सोनाम ल्होछारको अवसरमा भद्रपुरमा विविध कार्यक्रम सम्पन्न

भद्रपुर । २८६१ औं मञ्जुश्री संवत तथा सोनाम ल्होछारको अवसर पारेर नेपाल तामाङ घेदुङ नगर कार्य समिति भद्रपुरले विविध कार्यक्रम सम्पन्न गरेको छ ।

घेदुङले भद्रपुर ३ स्थित गोले चौकको खुल्ला मैदानमा अग्रज व्यक्तित्व सम्मान, तामाङ साँस्कृतिक नुत्य प्रस्तुत तथा ल्होछारको शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।

घेदुङका नगर अध्यक्ष बसन्तकुमार तामाङको अध्यक्षता तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री राजवंशीले जातीय पहिचान स्थापित गर्न भाषा, धर्म र संस्कृति बचाउनु पर्ने धारणा राख्दै मौलिकताबिना जानीयता नरहने प्रष्ट पारेका थिए ।

राज्यमन्त्री राजवंशीले राजनीतिक चेतना नभई जातीय उत्थान नहुने भन्दै उन्नत वर्गले उपयोग गर्ने आरक्षण अवको आवश्यकता नरहने भन्दै आरक्षण विपन्न तथा सिमान्तकृतका लागि आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, घेदुङका कोशी प्रदेश अध्यक्ष रेखबहादुर तामाङ, झापा अध्यक्ष जगतबहादुर लोप्चन, नेपभल आदिवासी जनजाति महासंघ भद्रपुर अध्यक्ष शमशेर मोक्तान लगायतले मन्तव्य राख्दै नेपालको मौलिक पहिचान बोकेको तामाङ जाति राजनीतिमा पछाडि परेकै कारण पहिचान पाउन नसकेको भन्दै राजनीतिक जागर तथा जातीय उत्थान अवको आवश्यकता रहेको धारणा राखेका थिए ।

घेदुङका नगर सचिव राकेश तामाङले सञ्चालन गरेको कार्यक्रममा तामाङ समुदायको उत्थानमा योगदान दिने विभिन्न अग्रज व्यक्तित्वलाई सम्मान गरिएको थियो भने विविध तामाङ संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरिएको थियो ।