जलथल वनमा सयौ प्रजातिका रुख, चरा र पुतलीको अस्तित्व भेटियो

भद्रपुर । चारकोशे झाडीको दक्षिणी अवशेषका रूपमा रहेको जलथल वनमा १५५ प्रजातिका रूखहरू, १७० किसिमका चरा, १५० किसिमका पुतलीहरूको अस्तित्व रहेको वैज्ञानिक अनुसन्धानले खुलाएको छ ।

जैविक विविधताले भरिपूर्ण झापाको पूर्वी दक्षिणी क्षेत्रमा रहेको जलथल वनमा १५५ प्रजातिका रूखहरू १७० किसिमका चरा, १५० किसिमका पुतलीहरू रहेको फरेस्ट एक्सन नेपालको अध्ययनले देखाएको हो ।

झण्डै एक दशकयता फरेस्ट एक्सन नेपालको नेतृत्वमा भएको अध्ययनबाट जलथल वनमा भएका रैथाने प्राकृतिक रूखहरूको प्रजातिको संख्या एकिन गरिएको छ । अध्ययनको नतिजा भारतबाट प्रकाशित हुने ‘प्लियोने’ नामक विधागत जर्नलको पछिल्लो अंकमा प्रकाशित भएको थियो । डा. लिलानाथ शर्मा, डा. भाष्कर अधिकारी र योगेन्द्रबिक्रम पौडेलको सहलेखनमा प्रकाशित रिसर्च आर्टिकल अनुसार जलथल वनका रूखहरूको प्रजातिको मौलिक पहिचान सहित अभिलेख गरिएको छ ।

जैविक विविधताको कुरा गर्दा रुखहरुको प्रजाति संख्याको बिशेष चर्चा हुने गर्दछ तर आजसम्म जलथल जंगलमा रुखका कति प्रजाति छन् भन्ने यकिन तथ्यांक प्रकाशित भएको थिएन । चारकोशे जंगलको फडानी हुनबाट बचेको सानो खण्ड हो जलथल वन । झापाको हल्दिवारी, कचनकवल, बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकामा जोडिएको वन ६१०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । जलथल वनको चार वटा पालिकाका २२ वटा सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गर्दै आएका छन् ।

डा. शर्माका अनुसार जलथल वनको रूखहरूको अभिलेख लगभग पुरा भएको छ । ‘थप अध्ययनसंगै केही प्रजाति थप हुन सक्ने सानो सम्भावना नकार्न सकिंदैन’ उनले थपे ।

रूखहरूको प्रजातीय विविधताको आधारमा नेपालमा पाइने एक चौथाई जस्तो रूखहरू जलथलमा भेटिएका छन् । जलथल वनले नेपालको कुल वनक्षेत्रको जम्मा ०.१ प्रतिशत भूभाग ओगटेको छ । तर यहाँ नेपालका लगभग २५ प्रतिशत रुखहरु भेटिनुले जलथल वन नेपालको सन्दर्भमा रुखहरुको राजधानी भनेर भन्दा अत्युक्ति नहुने तर्क अध्ययनको नेतृत्व गर्ने डा. शर्माको छ । यति सानो क्षेत्रफलमा यति धेरै संख्यामा रुखहरु नेपालमा अन्यत्र अभिलेख गरिएको छैन ।

प्रकाशित रिपोर्ट जलथल वनमा चासो राख्ने जो कसैलाई पनि उपयोगी हुन सक्ने अध्ययनकर्ताहरुले बताएका छन् । यो रिपोर्ट जलथल वनको व्यवस्थापन र संरक्षणमा उपयोगी हुने लेखकहरुको बिश्वास रहेको छ । नेपालमा कुनै वन क्षेत्रका रुखहरुको यो तहको अध्ययन अन्यत्र भएको छैन । यो अध्ययन जलथल वनको जैविक विविधता संरक्षणमा एउटा कोशेढुंगा नै हो भन्ने लेखकहरुको तर्क छ ।

