स्वास्थ्य प्राविधिक पढ्न पश्चिमदेखिका विद्यार्थी भद्रपुरमा

भद्रपुर । पहिलो पटक प्राविधिक शिक्षा तर्फ अगाडि बढेको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा सुदुर पूर्वदेखि पश्चिमसम्मका विद्यार्थीले स्वास्थ्य सेवाको प्राविधिक विषय पढ्न थालेका छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको सम्बन्धनमा यस वर्षबाट सुरू भएको नर्सिङ कलेजमा स्टाफ नर्स र फार्मेसी पढ्न पूर्वको ताप्लेजुङदेखि पश्चिमको रोल्पा र दाङसम्मका विद्यार्थी प्राविधिक शिक्षाका लागि आएका हुन् ।
ओमसाई पाथिभरा हस्पिटलले नर्सिङ कलेज सञ्चालन गरेपछि स्टाफ नर्स र डिप्लोमा इन फार्मेसी पढ्न सुदुर पश्चिमबाट विद्यार्थी आएका हुन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभिटी) ले यही आर्थिक वर्षबाट कक्षा सञ्चालनका लागि अनुमति दिएसँगै अस्पतालले उक्त विषयमा कक्षा सञ्चालन गर्न थालेको अस्पलातका प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साईराम) ले जानकारी दिए ।
चिकित्सक शिक्षा आयोगले विद्यार्थी कोटा निर्धारण गरिदिएसँगै यही शैक्षिक बर्ष २०८१÷८२ बाट स्टाफ नर्स, एचए र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालन गर्ने बाटो खुलेको उनले बताए ।

प्रत्येक कार्यक्रममा ४०÷४० जना विद्यार्थीको कोटा आयोगले तोकिदिएको छ । सीटीइभिटीले उक्त कलेजलाई भर्नाका लागि आवेदन दिन सकिने बताएपछि कक्षा सञ्चालन भएको थियो ।

ओमसाइ पाथिभरा हस्पिटल नर्सिङ कलेजकी प्रिन्सिपल ज्योति भट्टराईले हाल कलेजमा स्टाफ नर्समा ४० जना र डिप्लोमा इन फार्मेसीमा ३७ जना विद्यार्थीहरुले अध्ययान गरिरहेको बताइन् ।

तीन वर्षे कोर्षमा एक वर्षमा ५२ हप्ता पढाई हुन्छ’, भट्टराईले भनिन्–‘सैदान्तिक र प्रयोगात्मक दुवै पढाई हुन्छ । २४ हप्ता प्रयोगात्मक नै पढाई हुने गरेको छ ।’ अस्पतालमा प्रयोगात्मकका रूपमा विरामीको डेमो राखेर विद्यार्थीले पढिरहेका छन् ।
एसईई दिएपछि ती विषय पढ्न पाइने सीटीइभिटीको मापदण्ड रहेको उनको भनाई छ । हाल कलेजमा पश्चिमका विभिन्न जिल्ला, पूर्वको झापा लगायत जिल्लाबाट आएका विद्यार्थीले अध्ययान गरिरहेको उनले बताइन् । रोल्पा र दाङका विद्यार्थीहरू पनि कलेजमा पढिरहेको उनको भनाई छ ।

एचएको कक्षा भने आगामी वर्षबाट सुरू हुने अस्पलातका प्रशासन प्रमुख मनोज दाहालले जानकारी दिए । उनका अनुसार तीनवर्षे स्टाफ नर्स कोर्षका लागि चार लाख ७५ हजार र डिप्लोमा इन फार्मेसीमाका लागि तीन लाख ९० हजार रुपैयाँ सीटीइभिटीकले तोकेको छ । सोही अनुसार शुल्क तिरेर विद्याथीले पढिरहेका छन् भने सरकारले तोकेको छात्रवृत्ति कोटामा निशुल्क पढ्ने विद्यार्थी पनि रहेका छन् ।