुन्नुपर्ने दुर्दिनका  प्रकरण पनि आरम्भ भएकाे छ ।

अपारदर्शिता जस्ताे ‘लाेकतन्त्र’-काे प्रमुख विपक्षी चरित्रले ‘राजनीति’-काे परम्परागत श्लील परिभाषालाई नै सरेआम ‘लाजनीति’-काे दुर्दमनीय दुर्दशामा घँचेटिरहेकाे आभास नै अन्ततः देशमा सुलभ दृश्य-परिदृश्यकृत नियति  बनिरहेका छन् । कल्पनासाध्य-वर्णनासाध्य घटना-परिघटनाहरूले याे देशलाई, याे अभिशप्त वर्तमानमा, थिल्थिल्याइरहेकाे छ ।

शासनका ठूला-साना सबै कित्ता-कान्लामा सत्ताशक्तिकाे थिचाेमिचाे बढेकाबढ्यै छन् । आन्तरिक र वैदेशिक ऋणभार हरेक (एक) नेपालीकाे थाप्लाेमाथि ९० हजार रुपैयाँ पुगेकाे छ । आशलाग्दा र याेग्य नागरिक देशका प्रति वितृष्ण बनेर उचित र वांछित जीवन निर्वहन हेतु विदेशिएका छन् – जसमध्ये कति लास बनेर  बन्द बाकसमा फर्किरहेछन् । हालकाे सरकार बनेयताकै सात महिनामा मात्र चार लाख बयासी हजार नेपालीले वैदेशिक श्रम-स्वीकृति लिएका छन्  । यही सात महिना ‘स्वदेशमै राजगारी जुटाइदिन सरकार तदारुक बनेका सयाै – संभवत हजाराैं भत्तादार भाषण सत्ताका मुखिया-डफ्फेदार र आशे-पासे-कराँसेहरूबाट प्रक्षेपित भएकाे सबैले सुनेकै हुनपर्छ । देशमा रहेका युवाहरू ‘नागरिक’-काे गन्तीभन्दा भिन्न-भिन्न दलका हुकुमी  नेताका भजनमण्डलीमा  विभक्त गराई एक-अर्कासँग पाैंठेजाेरी खेल्ने खेलमा लगाइएका छन् ।

विद्यालयदेखि विश्वविद्यालयसम्म दलीय ‘स्वार्थकाे राजनीति’-का तालीमकेन्द्र बनाइएका छन् । कृषि प्रधान देशले खाद्यान्न र तिहुन्-तरकारीमै परनिर्भरता बढाउँदै जान बाध्य हुन परिरहेकाे छ ।  नेपाली किसानले देशकाे माटाेमा उब्जाएका माैसमी सागसब्जीले  बजार नपाएर सालिन्ने बिल्लीबाठ हुँदै आएकाे छ र बिचाैलियाहरू चाहिँ इण्डियन घुसपैठियाहरूले इण्डियाबाट छिराएका विषमय सागसब्जीलाई, मनलाग्दी मूल्य निर्धारण गरेर, बजार भर्न स्वतन्त्र हुने गरेका छन् । उखु उत्पादक किसान र दूग्ध किसानहरू सरकार मातहतका ओैद्याेगिक संस्थानहरूकै कर्कश दलनमा निःसहाय फँस्न थालेका छन् । ‘अनुगमन’ भनेकाे भत्ता र कमिशन डकार्ने प्रयाेजनका लागि मात्र हुने गरेकाे छ । एकातिर अनेकका नवाबी भ्यू-टाओर र ऐय्यासी सभाभवन निर्माणमा अर्बाैं खर्च फुकिँदैछ भने अर्कातिर वनजन्तुकाे प्रकाेप धान्न नसकेर जीवन निर्वाहका लागि आछाम आदि जिल्लावासीहरू अधिक अधिकांश घरमा ताला झुण्डाएर राेजगारीकाे खाेजीमा इण्डिया लगायत विदेशी भूमितिर भाैतारिने निर्विकल्प विकल्पमा छन् ।

त्यसैगरी, ‘नियमनकारी’ भनिने सरकारी कमिशनखाेरहरूलाई रिझाएर काभ्रेकाे पनाैती, बेथानचाेक र नमाेबुद्ध जस्ता बाढी-पहिराेले चरम प्रभावित क्षेत्रमा पुनः मापदण्डविपरीत खानी चल्न दिइएकाले ती बस्तीहरू जाेखिममा राताेदिन छटपटाइरहेका छन् । तर, सरकारी कारवाहीका लागि भन्दै, त्यहाँ पनि, अनुगमनका पटके नाटक मञ्चनलाई दुहुनाे गाई बनाउने दुष्कर्म दाेहारिई-तेहेरिइरहेकाे छ । भूकम्पले जर्जर जाजरकाेट र पश्चिम रुकुमका नुनिला आँसु पुछ्ने ‘आश्वासन’ प्रकारान्तरले  वीरबलले बाँसे लिङ्गाेकाे टुप्पाेमा हाँडी झुण्ड्याएर खिचडी पकाएकाे दन्त्यकथा पुनरावृत्त भइरहेकाे जस्ताे अवस्थामा छ । तानाशाही दलनले ठेगान लगाउन सकिन्छ र आफ्नाे उदर्रम्भी अपेक्षा यसरी नै पूरा गर्न सकिन्छ भन्ने सत्तारुढ अहंकारी नायकहरू आफ्ना तालिमप्राप्त तालीवाजहरू भेला गर्दै दैनन्दिन वकवेदान्ते भाषण डुक्रिँदै हिड्नुलाई नै लाेकतान्त्रिक उत्तरदायित्व ठानेर राज्यनिसृत भत्ता-सुविधाले निर्बाध धन्य भइरहेका छन् । उनीहरू ‘देशले समृद्धिकाे बाटाे अख्तियार गरिसकेकाे, सुशासनकाे साेपान उक्लिसकेकाे’ इत्यादि ढ्वाँस पिटिरहेका छन् ।