प्रकाशित अनुसन्धानात्मक लेखमा रुखका प्रजातिहरुको स्थानीय, क्षेत्रीय र संसारभरिकै तथ्यांकको विश्लेषणको आधारमा जलथल वनको वनस्पतिक भूगोलको सान्दर्भिकता केलाउने प्रयास गरिएको छ । उक्त लेख अनुसार वनस्पति भूगोलको आधारमा जलथल वन नेपालकै एक बिशिष्ट र महत्वपूर्ण छ भन्ने देखिन्छ ।

लेखमा रुखहरुको संरक्षण अवस्था पनि विश्लेषण गरिएको छ । जलथलका सयभन्दा बढी प्रजातिका रुखहरु दुर्लभ मान्न सकिन्छ । यद्यपि तिनको दुर्लभता फरक फरक हुन सक्छ । जलथलका एक दर्जन जति रुखहरु स्थानीय स्तरमा लोप हुने अवस्थामा पुगेको समेत चर्चा लेखमा गरिएको छ । काँडे थाकल र सादन जलथलबाट पछिल्लो समयमा लोप हुने अवस्थामा छन् ।

२२ वटा सामुदायिक वन समूहबाट वन व्यवस्थापनमा पहल भएता पनि समग्र जैविक विविधता संरक्षणमा वन समूहहरुले अझ गम्भीर भएर लाग्नु पर्ने कुरा पनि लेखमा औल्याइएको छ । समयमै गम्भीरतापूर्वक काम नगर्ने हो भने हामीले हेर्दाहेर्दै यहाँका महत्वपूर्ण सम्पदा लोप भएर जाने भन्दै लेखकहरुले चिन्तासमेत ब्यक्त गरेका छन् ।

कतिपय विश्वमै नपाइने वनस्पति र जीव समेत पाइने जलथल जंगललाई जोगाउनु पर्ने दायित्व भएकाहरू अरूले नै केही गर्लान् कि भनेर आशा राख्दै अनुदान वा आर्थिक सहयोगका लागि चिन्ता देखाएर दायित्वबाट भाग्दै गएको अवस्था छ । यस्तो अवस्थाको अन्त्य नभएसम्म जलथल जंगलसित जोडिएको जैविक विविधता संरक्षित हुने छैन ।

यस जंगलको सिमसारको विशेषतालाई उजागर गरी रामसारमा सूचीकृत गर्नसके विश्वमा पर्यापर्यटनका लागि एकीकृत विकास गर्न सकिने छ । त्यसका लागि ठूलो लगानी र प्रयास चाहिने आवश्यकता पनि बुझ्न जरूरी छ । नेपालकै होचो ठाउँमा अवस्थित यस जंगलमा संसारमै नपाइने ६ वटा रुखका प्रजाति र ३ वटा वनस्पति भेटिएको विज्ञहरूको ठहर छ । जलथल जंगल जैविक विविधताले नेपालकै धनी भएको प्रमाण पनि यही हो ।

विज्ञहरूका अनुसार यस वन क्षेत्रमा १७० किसिमका चरा , १५० किसिमका पुतलीहरू रहेका छन् । त्यस्तै कटुस , लटहर, बेत, सतिसाल जस्ता दुर्लभ वनस्पति, बदेल, हरिणजस्ता वन्यजन्तु यस वनको रैथाने प्रजातिमा पर्दछन् । केही वर्षयता सालक, बाँदर जस्ता वन्यजन्तु लोप हुँदै गएका छन् । जलथल जंगललाई हात्ती करिडोरको रूपमा विकास गर्न सकिने संभावना छ । हात्तीका लागि उपयुक्त हावापानी भएको यस वनमा झापामा आइपुग्ने पाहुना हात्ती समेत बास बस्न आउने गरेका छन् ।

जैविक विविधतामा एशियाकै धनी यस जंगललाई संरक्षण र संवद्र्धन गर्न सवै लाग्ने हो भने जैविकता सुरक्षित हुन्छ । यस जंगलमा माइकेनिया प्रजातिको मिचाहा झारले स्थानीय प्रजातिमाथि नकारात्मक प्रभाव पारिरहेको छ । पूर्वी दक्षिणी झापाको पहिचान रहेको यस जंगलले झापाका करिव १८ हजार हेक्टर वन क्षेत्रमध्ये एक तिहाई भाग ओगटेको छ ।