जिम्मेवार पत्रकारिताका लागि रासस अग्रणी भएको चर्चा
भद्रपुर । जिम्मेवार पत्रकारिताको सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) पहिलो श्रेणीमा रहेको कार्यक्रमका सहभागीले बताएका छन् ।
राससको ६४ औं वार्षिकोत्सवको अवसरमा आज झापाको भद्रपुरमा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयमा झापाका पत्रकारबीचको अन्तरक्रिया कार्यक्रमका सहभागीले जिम्मेवार पत्रकारिताको सवालमा रासस पहिलो नम्बर रहेको बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपाल सदस्य गणेश पोखरेलले नेपाली मिडियाका लागि रासस अनिवार्य र अपरिहार्य रहेको बताए । उनले नेपालका साना–ठूला सबै मिडियाले ५० प्रतिशत भन्दा बढी समाचार राससकै प्रयोग गर्ने गरेको बताए ।
राससका समाचार सामग्री प्रयोग गर्ने मिडियाले स्रोत खुलाउनु पर्नेमा उनले जोड समेत दिए । राससले आमनागरिकको अपेक्षा अनुसार आफ्ना समाचारलाई केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले रासस एक मात्र प्रभावकारी सञ्चारमाध्यम भएकाले यसले उत्पादन गर्ने समाचारमा विविधता रहेको बताए ।
सामाजिक सञ्जालमा आउने भ्रामक समाचारहरुलाई राससले चिर्नुपर्नेमा जोड दिँदै उनले आधिकारिक वेभसाइटलाई अझ परिमार्जित गर्नुपर्ने, अनुसन्धानमूलक समाचारमा जोड दिनुपर्ने र साना मिडियाहरुलाई सहुलित दरमा सेवा दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्ष एवम् अग्रज पत्रकार गोविन्दचन्द छेत्रीले झापामा २०२५ सालदेखि राससले सेवा प्रवाह गर्दै आएको स्मरण गर्दै राससको समाचार विश्वसनीय भएको बताए । “म धेरैतिर धेरै किसिमको समाचार हेर्छु, साँचो हो कि झुटो हो, थाहा हुँदैन”, उनले भने, “तर, रासस त्यस्तो भ्रमलाई चिर्ने गरेको छ ।”
महासंघका पूर्वअध्यक्ष मोहन काजीले राससका समाचार अझ जनमुखी हुनुपर्नेमा जोड दिए । मिडिया क्षेत्र संकटमा रहकाले राससले सहुलियत दरमा सदस्यता दिनुपर्ने धारणा राखे ।
त्यस्तै, महासंघका पूर्वअध्यक्ष तारामणि सापकोटाले पछिल्लो समय राससको बुलेटिनमा धेरै सुधार आएको बताए । “राजनीतिक रुपमा पनि अहिले सन्तुलित समाचार आउँछ, पहिला बायस हुन्थ्यो”, उनले भने, “रासस अझ परिस्कृत हुँदै जाओस् शुभकामना छ ।”
प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियारले कोरोना महामारीपछि मिडिया बन्द हुने क्रम बढेकाले साना मिडियालाई राससले थप सहुलित दिनुपर्नेमा जोड दिए । प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतमले सबैले राससको समाचार प्रयोग गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै न्यूनतम् शुल्कमा सेवा दिन आग्रह गरिन् ।
फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीले पछिल्लो समय राससको सेवा प्रवाह छिटोछरितो भएको बताए । सरकारी निकायमा भएका बेथितिका समाचारलाई समेत राससले प्राथमिकतामा राखेर प्रकाशन गर्नुपर्ने जनाउँदै उनले ‘थर्ड एंगल’बाट समेत समाचार आउनुपर्ने बताए ।
अन्तरक्रियामा भद्रपुर प्रेस क्लबका अध्यक्ष राजबाबु शंकरले नेपाली सञ्चार जगतमा राससको महत्व विशेष रहेको बताए । सामाजिक सञ्जालको भद्रगोलको भूमरीमा परेका पाठकलाई राससले त्यो भ्रमबाट निकाल्न मद्दत मिलेको उल्लेख गरे । उनले राससलाई अझ परिस्कृत बनाउनुपर्ने प्रष्ट पारेका थिए ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार लेखनाथ परदेशी, देवेन्द्र किशोर ढुंगाना, रेवती राज घिमिरे, अर्जुन कार्की, द्रोण अधिकारी, रमा दाहाल, खगेन्द्र भण्डारी, राजकुमार ओली लगायतले वार्षिकोत्सवको शुभकामा दिँदै सुझाव समेत राखेका थिए ।
रासस भद्रपुर कार्यालय प्रमुख दीपक चन्दको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन राससकर्मी अम्बिका भण्डारीले गरेकी थिइन् ।