यस्ता अनगिन्ती घटना र सन्दर्भहरूले हाल नेपालमा कुन किसिमकाे शासन व्यवस्था वहाल छ भन्ने स्वयम् नै पहेली कक्षाका प्रश्न बनिरहेका छन् । आफै लिँडे तर्क साधेर निहुँ खाेज्ने अनि राज्यशक्ति सरेआम उपयाेग (दुरुपयाेग ?) गरी विजयी घाेषित हुने मिचाहा  चारित्रिक स्वभावमा पन्पिएकाे देखाउने सरकारी दम्भी कारवाहीकाे अर्काे ताजा नमूना ताप्लेजुङकाे पाथीभरा केबल कार (मुक्कुलुङ केबल कार) प्रकरणमा प्रदर्शन नै भइरहेकाे छ । यसै निहुँमा त्यहाँ कदाचित ऐतिहासिक परम्पराका प्रति आत्मनिवेदित  जातीय आस्थाद्वारा अभिप्रेरित  दङ्गा माैलायाे भने त्यसलाई कुनै दल विशेषकाे उकासमा त्यसाे भयाे भन्नलाई त पूर्व तैयारी नै हाेला पनि ….वकवासमा त कसैले पाे जित्न सकिरहेकाे कहाँ छ र अहिले  ! तर, जातीय परम्पराकाे रक्षार्थ उभिने विद्राेह त्यति कमजाेर अवश्य हुँदैन, जति  राजतन्त्र अवराेपण गर्न सजिलाे भएकाे  थियाे – जसमा विदेशी स्वार्थ समूह एकपछि अर्काे ‘पृष्ठशक्ति बनेर’  हाजिर थियाे। ‘भदाैमा आँखा फुटेका डिँगाले सँधै हरियाे देख्छन्’ भन्ने उखानलाई सही ठानी  यस सन्दर्भसँगआँखा चिम्लेर  अन्धाधुन्ध जाेड्दै अघि बढ्ने  मूर्खता भयाे भने, त्याे अवश्यै ‘आफ्नै घुँडामा बञ्चराे’ उखानमा अनुदित नहुन सक्तैन ।

अहिले पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले एउटा सरल बाेधगम्य भिडिओ-सन्देश प्रसार गर्दा राज्यकाे श्राेत-साधन दाेहनमा पल्केकादेखि अन्तर्राष्ट्रिय सहयाेग समेत  हाम गरेर ढाडिँने कुकर्मका  दुर्वयसनीहरूमा भीषण तहल्का मच्चिएकाे देखिँदाे छ । याे उनीहरूका कमी-कमजाेरी र स्वार्थबाट निस्पादित हीनताबाेधबाट  उत्सर्जित अवस्थाकाे नाङ्गाे दृश्यबाहेक केही हाेइन । देशमा फेरि राजतन्त्रकाे पुनर्स्थापना हुन्छ-हुँदैन भन्ने निश्चित नहुँदै यतिविधि छटपटाहट किन त ? एक-दुई भगाैडा खतुकी गिरफ्तार हुनासाथ आफू र आफ्ना अनुहार त्यस्तै दुर्गतिले चाउरिने संभावना देखेर रातारात कालकाँधे व्यापारीकाे घरमा खुसुक्क गठबन्धन गरेर सरकार बदल्ने जाली-लाछीहरू जाे आज अङ्कुशहीन शक्तिकाे अन्ध उफ्रीपाफ्रीमा छन् । अर्थात् ,अहिले पूर्व राजाकाे एउटा वक्तव्यले उनीहरूलाई पूर्वदीप्तितिर धकेल्नु र उनीहरूले आ-आफ्ना टाउका सत्ताशक्तिकाे ‘हेलमेट’-ले ढाकेर देश र देशवासी ढाँट्न र  अल्मल्याउन चलाउँदै आएका गाेरखधन्दाकाे अन्तर-आत्मानुभूतिले तर्छाउनु स्वाभाविक किन हाेइन र ?

ती क्या त, सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका गाेकुल बाँस्काेटा संसद बैठकमा कसरी निर्लाज कुर्लेका थिए  ? याे एउटा उदाहरण हाे र यस्ता नर्कट उदाहरण यस माैसममा भनेर वा गनेर नसकिने कति  पलाउने हुन् कति भन्ने त निश्चित नै छ ।  राजतन्त्रकाे देशमा पुनरागमनकाे दच्काेले हाेइन, राज्यशक्तिकाे उन्मादले लठ्ठिएकाे समय-सालमा आफूहरूले गरेका उपद्रवकाे नालीबेली खुल्ने भयले हतासिएका हुन् उनीहरू ! यस्ताे अवस्थामा पुगेकाहरू हतास हुनु त मनाेवैज्ञानिक स्वाभाविकता नै पनि किन हाेइन र !?!….

  अर्थात्, गणतन्त्राेत्तर अटुट रूपमा भइरहेका  यस्तैयस्ता अनेक बिडम्बनापूर्ण  घटनाहरूले देश र  देशवासीलाई  निर्ममतापूर्वक कुल्चिरहेका छन्, जसकाे फेहरिस्त उतार्न सरल सम्भव छैन तापनि अहिले नागरिक समाज तातेकाे कराही बन्ने क्रममा छन्, जसमा काे वा काे-काे ‘झ्वाइँ’  हुने हुन् – याे चाहिँ घनघाेर प्रतीक्षाकाे पनि प्राथमिकतामा छ ।… बस्, आजलाई यत्ति नै । शेष फेरि-